|

महोत्तरी : महोत्तरीको बर्दिवासबाट करिब डेढ घन्टा टाढा पर्छ लोहारपट्टी गाउँ। यहाँ धेरैजसो मुसहर समुदायको बसोबास छ। यही गाउँकी नयाँ बुहारी १९ वर्षीया प्रेमकला शर्मा शिक्षा संकायमा १२ कक्षा पढ्दै छिन्। गएको फागुनमा मात्रै हो उनको विवाह भएको।  

विवाहपछि यस गाउँमा आएकी प्रेमकलाको यस गाउँमा आएपछि दैनिकीमात्र हैन जीवनशैली नै बदलियो। विवाहअघि सामान्य पोशाकमा हिँडडुल गर्ने प्रेमकलाको अहिले लवाई फेरियो, क्याम्पस जाँदा सामान्य पोशाक लगाए पनि घर बस्दा उनलाई सारी लगाएर मुख र टाउको पनि ढाक्नुपर्छ। 

'विहेपछि घरमा आफू भन्दा ठूलो मानिसलाई मान्नुपर्ने हुदाँ घुम्टो ओढ्नुपर्छ। सुरु सुरुमा अप्ठेरो भएर हिँड्नै सक्दिनथेँ, अहिले बिस्तारै बानी पर्दै आएको छ' उनले भने। 

उच्च शिक्षा अध्ययन गर्दै गरेकी प्रेमकलालाई घुम्टो नै ओढेर हिँड्नु पर्ने संस्कार मन नपरे पनि उनलाई बाध्यता छ। स्नातक पढ्दै गरेका पतिले पनि उनलाई घुम्टो नओढ्न सुझाव दिएका छन्। तर परिवारका अरु सदस्यले संस्कार तोड्न हुँदैन भनेपछि उनी बाध्य छिन्।  'आफू भन्दा ठूलाको सम्मान गर्न घुम्टो नै ओढ्नुपर्छ भन्ने छैन भन्ने मलाई थाहा छ नि  के गर्नु हाम्रो संस्कार नै यस्तै छ। गर्मी महिनामा त झन् यसले (घुम्टो) ले यति त गाह्रो हुदैन' उनले भनिन्।

लोहारपट्टीकै ३५ वर्षीया देवकी मुखियाको बिहेपछिको १५ वर्ष पनि यसरी नै घुम्टो ओढेर बितेको छ। सुरु सुरुमा बानी नपरे पनि हिजोआज बानी परिसकेको उनी बताउँछिन्। 'सधै यसरी नै हिँड्नुपर्छ। हिजोआज त बानी परिसक्यो, के गर्नु चलि आएको संस्कार हो जानेर पनि तोड्न सकिन्न।'

देवकी र प्रेमकलाजस्ता धेरै महिला छन्। जो घरमा हुँदा र बाहिर पनि घुम्टो ओढिराख्छन्। पढेलेखेका महिलाले यो संस्कार हटाउनुपर्ने विषय उठाए पनि व्यवहारमा नै लागू भने गर्न सकेका छैनन्।

हेर्नुस् थप फोटोहरु :

शहरमा घन्किने नारी सशक्तिकरणको ठूलो आवाज अझै गाउँसम्म पुग्न सकेको छैन। गाउँका महिलाहरु अझै अन्धविश्वासलाई आत्मसात गर्दै घुम्टो ओढ्न बाध्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.