|

काठमाडौं : बुधबारदेखि सबै प्रदेशमा एआइजीहरूले कमान्ड सम्हाल्ने भएका छन्। प्रहरी प्रधान कार्यालयले सातै प्रदेशमा खटाइएका एआइजीलाई रमाना दिएको छ। प्रदेश नं. २ र ५ मा कहाँ कार्यालय राख्ने टुंगो नलाग्दा एआइजीहरू कार्यक्षेत्रमा गएका थिएनन्।

सोमबार गृहले प्रदेश नं. २ को जनकपुर तथा ५ को दाङमा प्रदेश प्रहरीको कार्यालय राख्ने निर्णय गरेपछि एआइजीहरू खटिन लागेका हुन्। गृहले प्रदेश प्रहरीको कार्यालय राख्ने स्थानको बारेमा निर्णय गरी जानकारी पठाएको प्रहरी प्रवक्ता डिआईजी मनोज न्यौपानेले बताए।

५ नम्बर प्रदेशमा तुलसीपुरस्थित संघीय प्रहरी इकाईको कार्यालय (पहिलाको अञ्चल प्रहरी कार्यालय) मा प्रदेश प्रहरीको कार्यालय राख्ने तय भएको छ। सोही अनुसार तयारी गरिएको छ। तर २ नम्बर प्रदेशमा एआईजीको कार्यालय र निवास दुवै तय गरिएको छ। एआईजीको गाडी मंगलबार नै पठाइएको छ, तर एआईजी बस्ने ठाउँ भने तय भएको छैन। आफूहरुले प्रदेश प्रहरीको कार्यालयका लागि भाडाको घर खोजेपछि नमिलेको एसएसपी सुभाषचन्द्र चौधरीले बताए। अन्य ५ वटा प्रदेशमा भने पहिला क्षेत्रीय प्रहरी कार्यालय रहेकै ठाउँमा प्रदेश प्रहरीको कार्यालय रहन्छन्।

१ नम्बरको विराटनगर, ३ नम्बरको हेटौंडा, ४ नम्बरको पोखरा, ६ नम्बरको सुर्खेत तथा ७ नम्बरको धनगढीमा प्रहरी प्रहरीको कार्यालय रहनेछन्। संघीय प्रहरी ऐन नबन्दै एआईजीलाई प्रदेश इन्चार्जमा खटाइएको भन्दै आलोचना भइरहेको छ। सरकारले १ नम्बरमा पशुपति उपाध्यय, २ नम्बरमा विजयलाल कायस्थ, ३ नम्बरमा केशरीराज घिमिरे, ४ नम्बरमा कमलसिंह बम, ५ नम्बरमा मिङ्मार लामा, ६ नम्बरमा रणबहादुर चन्द तथा ७ नम्बर प्रदेशमा विजय भट्टलाई खटाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.