फिचर

दलालद्वारा बेचिएकी रीता भन्छिन्, 'बेच्न त बेचेकै हुन् तर कति पैसामा बेचे थाहै पाइनँ'
SHARES

भदौ १८, २०७४

    काठमाडौँ: ‘मलाई घरमा रहेका श्रीमान र छोराहरूको मााया लाग्थ्यो। बोली सुन्न मन लाग्थ्यो। उनीहरूले सुन्नेगरी कुरा गर्ने अनुमति थिएन। फोनमा कसैसँग कुरा गरेको थाहा मात्र पाए भने लौरो लिएर कुट्न आउँथे। म आधा रातमा बाथरुम छिरेर उनीहरूले थाहा नपाउने गरी घरमा फोन गर्थें। मुटु भक्कानिएर आउँथ्यो। रुन मन लाग्थ्यो। दुई/चार पैसा कमाएर सुखी जीवन बाँचौँला भनेर अर्काको देशमा पुगेकी मलाई नेपाली दलालहरूले नै रुवाइरहेका थिए।’ 

    यो भनाइ एकजना पीडित महिलाको हो, जो पैसा कमाउने सपना देखेर विदेसिएकी थिइन्। 

    रोजगारीको सिलसिलामा विदेश जाने र दुई/चार पैसा कमाएर परिवारलाई सुखसँग राख्ने सपना बोकेर विदेश पुगेकी नवलपरासी जमुनाहाकी ३४ वर्षकी रीताकुमारी थारू आठ महिनापछि अन्ततः रित्तो हात घर फर्किइन्। 

    उनको गाउँमा सानोतिनो घर थियो। पाखुरा बजाएर पसिनन बगाएमा जसोतसो खान पुग्ने जमिन पनि थियो। माया गर्ने श्रीमान थिए। दुई छोराहरू हुर्किसकेका थिए। 

    रीतालाई विदेश जानुपर्ने त्यस्तो खास बाध्यता थिएन तर उनका श्रीमानले बेलाबेला रक्सी खाएर मजदुरी गरेर कमाएको पैसा उडाउँथे। यसले उनलाई निकै तनाव दिन्थ्यो। हुर्किरहेका कलिला छोराहरूको भविष्यले पिरोलिन्थिन् उनी। श्रीमानको भर थिएन। कमाउन त मजदुरी गरेर कमाउँथे तर उनले पिउने मदिराले उनलाई नै दिनदिनै खाइराखेको थियो। 

    रीताकी छिमेकी कविता चौधरीले रीताको यही विवशताको फाइदा उठाउँदै रीतालाई फकाउन थालेकी थिइन्। ‘तिम्रो श्रीमानले रक्सी खान्छन्। कमाएर पनि कहिल्यै ल्याउँदैनन्। छोराहरू साना छन्। एक पटक विदेश जाऊ। विदेश गए दुई/चार लाख रुपैयाँ कमाउन सकिन्छ’, छिमेकी कविताले यसरी चिप्लो घसेर कुरा गरेपछि रीताको मन पग्लियो। उनलाई लाग्यो, 'मेरो दुःख बुझिदिने त यिनै दिदी रहिछन्। यिनले भनेको ठीकै त होला।' यस्तो सोच्दै रीताले दुई छोरा र श्रीमानलाई छोडेर पैसा कमाउन विदेश जाने योजना बनाइन्। 

    आफ्नो विदेश यात्राको पीडा सुनाएर कतै क्षतिपूर्ति पाइ पो हालिन्छ कि भन्ने आशामा रहेकी रीताले आफूले विदेशमा भोगेको दुःख सुनाइरहँदा एकोहोरिएकी थिइन् उनी। 

