|

झापाः युवापुस्ताले यतिबेला देशमा केही भएन भन्दै वैदेशिक रोजगारी नै रोज्ने गरेका छन्। नेपालमा बसेर कमाउन सकिन्न भन्ने उनीहरूको बुझाइ छ। त्यसैले उनीहरू उमेर पुग्नासाथ राहदानी बनाउँछन् र रोजगारीका लागि विदेसिन्छन्। 

विदेशमा पनि कतिको राम्रै हुन्छ भने कतिले आफू जाँदाको ऋण पनि तिर्न सक्दैनन्। तर पछिल्लो समय केही युवाहरू देशमै केही गर्न सकिन्छ भनेर व्यावसायिक कृषि उत्पादनतर्फ लागेका छन्।

यसरी देशमै केही गर्नुपर्छ भनेर लागेका एक युवा हुन्, झापा बाहुनडाँगीका २५ वर्षका चूडामणि मगर। उनी अन्य युवाहरूको भन्दा फरक सपना बोकेर व्यावसायिक रूपमा कुखुरा पालनमा लगोका छन्। उनले नेपालमै केही गर्नुपर्छ भन्ने सोच बनाएर कुखुरा पालनतर्फ लागेको बताएका छन्। उनी भन्छन्, ‘धेरै विदेसिएका साथीहरूको हालत पनि देखिएको छ, अर्काको देशमा गएर दुःख पाउनुभन्दा आफ्नै देशमा केही गर्नु उचित हुन्छ भन्ने लागेर कुखुरा फार्म खोलेको छु।’ 

उनी कुखुरा फार्म सञ्चालन गर्नुभन्दा अघि पनि बेरोजगार भने होइनन्। बाहुनडाँगी क्षेत्रका पशु प्राविधिक पनि हुन् उनी। बौद्धमोड बजारमा छ वर्षअघिदेखि डेनी भेट्स सञ्चालन गर्दै आएका छन् मगरले। ‘मैले गरेको पेशाबाट पनि कमाउन नसकिने भने होइन’, उनी भन्छन्, ‘तर अझै व्यावसायिक कृषि पेशा अँगालन मन लागेकाले कुखुरा पालनतर्फ लागेको हुँ।’ 

पछिल्लो समय युवाहरूले कृषि पेशा गर्नै नचाहेर विदेसिनुपरेको मगर बताउँछन्। ‘युवाहरू कोही पनि कृषि गर्न चाहँदैनन्, अर्काको देशमा जस्तै दुःख पनि गर्छन् तर आफ्नो देशमा केही गर्दैनन्, त्यस कारण पनि विदेसिनुपरेको हो’, मगर भन्छन्, ‘हामीले यहीँ केही गर्न खोज्यौँ भने संभव छ।’ 

मगर रोजगारीका लागि विदेश नै जानुपर्छ भन्ने मान्यतालाई त्यागेर स्वदेशमै आत्मनिर्भर बन्ने प्रयत्न गर्दै छन्। उनले मेचीनगर– २ बौद्धमोडमा सी.एम. पोल्ट्री फार्म सञ्चालन गरी व्यावसायिक कुखुरा पालन थालेका हुन्।

विशेषगरी अण्डा उत्पादनका लागि पालिने लेयर्स जातका दुई हजार पाँच सय कुखुरा पाल्न सुरु गरेका उनी बाहुनडाँगी क्षेत्रमै व्यावसायिक उद्देश्यले लेयर्स जातका कुखुरा पाल्ने पहिलो व्यक्ति हुन्। उनी भन्छन्, ‘बजारमा अण्डाको धेरै माग छ, माग धान्न हम्मेहम्मे छ।’ उनले शिक्षा संकायमा कक्षा १२ सम्म औपचारिक अध्ययन गरेका छन्। त्यसपछि उनले पशु प्राविधिकतर्फ भेटेनरी जेटीएको १५ महिने तालिमसमेत लिएका छन्।

बौद्धमोड बजारमा पशु प्राविधिक मात्र नभई एक युवा व्यवसायीको समेत परिचय बनाएका मगर हिजोआज आफ्नो भेटेनरी पसलसँगै कुखुरा फार्ममा व्यस्त हुन थालेका छन्। उनी भन्छन्, ‘म पशु प्राविधिकको रूपमा परिचित त छँदै छु अब युवा कृषि व्यवसायी बन्न चाहन्छु।’ 

