|

काठमाडौं : भारतले दोक्लम क्षेत्रमा परिचालित आफ्ना सेना फिर्ता बोलाउने निर्णय गरेको छ। भारतीय विदेश मन्त्रालयले सोमबार एक वक्तव्य जारी गर्दै दोक्लममा परिचालित आफ्ना सेना हटाउने घोषणा गरेको हो। 

पछिल्लो महिना दोक्लम विवादका कारण चीन र भारतबीच वाकयुद्ध नै चलेको थियो। दुवै पक्षबीचको यो विवादपछि सीमा क्षेत्रमा दुवै देशका सेनाबीच मुठभेडसमेत भएका घटना सार्वजनिक भएका थिए। पछिल्लो समय लद्दाकमा दुवै देशका सेना आमनेसामने भएको भिडियो भाइरल भएको थियो।

दोक्लम विवादकै कारण आगामी साता चीनमा हुने ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहभागितालाई लिएर शंका व्यक्त गरिएको थियो। ३१ अगस्टदेखि ४ सेप्टेम्बरसम्म चीनको सियामिनमा आयोजना हुन लागेको ब्रिक्स शिखर सम्मेलनसमेत दुई देशबीचको विवाद बढ्दै जाँदा अन्योलमा परेको थियो। रुसले दुई देशबीच समस्या समाधान गर्न मध्यस्थताका लागि प्रस्तावसमेत राखेको थियो।

दोक्लमबाट सेना फिर्ता बोलाउने भारतको यो निर्णयसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङ पिङबीच सियामिनमा साइडलाइन वार्ता हुने सम्भावना बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय सरकारी टेलिभिजन दूरदर्शनले दोक्लम विवादमा भारतको कूटनीतिक जित भएको भन्दै भारतीय सेना फर्किन सुरु भएको जनाएको छ। प्रधानमन्त्री मोदीको चीन भ्रमणको पूर्वसन्ध्यामा भएको यो निर्णयसँगै दुई देशबीचको गतिरोध अन्त्य भएको बताइएको छ।

जुनको मध्यदेखि चीन र भुटानको सीमाक्षेत्र दोक्लममा भारतीय तथा चिनियाँ सेनाबीच विवाद बढ्दै गएको थियो। दोक्लमलाई भुटानले आफ्नो भएको दाबी गर्दै आएको छ। भारतले सो क्षेत्रमा पछिल्लो समय गोर्खा राइफल्सका सैनिकलाई परिचालन गरेको थियो।

भारतीय विदेश मन्त्रालयले पछिल्लो समय दुई देशबीच दोक्लम विवादका विषयमा कूटनीतिक संवाद भएको भन्दै दुवै पक्षले यस विषयमा आफ्ना विचार राखेको जनाएको छ। ‘पछिल्ला साता भारत र चीनबीच दोक्लम विवादका विषयमा कूटनीतिक संवादहरू भएका छन्। त्यसैका आधारमा दोक्लम क्षेत्रबाट सीमा रक्षकहरू पछाडि हटाउने सहमति भएको छ र यो कारबाही अगाडि बढेको छ,’ भारतीय विदेश मन्त्रालयले जारी गरेको २ बुँदे बक्तव्यमा उल्लेख छ।

यता भारतीय विदेश मन्त्रालयले दोक्लमबाट सेना फिर्ता लाने सहमति भएको जनाए पनि चीनले भने आफ्ना सेना दोक्लममा तैनाथ रहने स्पष्ट पारेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हु चुनयिङले भारतीय सेना दोेक्लम क्षेत्रबाट पछि हटेको भन्दै सो क्षेत्रमा चिनियाँ सेनाको नियमित गस्ती जारी रहने स्पष्ट पारेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.