केपी ओली बैंककबाट फर्केपछि सार्वजनिक गर्ने तयारी

|

काठमाडौं : स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत असोज २ गते प्रदेश नम्बर २ का १३६ स्थानीय तहमा निर्वाचन हुदैछ। निर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक दलहरु उम्मेदवार चयनमा व्यस्त छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले २ नम्बर प्रदेशको एकमात्र महानगरपालिकामा प्रमुखको उम्मेदवार चयन गरिसकेको छ भने अन्य तीनवटा उपमहानगरपालिकाको उम्मेदवार टुंग्याउन सकेको छैन। नगरपालिका र गाउँपालिकाका उम्मेदवारहरु पनि चयन गरिसकेको छैन।

वीरजंग महानगरमा बसुरुद्धिन अन्सारी

एमालेले प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जको प्रमुखमा बसुरुद्धिन अन्सारी र उपप्रमुखमा सोफिया आचार्यलाई उम्मेदवार चयनगरिसकेको छ। बसुरुद्धिन केही महिनाअघिमात्र नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन्। उनी २०७० सालको संविधानसभा निर्वाचनमा माओवादीको तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार थिए।

उनी वीरगञ्ज नगरप्रमुखको उम्मेदवार पाउने शर्तमा मात्र एमाले प्रवेश गरेको चर्चा छ। यद्पयी पार्टी प्रवेश गराउँदा टिकटको बार्गेनिङ नभएको एमालेका एक जिल्ला नेताले बताए।

कुन उपमहानगरमा कसको दाबी ?

प्रदेश २ मा जनकपुर, कलैया र जीतपुर सिमरा गरी तीनवटा उपमहानगरपालिका छन्। बाराको कलैया उपमहानगरपालिका प्रमुखमा विनोद साह र एम साम उल्लाहले दाबी गर्दै आएका छन्। साह एमाले प्रदेश नम्बर २ को सदस्य हुन् भने उल्लाह बाराका जिल्ला सचिव हुन्। यी दुईमध्ये साह एमाले अध्यक्ष केपी ओली पक्षका हुन् भने उल्लाह माधव नेपाल पक्षधर मानिन्छन्।

साह २०५४ सालको स्थानीय निकायको निर्वाचनमा कलैया नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकाले लोकप्रिय रहेका ओली पक्षधरको दावी छ। तर उपमहानगरपालिकामा १३ हजार मुस्लिम मतदाता रहेकाले उल्लाहलाई उम्मेदवार बनाउनुपर्ने नेपाल पक्षको दाबी छ।

यस्तै सीमरा जीतपुर उपमहानगरपालिका प्रमुखको उम्मेदवारमा डा. कृष्ण पौडेल, भरत खड्का र देवनारायण चौधरीले दाबी गरेका छन्। अध्यक्ष केपी शर्मा ओली निकट मानिने पौडेल एमाले बाराका जिल्ला सदस्य हुन् भने माधव नेपाल पक्षका खड्का २ नम्बर प्रदेश संगठन कमिटिका सदस्य हुन् भने देवनारायण जिल्ला कमिटी बाराका उपाध्यक्ष हुन्।

माधव नेपाल पक्षले आफ्नो समूहबाट २ जना दाबेदार रहेकाले दुइमध्ये जसलाई दिए पनि हुने भन्दै आएको छ भने ओली समुहले कृष्ण पौडेललाई बनाउनुपर्ने तर्क राख्दै आएको छ। मतदातामा मधेसी तथा थारु समुदायको बाहुल्य रहेकाले देवनारायणलाई प्रमुखमा दिनुपर्ने कतिपय नेताहरुको तर्क छ।

जनकपुरमा ३ जनाको दावी

जनकपुर उपमहानगरपालिकाको प्रमुखका लागि एमाले धनुषा जिल्ला कमिटीले लक्ष्मीनारायण भगत, दीपेन्द्र यादव र श्याम पूर्वे साहको नाम सिफारिस ‍गरेको छ। जसमध्ये वरिष्ठता र पहुँचका हिसाबले भगत बलिया दाबेदार मानिन्छन्। अवकाश प्राप्त कर्मचारी समेत रहेका भगत कर्मचारी युनियन र पेशागत महासंघमा सक्रिय नेता हुन्।

अर्का दाबेदार दीपेन्द्र यादव गत वर्षमात्रै एमाले प्रवेश गरेका हुन्, हाल उनी युवा संघमा छन्। श्याम पूर्वे साह एमाले धुनुषाका जिल्ला सचिवालय सदस्य हुन्। पार्टीका पुराना नेता उनले वरिष्ठताका आधारमा आफू उम्मेदवार हुन पाउने दावी गरेका छन्।

हाल प्रदेश नम्बर २ को निर्वाचनका लागि खटिएका एमाले पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी १३६ तहका सबै उम्मेदवाहरु छिट्टै टुङ्गो लाग्ने बताउँछन्। 'म अहिले पनि छलफलमै छु। धनुषा लगायत केही जिल्लाका स्थानीय तहको उम्मेदवारहरु टुङ्ग्याउन बाँकी छ' उनले टेलिफोनमा भने , 'हामीले उम्मेदवार टुङ्ग्याउने लगभग सबै काम गरिसकेका छौं। पार्टी अध्यक्ष बैंककबाट फर्केलगत्तै सबै कुरा टुङ्ग्याउछौं।'

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ २ नम्बर प्रदेशका केही तह बाहेक सबै तहका उम्मेदवारहरु टुङ्गिसकेको र पार्टी अध्यक्ष केपी ओली बैंककबाट फर्केलगत्तै सार्वजनिक गर्ने बताए। नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डको बैंकका गएका एमाले अध्यक्ष केपी ओली ५ दिनपछि बुधबार स्वदेश फर्कदैछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.