|
गत बिहीबार चितुवाको आक्रमणबाट घाइते मेलौली नगरपालिका-९ की कुन्धादेवी भट्ट।

बैतडी : चितुवाको आक्रमण नरोकिएपछि  बैतडीको तल्लोसोराडमा फेरि प्रहरी परिचालन गरिएको छ। चितुवा मार्न प्रभावित हतियारसहित प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

गत शनिवारदेखि ४ सय मिटर टाढासम्म मार हान्न सक्ने राइफल, एसएलआर लगायतका हतियारसहित १७ जना प्रहरी परिचालन गरेको प्रहरी निरीक्षक कमल विष्टले बताए। ‘केही समय निष्क्रिय रहेको चितुवा फेरि मानवबस्तीमा पसेको छ,’ प्रहरी निरीक्षक विष्टले भने, ‘चार सय मिटर मार हान्न सक्ने हतियारसहित १७ जना प्रहरीको गस्ती सुरु भएको छ।’

प्रहरी सहायक निरीक्षक दशरथ भट्टराईको नेतृत्वमा प्रहरी टोली मेलौली नगरपालिका–९ मा गस्ती गरिहेको छ। गत बिहीबार मात्रै उक्त वडामा स्थानीय कुन्धादेवी भट्टलाई घाँस काट्ने क्रममा चितुवाले आक्रमण गरेको थियो।

चितुवा मार्नका लागि पहिलोपटक प्रहरी परिचालन गएिको भने होइन। गतवर्ष पनि १५ जना प्रहरी हतियारसहित परिचालन गरिएको थियो। तर, उक्त टोली चितुवा मार्न असफल भएको थियो। स्थानीय प्रशासन र प्रहरीबीचको समन्यवमा चितुवा मार्न प्रहरी परिचालन गर्ने गरिएको छ। 

६ वर्षमा २३ जना खायो

विगत ६ वर्षको अवधिमा तल्लोसोराडमा २३ जनाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन्।  ०६८ देखि हालसम्म चितुवाको आक्रमणबाट २३ जना सर्वसाधारणले ज्यान गुमाए भने १४ जना घाइते भए।  

०६८ देखि चितुवाले तल्लोस्वराड क्षेत्रमा आक्रमण गर्न सुरु गरेको तथ्यांक छ। जिल्ला वन कार्यालय बैतडीको तथ्यांकअनुसार चितुवाले तल्लोस्वराडमा ०६८ देखि ०७२ सम्म २१ जनाको ज्यान लिएको छ भने ०७३ मा २ जनाको ज्यान लिइसकेको छ। मृत्यु हुनेमध्ये विशालपुरमा १० जना, पञ्चेश्वर र आमचौराका ३÷३, उदयदेवका ४ जना र कुलाउ, गिरेगाडा र शर्मालीका  एक÷एक जना रहेको जिल्ला वन कार्यालय बैतडीले जनाएको छ। मृत्यु हुने १९ जना १५ वर्षमुनिका बालबालिका छन्।

त्रसित छ तल्लोसोराड

गत वर्ष मात्रै चितुवाले उदयदेवमा २ बालिकाको ज्यान लिएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा झनै त्रसित बनेका छन्। एकपछि अर्को गर्दै लगातार चितुवाले आक्रमण गर्न थालेपछि तल्लो सोराडका बस्तीमा अहिले साँझ नपर्दै भित्रिने सुरसार चल्छ।

चितुवाले घर आँगन र घरभित्रै पसेर आक्रमण गरेपछि स्थानीय बासिन्दा अझ बढी त्रसित भएका हुन्। ‘घरआँगनै असुरक्षित भएपछि बिहानै बालबालिकालाई विद्यालय पठाउन पनि समस्या भो,’ उदयदेवका स्थानीय शिवराज साउदले भने, ‘बालबालिका र महिला बढी जोखिममा पर्न थाले।’

तल्लोस्वराडको कुलाउ, विशालपुर, आमचौरा, पञ्चेश्वर, शर्माली, उदयदेव लगायतका क्षेत्रमा चितुवा बढी सक्रिय हुने गरेको छ। त्यस क्षेत्रका नागरिकलाई रातीको समयमा दिशापिसाब गर्न आफ्नै आँगनमा रहेको शौचालय जान पनि नसकिने अवस्था रहेको उनले बताए।

वन्यजन्तु विशेषज्ञको टोलीले आहारको कमी, घरआँगन अँध्यारो हुनुलगायत कारणले चितुवा हिंस्रक भएको औंल्याएको थियो। उक्त तथ्यका आधारमा वन कार्यालयले सुरक्षाका लागि पीडित परिवारलाई सोलार वितरणका साथै विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर, चितुवाको आक्रमण रोकिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.