दिउँसो पसलमा भेटिए पनि त्यसबाहेक अघिपछिको समय भने आफ्नो फार्ममा कुखुराको पालनपोषण, स्याहार सुसारमा बिताउने गरेको उनले बताए। उनी भन्छन्, ‘दिउँसो प्रायः पसलमा हुन्छु, त्यसबाहेक अरू बेला म सधैँ कुखुरा फार्ममा नै हुन्छु।’

पाँच वर्षअघिदेखि नै व्यवसाय गर्ने सोच बनाएका मगरले १० महिनाअघिदेखि चार कठ्ठा निजी जग्गामा कुखुराको खोर बनाउन सुरु गरेका थिए। दुई हजार पाँच सयवटा कुखुरा अटाउन सक्ने क्षमताको व्यवस्थित खोर बनाएका उनले व्यवसाय सुरु गरेको भने पाँच महिना मात्र भएको छ। ‘धेरै पहिलादेखि नै कुखुरा पालन गर्ने सोचमा त थिएँ, तर कहिले के मिल्दैनथ्यो, कहिले के’, उनी भन्छन्, ‘पाँच महिनाअघिदेखि भने सुरु गरेको छु।’

चल्ला हालेको २० हप्ता अर्थात् पाँच महिनादेखि लगातार १८ महिनासम्म अण्डा दिने लेयर्स जातका कुखुराबाट पहिलो चरणमा राम्रो आम्दानी हुने उनको विश्वास छ।
दाना, पानी, पोषक तत्त्वलगायत आवश्यक खुराक पु¥याउन सके, कुखुराको स्वास्थ्य अनि स्याहार चाकरमा ध्यान दिन सके ९७ प्रतिशतसम्म अण्डा उत्पादन हुने मगर बताउँछन्।

कुखुराको खोर तथा भौतिक संरचना निर्माणका लागि १८ लाख रूपैयाँभन्दा बढी रकम खर्चेका उनले कुखुरालाई चाहिने शुद्ध पानी परीक्षण गरेर खुवाइरहेका छन्।
कृषि विकास बैंकबाट ऋण स्वरूप १० लाख रूपैयाँ लिएर अपुग रकम आफैँ जोहो गरी व्यवसाय थालिएको उनको भनाइ छ। उनको फार्ममा आफू मात्र स्वरोजगार भएका छैनन्, अरूलाई पनि रोजगार दिन सफल भएका छन्। उनले प्रत्यक्ष रूपमा एक जनालाई फार्ममा रोजगारी दिएका छन्। 

यस्तै, उनको पाँच जनाको परिवारले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन्। अप्रत्यक्ष रूपमा दैनिक ज्यालामा अरूले समेत रोजगारी पाएको उनी बताउँछन्।

फार्ममा चल्ला हालेदेखि अण्डा पार्ने दिनसम्म एउटा कुखुरा बराबर एक हजार रूपैयाँका दरले खर्च हुने, दुई हजार पाँच सय कुखुराको स्याहार गर्न दैनिक पाँच हजार रूपैयाँ खर्च हुने मगर बताउँछन्। ‘हामी नेपालीको बानीचाहिँ थोरै लगानी गर्ने र छिट्टो र धेरै प्रतिफल खोज्ने हुन्छ’, मगर भन्छन्, ‘तर त्यस्तो होइन, लगानी गरियो भने प्रतिफल विस्तारै आउँछ।’ मगरको उक्त व्यवसायमा अहिलेसम्म २० लाख रूपैयाँ लगानी भइसकेको छ।

उनले लेर्यस कुखुराबाट अण्डा उत्पादन कम हुँदै गएपछि चल्ला किन्दाको लगानी यहीँबाट उठ्ने बताए। ‘अण्डा उत्पादन घट्न थालेपछि कुखुरा बेचेर पनि चल्लाको लगानी त उठ्छ,’ उनी भन्छन्, ‘हतार नगर्ने हो भने यही व्यवसायले पनि केही गर्न सकिन्छ।’

उनले आफ्नो फार्मले बाहुनडाँगीको मागसमेत धान्न नसक्ने बताए। ‘अण्डा उत्पादक कृषक कम छन्, त्यसले गर्दा बजारमा माग धेरै छ, यसले त यहाँको माग पनि धान्न मुस्किल पर्छ’, मगर भन्छन्। 

उनले अण्डाको मूल्यमा गिरावट नआएमा आफ्नो लगानी चाँडै उठाउने विश्वास व्यक्त गरे। उनी भन्छन्, ‘अहिले लगानी धेरै देखिएको छ तर कुखुराले राम्रो अण्डा उत्पादन गरेमा राम्रै नाफा हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.