    पासपोर्ट पनि उनैले बनाइदिए

    सामान्य लेखपढ गरेकी रीतालाई विदेश जाँदा के गर्नुपर्छ भन्ने केही पनि थाहा थिएन। छ घन्टाको दूरीमा रहेको काठमाडौँ पनि कहिल्यै नछिरेकी उनलाई छिमेकी कविताले काठमाडौँ पुर्‍याएर रमेश गुरुङ नामको दलालको हात लगाइन्। रमेश गुरुङले १० हजार रुपैयाँ दिएर रीतालाई पासपोर्ट बनाउन लगायो। उनले खुरुखुरु भनेको मानिन्। केही दिनमा पासपोर्ट बन्यो। पासपोर्ट रमेशको हात लगाएर उनी नवलपरासी फर्किइन्। 

    त्यसको एक हप्तापछि उनलाई विदेश जाने खबर आयो। उनी काठमाडौँ आइन्। त्यसको भोलिपल्टै दिल्ली पुर्‍याइयो उनलाई। दिल्लीमा १८ दिन बसेपछि कता के कुरा मिलेनछ, रमेशले फर्काएर काठमाडौँ ल्याइपुर्‍यायो। त्यसको आठ महिनापछि बल्ल उनी कुवेत पुग्न पाइन्। 

    कुमार झापालीको स्वागत र आठ महिनासम्मको अपमान

    विदेशबारे अनेक सपना सजाउँदै कुवेत पुगेकी रीतालाई लिन कुमार झापाली नाम गरेका व्यक्ति एयरपोर्टमै पुगेका थिए। झापालीले उनलाई आफ्नो कोठामा लगेर राखे। केही दिन कोठामा राखेपछि कुवेतको एउटा मुश्लिमकहाँ लगेर बेचिदिए। ‘बेच्न त बेचेकै हुन्। तर कति पैसामा बेचे भन्ने कुरा मलाई थाहा भएन’, रीताले थाहाखबरसँग आफ्नो पीडा सुनाइन्। ‘पाँच महिना मैले पूरै काम गरेँ। ६२ हजार २९६ नेपाली रूपैयाँ मैले घरमा पठाइदिएकी थिएँ', उनले भनिन्, २०० केडी जति विदेशको ठाउँ के पर्छ पर्छ भनेर मैले आफैँसँग राखेकी थिएँ। केही पर्‍यो भने यति पैसाले काम चलाउँला भनेर मैले त्यो पैसा लुकाएर राखेकी थिएँ।’ 

    नभन्दै उनलाई मुश्लिमको घरमा अप्ठ्यारो पर्‍यो। फर्केर घर जान्छु भनेर उनी भागेर झापालीकै डेरामा पुगिन्। झापालीसँगै तारा पौडेल नाम गरेकी महिला बस्थिन्। उनीहरूले आफ्नो परिचय दिँदा श्रीमान-श्रीमती भनेर दिएका थिए।

    उनीहरूले रीतालाई घर नफर्की उनीहरूको डेरामा काम गरेर बस्न सुझाव दिए। काम गरेको तलव कुवेतको नियमानुसार दिने बताएका थिए। उनलाई ठीकै लाग्यो। नेपालीको घरमा काम गर्दा विदेशीको घरमा जस्तो दुःख नपाइएला कि भनेर उनले झापालीकोमा काम गर्ने निधो गरिन्। उनले दुःख परेको समय काम लाग्छ भनेर लुकाएर राखेको पैसा झापालीले सापटी मागे, उनले इमान्दारीपूर्वक १४० केडी झापालीलाई सापटी दिइन्। ‘पैसा हुनेहरूको मन ढुंगा जस्तो हुनेरहेछ। मैले दुःखले कमाएको पैसा उसले १० पटक माग्दा पनि फिर्ता दिएन’, रीताले भारी मनका साथ भनिन्। 

    कुमार झापाली निकै टाठाबाठा थिए। सामाजिक संघसंस्थाहरूमा सक्रिय थिए। मीठो बोल्थे। तर आठ महिना काम गरेकी कामदार रीता थारूले उनै झपालीकहाँ काम गरेको पारिश्रमिक पाउन सकिनन्। ‘कुमार झापालीकहाँ आठ महिना काम गरेँ। निकै दुःख भोगेँ। झापालीले तरकारी मीठो भएन भने पनि झापड लगाउने गर्थ्यो। घरमा कुरा गर्ने अनुमति थिएन', उनले भनिन्, 'घरमा कुरा गरेको थाहा पाए झापालीका श्रीमान-श्रीमती लौरो लिएर पिट्न आउँथे।’

