|

काठमाडौं : सरकारले असोज महिनादेखि थप सात जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने भएको छ। हाल १५ जिल्लामा सञ्चालन भइरहेको स्वास्थ्य बिमा कार्यक्रम थप ७ जिल्लामा विस्तार गर्न लागेको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक डा.गुणराज लोहनीले जानकारी दिए।

असोज १ गतेदेखि झापा, सोलुखुम्बु, सुनसरी, सिन्धुली, रोल्पा, सुर्खेत र बर्दिया गरी सात जिल्लामा स्वास्थ्य बिमा लागु हुन लागेको हो। यी जिल्लाहरुमा हाल दर्ता सहयोगीका लागि दरखास्त आह्वान गर्ने र तालिम दिने काम भइरहेको समेत डा.लोहनीले बताए।

'हामीले असोज १ गतेदेखि थप सात जिल्लामा स्वास्थ्य बिमा लागू गर्ने तयारी गर्दैछौं, अहिले ती  जिल्लाहरुमा बिमा दर्ता गर्ने सहयोगी राख्ने र तालिम दिने काम भइरहेको छ' उनले भने। असोजदेखि बिमामा सहभागी हुनेहरुले मंसिर १ गतेदेखि सेवा लिन पाउनेछन्। 

सरकारले २०७२ साल चैत २५ गते कैलाली, बाग्लुङ र इलाम जिल्लाबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो। त्यसपछि कास्की, पाल्पा, बैतडी, अछाम र म्याग्दी र तेस्रो चरणमा चितवन, मकवानपुर, तनहुँ, जुम्ला, भक्तपुर, जाजरकोट र गोरखा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको थियो। असोजदेखि थप ७ जिल्लामा कार्यक्रम सुरु भएपछि स्वास्थ्य बिमा सञ्चालन हुने जिल्ला २२ पुग्नेछ। 

सरकारले आर्थिक वर्ष ०७३/०७४ को बजेटमार्फत आगामी तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गर्ने लक्ष्य सार्वजनिक गरेको थियो। सरकारी योजना अनुसार नै स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्दै लगिएको डा. लोहनीले बताए।

के हो स्वास्थ्य बिमा?

सरकारले एक परिवारसँग वर्षमा २ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउँछ। एउटा परिवारमा सामान्यतया ५ जना सदस्य रहने अनुमान गरी सरकारले ५ जनाको परिवारबाट २ हजार ५ सय लिएर परिवारका सबै सदस्यको स्वास्थ्य बिमा गराउँछ। परिवारमा ५ भन्दा बढी सदस्य भएमा एक जनाको थप ४२५ रुपैयाँ तिरेर सदस्य बन्‍न सकिनेछ।

स्वास्थ्य बिमामा सहभागी भएपछि परिवारका सदस्यलाई वार्षिक ५० हजार रुपैयाँ बराबर उपचार खर्च प्रदान गर्ने व्यवस्था छ। स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत तोकिएको सरकारी अस्पतालबाट अन्तरंग, शल्यक्रिया, बहिरंग, प्रयोगशाला र औषधी खर्च पाइन्छ। तर कस्मेटिक सर्जरी, घरेलु झैझगडाबाट लागेको चोटपटक, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी दुर्घटनामा परेमा स्वास्थ्य बिमा अन्तर्गत उपचार हुनेछैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.