|

बाँकेः केही समयअघि गएको बाढीपछि बाँकेमा तरकारीको मूल्य अकासिएर किन्न नसकिने भएको छ। बाढीले तरकारी खेतीमा असर गरेपछि बाँकेमा तरकारीको मूल्य अकासिएको हो। बाँकेमा ६० हेक्टरमा रोपेको तरकारीमा बाढीले क्षति पुर्‍याएको छ। 

नेपालगन्जमा टमटर प्रति किलो १२० रुपैयाँदेखि १३० रुपैयाँसम्म पुगेको नेपालगन्जस्थित रानी तलाउ तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ। 

नेपाल र भारतका किसानको तरकारी बालीमा बाढी पसेर सखाप पारेपछि नेपालगन्जमा तरकारीको खडेरी परेको रानी तलाउ तरकारी वजार ब्यवस्थापन समितिका अध्यक्ष निरन्जनसिंह सोँडीले बताए। उनले गाउँबाट तरकारी नआएका कारण महँगिएको जानकारी दिए। ‘सबै तरकारीको मूल्य ५० देखि ६० रुपैयाँ प्रति किलोका दरले वृद्धि भएको छ’, उनले भने।

रानी तलाउ तरकारी बजारमा परवर प्रति किलो १००, करेला ९०, भन्टा ७०, मूला ९०, खुर्सानी १००, फर्सी ६० र बोडी ९० रुपैयाँका दरले बिक्री भइरहेको व्यापारी सलाउद्दिन कवडियाले बताए। उनले काउली प्रति किलो १०० रुपैयाँ र धनियाँ प्रति मुठा ४० रुपैयाँका दरले बिक्री भइरहेको जानकारी दिए। 

मूल्य बढेपछि बिक्री गर्न समस्या
टमटरको मूल्य भने प्रति किलो १०० रुपैयाँभन्दा बढीले वृद्धि भएको तरकारी व्यापारीले बताएका छन्। तरकारीको मूल्य वृद्धि भएपछि बिक्री गर्न समस्या भएको रानी तलाउ तरकारी बजारका व्यापारी सिराज राईले बताए। उनले बढेको मूल्यमा तरकारी बिक्री गर्न गाह्रो हुने गरेको बताए। ‘मूल्य सुनाउनै अप्ठ्यारो लाग्छ, तर के गर्ने ग्राहकलाई मूल्य नसुनाएर हुँदैन’, उनले भने। 

कतिपय ग्राहक मूल्य सुनेर नकिनेरै फर्किने गरेको अर्का व्यापारी सफिक राईले बताए। उनले तरकारीको मूल्य बढेपछि ग्राहकहरू समेत कम आउने गरेको गुनासो गरे। ‘तरकारीको भाउ बढेर किन्नै नसक्ने छ, मूल्य सुन्नासाथ ग्राहक झस्किन्छन्’, उनले भने।

तरकारी महँगो भएपछि भान्छा पनि महँगो भएको नेपालगन्ज उपमहानगरपालिका– ९, शान्तिनगरका देवराज न्यौपानेले बताए। उनले तरकारी महँगिएपछि किनेर खाने अवस्था नरहेको बताए। २०० भन्दा कम रुपैयाँमा एक छाक तरकारी नआएको उनले बताए। ‘गरिवले त तरकारी किनेर खान सक्ने अवस्था नै छैन’, उनले भने। 

तरकारीको मूल्य केही दिन स्थिर रहन सक्ने
तरकारीको मूल्य भदौ महिनाभर नघट्ने स्थानीय व्यापारीले बताएका छन्। भारतबाट तरकारी आउन थालेपछि केही कमी भए पनि यो महिनाभर महँगो रहिरहने संभावना रहेको तरकारी व्यापारी मेराजुद्दिन खाँले बताए। 

उनले यहाँ लगाइएको तरकारीमा बाढीले क्षति पुर्‍याएको र नयाँ तरकारी उत्पादन भइनसकेकाले भदौ महिनाभर तरकारीको मूल्य नघट्ने बताए। ‘नयाँ तरकारी बजारमा नआउँदासम्म तरकारीको भाउ घट्ने संभावना छैन’, उनले भने। 

जिल्ला कृषि विकास कार्यालयले पनि केही दिनसम्म तरकारीको मूल्य यथावत रहने जनाएको छ। भारतबाट समेत नयाँ तरकारी आउने संभावना नरहेको जिल्ला कृषि विकास कार्यालयका प्रसार अधिकृत धनबहादुर पुनले बताए। ‘बाढीले क्षति पुर्‍याएपछि तरकारीको अभाव छ, अभाव भएपछि महँगो हुनु स्वाभाविकै हो’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.