|

जुम्ला : पातारासी गाउँपालिकामा दुई दिनदेखि तालाबान्दी भएको छ। गाउँपालिकाले आफ्नै मनोमानीले योजना बाँडफाँड गरेको भन्दै त्यहाँको सर्वदलीय सर्वपक्षीय समितिले तालाबन्दी गरेको हो। 

समितिका संयोजक रामबहादुर बुढाले चुकेनी जलविद्युत योजना, युवा, वृद्ध, बालबालिकालाई बजेट छुट्याउनका लागि राखेको माग पूरा नभएका कारण तालाबन्दीमा उत्रनुपरेको बताए।

यसअघि समितिले राखेका मागहरु भदौ ११ गतेसम्म पूरा गर्ने प्रतिवद्धता अध्यक्ष तथा उपाध्यक्षले गरेको बुढाले बताए। ‘तर उहाँहरुले बेवास्ता गर्नुभयो। कसैलाई फोनको भरमा बजेट छुटाइएको छ तर जनताको आवश्यकता बजेटमा सम्बोधन भएन। त्यसले तालाबन्दी गर्न बाध्य भयौं,’ उनले भने। 

गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोराले बजेट संशोधन गर्छ भन्दाभन्दै आन्दोलनकारीहरुले ताला लगाएको बताए। ‘आज १२ गते वार्ता गर्ने भनेका थियौं। उहाँहरुले हिजै तालाबन्दी गर्नुभयो। त्यसैले वार्ता हुन सकेन,’ उनले भने।  

अध्यक्ष बोहोरा र उपाध्यक्ष पन्नकली महताराले जुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटासँग आवश्यक सुरक्षा मिलाइदिन आग्रह गरेका छन्। 
प्रजिअ सापकोटाले स्थानीयसँग सहमति गरेर ताला खोल्ने वातावरण बनाउन अध्यक्ष बोहोरालाई सुझाव दिएको बताए। ‘एकैचोटी प्रशासन लगाउने भन्दापनि स्थानीयसँग सहमति गर्न अनुरोध गरेको छु। यदि त्यसमा समस्या परे हामी सुरक्षाकर्मी लगाएर ताला खोल्छौं,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.