|

बैतडी : सुदूरपश्चिममा गौरा पर्वको उत्साह उत्कर्षमा पुगेको छ। भदौ सप्तमीका दिन सोमबार बेलुकी गौराघर र मन्दिरमा परम्परागत रुपमा गौरा भित्र्याइएको छ। व्रत बसेका महिलाले धान, साउँ, कुश लगायतका वोटविरुवा प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारेर धार्मिक अनुष्ठानका साथ सोमबार गौरा भित्र्याएका हुन्।

घर नजिकको खेतमा गई सामूहिक रूपमा ‘फाग’ (गौरा भित्र्याउँदा गाइने लोकलय) गाउँदै यो प्रतिमा तयार पारिने आचार्य गणेशदत्त लेखकले बताए। ‘लोकलयमा आधारित फाक गाएर धानको बोट, साउँ, कुशको प्रतिमा बनाइन्छ’ उनले भने।

गौरा भित्र्याइसकेपछि दैनिक व्रतालु महिलाले गौरी भगवती र महेश्वर (शिव) भगवानको पूजा अर्चना गर्ने गर्दछन्। पूजामा व्रतालु महिलाहरूको सहभागिता हुन्छ। पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने ‘बिरुडा’ (पाँच थरिका गेडागुडी)को विशेष महत्व रहन्छ।

‘बिरुडा’लाई गौरा र महेश्वरको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा रहेको छ। पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादको रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन छ र यसरी खाँदा पेटसम्बन्धी रोग निको हुने जनविश्वाससमेत रहँदै आएको छ।

गौराघर र मन्दिरमा भक्तजनको भीड

भाद्र पञ्चमी तिथिका दिन धार्मिक अनुष्ठानका साथ प्रत्येक घरमा तामाको भाँडामा बिरुडा भिजाएर राखिन्छ। बिरुडा भिजाएको दिनदेखि नै गौरा पर्व सुरु भएको मानिन्छ। गौरा भित्र्याइएसँगै स्थानीय मन्दिरका साथै गौराघरमा गौरा भगवती र महेश्वर (शिव)को पूजा गर्ने महिलाहरूको घुइँचो लागेको छ।

पूजाको कम सकिएपछि हरेक दिन महिला पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई चैत, धमारी, देउडा खेल खेल्ने गर्दछन्। अहिले सुदुरपश्चिमका गाउँगाउँमा डेउडा प्रतियोगिता भइरहेका छन्। विभिन्न संघसंस्थाहरुले पनि यो पर्वको बेला डेउडा प्रतियोगिताको आयोजना गरेका छन्।

गाउँघरमा चहलपहल बढ्यो

सुदूरपश्चिमका ९ वटै जिल्लामा अहिले गौरा पर्वको रौनता बढेको छ। बैतडीसहित दार्चुला, कैलाली, कञ्चनपुर डडेल्धुरा, बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाका वासिन्दाले सबैभन्दा बढी महत्वका साथ मनाउने गौराको आगमनले यतिबेला चहलपहल बढाएको छ।

काम तथा पढाइको सिलसिलामा जिल्लाबाहिर रहेकाहरु पनि अहिले घर फर्किएका छन्। अरु समय सुनसान हुने गाउँमा सबैको जमघट हुँदा अहिले चलहपहल निकै बढेको छ। ‘अरुबेला गाउँका दाइहरु मजदुरी गर्न भारत पस्छन्,’ दोगडाकेदारकी प्रतीक्षा भाटले भनिन्, ‘अहिले सबै घर आउनुभएको हुँदा रमाइलो माहोल बनेको छ।’

यस्तै, चेलीबेटीहरु माइतीघरमा आएर रमाउने गर्दछन्। गौरा पर्वमा मीठो मसिनो खाने तथा नयाँ लुगा लगाउने चलन छ। गौराको विशेष प्रसाद बिरुडासँगै अन्य परिकारहरु पकाएर छिमेकीसँगै बसेर खाने चलन यस क्षेत्रमा छ। गौरा पर्वको अवसरमा मंगलबार नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.