|

सिन्धुली : स्थानीय सञ्चारमाध्यममा चिकित्सकको बदनाम हुने गरी समाचार प्रकाशित भएको भन्दै सिन्धुली अस्पतालका चिकित्सकहरु सोमबारदेखि आन्दोलनमा उत्रिएका छन्। उनीहरुले सोमबारदेखि अस्पतालको बहिरंग सेवा (ओपीडी) बन्द गरेका छन्।

जिल्लाबाट प्रकाशन हुने सिन्धुली सौगात दैनिक र सिन्धुली सौगात डटकम अनलाइनमा डाक्टरको मनोबल गिराउने तथा प्रतिष्ठामा आँच आउने गरी समाचार प्रकाशित भएको भन्दै विरोधमा उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

आइतबार र सोमबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकहरुले पत्रिका र पत्रकारले समाचारको खण्डन गर्दै माफी माग्नुपर्ने माग गरेका छन्। आइतबार पत्रिकाले सिन्धुली अस्पतालमा उपचार गर्न शनिबार आएकी एक बिरामीलाई डाक्टरहरुले अभद्र व्यवहार गरेको भनी समाचार प्रकाशित गरेको थियो।

यो विषयमा समाचार प्रकाशित भएपछि अस्पतालका चिकित्सक, नेपाल पत्रकार महासंघ, स्थानीय प्रशासन, उक्त पत्रिकाबीचमा छलफल गरी सहमति गरे पनि फेरि फोटोसहित समाचार लेखेपछि आन्दोलनमा उत्रिएको अस्पतालकी निमित्त प्रमुख डा. सुमित्रा गौतमले बताइन्। उनले भनिन्, ‘इमरजेन्सी सेवा बन्द गरेका छैनौं, ओपीडी सेवा भने सोमबारबाट अनिश्चित समयसम्मका लागि बन्द गरिएको छ। हाम्रा मागहरु पूरा नभएसम्म ओपीडी सेवा सञ्चालन गर्ने छैनौं।’

जिल्लामा डाक्टरहरु बस्दै नबस्ने गरेकोमा पछिल्लो समय विषय विशेषज्ञसहितका डक्टरहरु काम गरिरहेको भए पनि विभिन्न निहुँमा डक्टरहरुमाथि चरित्र हत्या गर्ने गरी समचार प्रकाशित हुन थालेपछि आन्दोलनमा उत्रिएको डा. गौतमको भनाइ छ। आफूले घटनाबारे पटक पटक छलफल गरे पनि पत्रिकाले आफूहरुको बदनाम गरिरहेको गौतमको भनाइ छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुवास कार्कीले पनि चिकित्सकहरुमाथि अभद्र व्यवहार भएपछि आन्दोलन भएको बताए। कार्कीले पत्रकारकै पत्नी सामान्य विमारी भएर उपचारका लागि अस्पतालमा आउँदा उपचारमा ढिला भएको निहुँमा डाक्टरबारे जथाभावी समाचार प्रकाशित भएपछि डाक्टरहरु आन्दोलनमा उत्रिएको बताए। यस विषयमा सबै पक्ष वार्तामा बसी समस्याको हल गर्ने प्रयत्न भइरहेको उनको भनाइ छ।

चिकित्सकहरुको आन्दोलनका कारण अस्पतालमा उपचार गराउन आएका सेवाग्राही भने मारमा परेका छन्। आफूहरु अस्पतालमा उपचारका लागि विमारी लिएर आए पनि डाक्टरहरको आन्दोलनका कारण उपचार नपाएको मरिण गाउँपालिका ७ का पदम श्रेष्ठले बताए।

भोलिदेखि ओपीडी खोल्ने सहमति, पत्रिकाले खण्डन छाप्ने

सोमबार यसै विषयमा प्रमुख जिल्ला अधिकारी, चिकित्सकहरु र पत्रकारसहितको वार्तापछि मंगलबारदेखि ओपिडी सेवा खोल्ने सहमति भएको छ। पत्रकारले समाचारको खण्डन प्रकाशित गर्ने र आफूहरुले बन्द ओपीडी सेवा खोल्ने सहमति भएको अस्पतालकी निमित्त मेडिकल सुपरीटेण्डेन्ट सुमित्रा गौतमले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.