    आफ्नो पासपोर्ट पनि उनीसँग थिएन। दलालसँगै थियो। 'मेरो पासपोर्ट ल्याइदेऊ र मेरो आठ महिनाको तलव देऊ, म आफ्नै पैसाले घर जान्छु। पैसा बचे पनि नबचे पनि मेरै तलवको पैसाले घर फर्किन्छु। तिमीहरूको एक पैसा पनि खर्च गरिदिन्न भन्दा पनि उनीहरूले मेरो कुरा सुनेनन्’, आँखाभरि आँसु पार्दै रीताले यसरी दु:ख पोखिन्। 

    घर पठाइदेऊ भन्दाभन्दा थाकिसकेकी रीतालाई एक दिन कुवेतमा रहेको नेपाली दूतावासका कर्मचारीले उद्धार गरेर नेपाल पठाइदिएको रीता बताउँछिन्। 

    घरमा पठाएको पैसा पनि दलालकै हातमा

    विदेशीको घरमा पाँच महिना काम गरेर कमाएको पैसा रीताले कवितामार्फत घर पठाएकी थिइन्। ६२ हजार २९६ पठाएकोमा जम्मा २० हजार रुपैयाँ मात्र घरमा दिएर अरू सबै पैसा कविता आफैँले खाइदिएको सुन्दा थिल्थिलो परेर फर्किएकी उनलाई मन थाम्न निकै मुुश्किल परेको थियो। 

    नेपाली जनप्रगतिशील मञ्च कुवेतका तात्कालीन अध्यक्ष दावा थोकर तामाङको पहलमा झापालीलाई दवाब दिएपछि एक लाख रूपैयाँ पठाइदिएको र त्यो पैसाले छोराको उपचार गरेको रीताले सुनाइन्। ‘कान्छो छोरा मुटुको बिरामी छ। पैसा नभएर उपचार गराउन सकेकी छैन। मैले पाउनुपर्ने पैसा पाउन पाए छोराको उपचार गराउँथेँ', रीता भन्छिन्, 'उसको मुटुमा पानी जमेको छ। मुटु दुखिरहन्छ। कुनैकुनै समय निकै दुखेको बेला छोरा बेहोश हुन्छ। मलाई डर लाग्छ। मैले काम गरेको पैसा पाउन पनि सकिनँ। छोराको उपचार गर्न पनि सकिनँ।’

    झापालीबाट उनले पाउनुपर्ने अाठ महिनाकाे तलव र सापटी लगेकाे १४० केडी पाउन पाए छाेराकाे उपचारमा सजिलाे पर्ने उनकाे अाशा छ। यता, कविताले खाइदिएकाे ४२ हजार २९६ फिर्ता गराउन पनि उनलाई उस्तै महाभारत परेकाे छ। कानुनबारे थाहा नपाएकी उनका लागि के कस्तो प्रक्रियाबाट उक्त पैसा उठाउन सकिन्छ भन्ने पनि थाहा छैन।  

    विदेशमा भोगेको दुःखले उनलाई निकै शिक्षा दिएको छ। कोही विदेश जान लागेका महिला भेटिन् भने आफ्नो दुःख सुनाउँदै नजान आग्रह गर्छिन्। ‘बरु नेपालमै केही काम गर। मजदुरी गरेर खाऊ तर विदेश नजाऊ। त्यहाँ निकै दुःख छ’, रीता भन्छिन्, 'मैले भोगेर आएको जस्तो दुःख अरूले नभोगून् भन्ने लाग्छ।' 

आस्था केसी

थाहा संवाददाता केसी राजनीति र सामाजिक क्षेत्रमा कलम चलाउँछिन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]