|

गोरखा : जिल्लाको धार्चे गाउँपालिका-६ काशिगाउँका दुई गर्भवती महिलाको मंगलबार विहान हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। काशिगाउँकी  ३५ वर्षकी माइली गुरुङ र २६ वर्षकी कसमाया गुरुङलाई सिम्रिक हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको छेकम्पारका धावा लामाले जानकारी दिए। हेलीकोप्टर जिल्ला जनस्वास्थ्य कार्यालयको आग्रहमा उनै धावा साक्षी बसेर उडाइएको हो। 

लगातार व्यथा लागेको र रगत बग्ने समस्याले गाउँमै सुत्केरी गराउन सम्भव नभएपछि हेलिकोप्टरमार्फत काठमाडौंको थापाथली हस्पिटलमा लगिएको धावाले टेलिफोनमा जानकारी दिए। गर्भवती महिलालाई चार्टर गर्न हेलिकोप्टरको भाडा एक लाख ६० हजार खर्च भएको छ।

खर्च नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको आमा सुरक्षा कार्यक्रमले बेहोर्ने जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका नानीबाबु दानीले जानकारी दिए। यसअघि, पनि केरौँजा र चुम्चेतका महिलाहरु सुत्केरी हुन नसकेर छटपटाइरहेको अवस्थामा उनै धावाले जिल्ला जनस्वास्थ्य कार्यालयको आग्रहमा हेलिकोप्टरमार्फत उद्धार गरेका थिए। 

गर्भवती दुई महिलामध्ये माइली गुरुङले यसअघि नै दुई सन्तानलाई जन्म दिइसकेकी छन् भने कसमायाँ पहिलोपटक गर्भवती हुन्। व्यथा लागेसँगै काशीगाउँ स्वास्थ्य चौकीमा पुर्‍याउँदा उनीहरु दुवैलाई स्वास्थ्य चौकी प्रमुख दुलप्रसाद राना र त्यहाँ स्वास्थ्यसम्बन्धी काम गरिरहेको फेस नेपाल नामक गैरसरकारी संस्थाका नर्सहरु अन्जना बानिँया र रिता जिरेलले सामान्य उपचार गरेका थिए।     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.