|

दाङ : साउन अन्तिम साताको बाढी र डुबानबाट पीडित भएकाहरुलाई जिल्ला प्रशासन कार्यालय दाङले मंगलबारबाट राहत बाँड्न थालेको छ। जिल्ला प्रशासन कार्यालयले घर पूर्णरुपमा बगेकाहरुलाई नगद राहत बाड्न सुरु गरेको हो। 

पहिलो दिन चार स्थानीय तहमा १९ लाख २५ हजार ८ सय रुपैयाँ वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए। उनले राजपुर गाउँपालिका र लमही नगरपालिकाका बाढी तथा डुवान प्रभावितलाई आफैंले नगद राहत हस्तान्तरण गरे। 

लमहीमा पूर्णरुपमा घर भत्किएका २३ र राजपुर गाउँपालिकाका १६ घरलाई प्रति घर १० हजारका दर राहत बाँडिएको उनले जानकारी दिए। लमहीका २३ घरका प्रत्येक व्यक्तिलाई खाना बापतको एक महिनाका ७० रुपैयाँका दरले २१ सय रुपैयाँ गरी घर र व्यक्तिको लागि २ लाख ३० हजार रुपैयाँ वितरण गरिएको श्रेष्ठले बताए।

त्यसैगरी, राजपुरमा भत्किएका १६ घर र तिनका परिवारलाई ३ लाख १३ हजार ३ सय रुपैयाँ वितरण गरियो। उता दंगिशरण गाउँपालिकामा ३३ घर पूर्णरुपमा भत्किएको थियो। यहाँका १ सय ५६ जना व्यक्तिलाई ६ लाख ५७ लाख ६ सय रुपैयाँ प्रदान गरियो। बबई गाउँपालिकामा पनि आजै राहत वितरण गरियो।

त्यहाँका ३७ घर र व्यक्तिलाई नगद ७ लाख २४ हजार ९ सय रुपैयाँ वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।
बाढी र डुबानबाट पीडित बनेकालाई केन्द्र सरकारले ४० लाख रुपैयाँ राहत रकम पठाएको छ।

जिल्लामा बाढीका कारण ७ जनाको मृत्यु भएको छ भने २ सय ९३ घर पूर्णरुपमा भत्किएका छन्। १ हजार ८२ जना बिस्थापित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.