|

काठमाडौं : सवारी साधनहरुको बृहत प्रदर्शनी नाडा अटो शो को १२ औं संस्कण मंगलबारदेखि सुरु भएको छ। नेपाल अटोमोवाइल डिलर एसोसिएसन (नाडा) ले आयोजना गरेको मेलाको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले उद्घाटन गरे। भृकुटीमण्डपमा भएको मेलामा साना ठूला गरी १३० वटा स्टलहरु रहका छन्।

जसमध्ये १६ वटा ब्राण्डका ४ पाङ्ग्रे, १९ वटा ब्राण्डका २ पाङ्ग्रे र ६ वटा ब्राण्डका हेभी कमर्सियल सवारी साधनहरु प्रदर्शनमा रहेका छन्। ६ दिनसम्म चल्ने मेलामा झण्डै ५० हजारले अवलोकन गर्ने आयोजकले अनुमान गरेका छन्। प्रदर्शनीको ब्राण्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलार्इ चयन गरिएको छ। मेलाकै अवसरमा विभिन्न कम्पनिका झण्डै दुई दर्जन नयाँ मोडेलका गाडी समेत सार्वजनिक गरिएको छ। 

मेलालाई आकर्षक बनाउन आयोजकले प्रवेश टिकटमा बम्पर उपहार स्वरुप आईएमई अटोमोटिभ्सले प्रायोजन गरेको युएम रेनेगेड कमाण्डो २३० सीसीको  मोटरसाइकल दिने समेत जानकारी गराएको छ। मेलामा ५ अर्बको गाडी बुकिङ हुने अनुमान गरिएको महासचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।  

सन् १९९८ देखि गरिएको नाडा अटो सो  हुँदै आएकोमा सुरुका तीनवटा ६ वटा सो दुई वर्षको अन्तरमा गरिएको थियो। सन् २०११ देखि प्रत्येक वर्ष दशैँ सुरु हुनु भन्दा झण्डै एक महिना अगाडि यो मेला आयोजना हुँदै आएको छ। 'नाडा अटो शोले दशैं आएको संकेत गर्छ' नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने।

मेलामा एकै ठाउँमा आयातकर्ता, डिलर, उत्पादक, विक्रेता एवं ग्राहकहरुको जमघट हुने भएकोले विशेष महत्वको रुपमा लिइन्छ। दशै अगाडिको एक महिना र पछाडिको एक महिना गरी यो दुई महिनालाई गाडी व्यापारीहरुले विशेष सिजनको रुपमा लिने गर्छन्।

यही अवसरमा विशेष छुटका अफरहरु समेत सार्वजनिक गरिने हुनाले गाडी खरिद र बुकिङ गर्नेहरुको संख्या बढ्छ। 'उहाँहरुले यो बेलामा विशेष छुट दिनुहुन्छ, मैले यही प्राय गाडी यही मौकामा किन्ने गरेको छु, अहिले पनि किन्ने सोच छ' नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.