|

दार्चुला :  निर्धारित समय भन्दा ६ वर्ष ढिलो र अनुमानित बजेटभन्दा दोब्बर बजेटमा निर्माण सम्पन्न हुन लागेको चमेलिया जलविद्युत आयोजनाको उर्जा मन्त्री महेन्द्रबहादुर शाहीले सोमबार निरीक्षण गरेका छन्।

सोमबार दार्चुलाको शैल्यशिखर नगरपालिका १ बलाच पुगेका मन्त्री शाहीले आयोजना प्रमुख अजय दाहाल र चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधिहरुसँग आयोजनाको पछिल्लो प्रगति विवरणका बारेमा छलफल गरेका थिए।

आयोजनाको पछिल्लो प्रगति विवरणबारे छलफल गरेका मन्त्री शाहीले आयोजनाको काम समयमै सम्पन्न गर्न सरकार र आफू प्रतिबद्ध भएको बताए। निरीक्षणमा उर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमेत सहभागी थिए।

सन् २०११ को डिसेम्बरमा निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ २००७ मा निर्माण थालिएको चमेलिया आयोजना निर्माणमा कुनै अवरोध नआए तोकिएको समय भन्दा ६ महिना ढिलो अर्थात सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुँदैछ। सुरुमा ५० करोडमा निर्माण सम्पन्न गर्ने अनुमान गरिएको यो आयोजनाको लागत बढेर १५ अर्ब पुग्ने देखिएको छ। ३० मेगावाटको यो आयोजना सुदूरपश्चिमकै ठूलो आयोजना हो।

निर्माण सम्पन्न गरेर करिब २ महिना अगाडि ड्याम र डिसेन्डिङ वेसिन परीक्षण गरेको आयोजनाले ५ वटा गेटहरु समेत परीक्षण गरिसकेको छ। हालै ड्यामको अधिकतम् सञ्चय क्षमताको समेत परीक्षण गरिएको आयोजना प्रमुख अजय दहालले बताए। ‘८८ मिटर उचाइसम्म ड्यामको पानी सञ्चय गर्ने क्षमताको परीक्षण र १ नम्बर टनेल बन्द गर्ने काम पूरा गरेका छौं’ आयोजना प्रमुख दाहालले भने।

अहिले आयोजनाले २ नम्बर टनेल बन्द गर्ने र ३ नम्बर टनेलको गेट निर्माण गर्ने काम गरिरहेको आयोजना जानकारी दिएको छ। त्यसैगरी पोलहरुको ड्राइटेन्स गरिएको तथा सेप्टेम्बर ३ बाट चमेलिया र अत्तरियाको सब स्टेशन, पावर हाउसका मेसिन र लाइनहरुको टेस्ट गर्न बाँकी रहेको आयोजनाले जानकारी दिएको छ।

यी सबै परीक्षणका साथै प्रसारण लाइनमा रहेका झण्डै ३ सय रुखहरुको कटानपछि चमेलियाले दशैं लगत्तै परीक्षण गर्ने आयोजना प्रमुख दाहालले बताए। प्रशारण लाइन क्षेत्रमा कटान गर्नुपर्ने १ हजार ९ सय रुखहरुमध्ये १ हजार ६ सय रुख काटिएको र बाँकी दुई महिनाभित्रै काट्ने योजना रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.