विचार

चुल्ठो काटिने घटनाको मनोवैज्ञानिक पक्ष
SHARES

भदौ १५, २०७४

    केही हप्तादेखि भारतका राजस्थान, हरियाणा, दिल्ली, उत्तर प्रदेशलगायतका सात राज्यमा एकाएक अज्ञात चिजले महिलाहरूको कपाल काटिदिएका घटनाहरू बाहिर आए। तर सबै घटनाका सन्दर्भमा कोही पीडितले पनि निक्र्योसँग कसले कपाल काटिदियो भन्न सकेनन्। 

    अधिकांश घटनाहरूमा महिलाको शिर कसैले पछाडिबाट तानेको महसुस भएको, तिनीहरू बेहोस भएको अनि होस आएपश्चात आफ्नो कपाल काटिएको अवस्थामा पाउने गरेको बताए। केही दिनसम्मै जोरले टाउको दुख्ने, कमजोरी हुनेलगायतका कुराहरू बाहिर आए। तर केही दिनयता छिमेकी मुलुकको यो समस्या दुरुस्तै रूपमा नेपालका बारा, पर्सा, रौतहट, रूपन्देही, कपिलवस्तुलगायतका तराईका जिल्लाहरूमा देखिएका छन्। 

    महिलाको कपाल काटिने यो विषय भारतीय जनताले यति गम्भीर रूपमा लिए कि एक जना महिलाको त कपाल काट्ने चुँडेल भनेर हत्यासम्म गरे। पछिल्लो समय कतिपयले चीनले जैविक हमला स्वरूप कपाल काट्ने कीराहरू छोडेको छ भन्नेसम्म दाबी गरे। जहाँजहाँ समस्या देखियो, त्यहाँ रातरातभर स्थानीयले पहरा दिने गरे तर कसैले कपाल काट्ने मान्छे वा अरू कोही दैवी शक्ति देखेनन्। कपाल काटिने घटनाहरूले निरन्तरताचाहिँ पाई नै रहे। भारतीय सञ्चार माध्यमहरूमा निकै चर्काचर्की बहस गराइयो तर रहस्यको पर्दाफास हुन सकेन। 

    एकैछिन यो विषयलाई रोकेर गरेर यस्तै प्रकृतिका अन्य घटनाहरूमा जाऔँ। 

    घटना नं. एक 
    सन् १५१८ को जुलाईमा फ्रान्सको स्ट्रासबर्गमा फ्राउ ट्राफ्फेए नामकी एक महिला सडकको बीचमा नाचिन्। त्यसपछि एकपछि अर्को गर्दै एक महिनासम्ममा ४०० जना मनिस सडकमा नाच्न थाले। यसरी नाच्दाचाच्दै केही मानिसको त हृदयाघात, थकान, मस्तिष्कघात आदिका कारण मृत्यु नै भयो। 

    घटना नं. दुई 
    सन् १९६२ जनवरी ३० का दिन तान्जेनियाको कासासामा महिलाहरूका एक विद्यालयमा सर्वप्रथम तीनजना किशोरीहरू हाँस्न थाले। त्यसपछि एकपछि अर्को गर्दै १५९ विद्यार्थीमध्ये ९५ जना हाँस्न थाले। मार्च १८ मा सो विद्यालय बन्द गरियो। तर विद्यालय बन्द गरेपश्चात केही विद्यार्थीहरूको घर भएको ठाउँ न्साम्बा गाउँमा अप्रिल र मे महिनामा २१७ किशोरीहरू  हाँस्न थाले। जुन महिनामा बुकोबा नजिकैको रामसेन्ये गल्र्स मिडिल स्कुलमा पनि यस्तै प्रकृतिको घटना भयो, जहाँ ४८ जना किशोरीहरू हाँस्न थाले।

    यस्तै घटना आसपासका केही विद्यालयहरूमा पनि देखिएका करण निश्चित समयका लागि केही विद्यालयहरू बन्द गरिए। ती किशोरीहरू केही घण्टादेखि, कोहीकोही त १६ दिनसम्म हाँसेर गम्भीर बिरामी परे। 

    घटना नं. तीन
    सन् १९६७ मा सिंगापुरमा रहेका चिनियाँ समुदायका युवाहरूले आफ्नो लिंग खुम्चिँदै गएको र यसरी खुम्चिँदै गएमा लिंग शरीरभित्रै छिरेर आपूmहरू मर्ने त्रासका करण विभिन्न वस्तुहरूको प्रयोग गरेर लिंगलाई तन्काउने कार्य गरे। तर मेडिकल परीक्षणहरूमा त्यस्तो समस्या केही देखिएको थिएन। केही समयपछि यो समस्या आफैँ हराएर गयो। 

    घटना नं. चार
    सन् २०१६ मा पोर्चुगलमा मोरन्गोस कम एकुकार (अर्थात चिनीको साथमा स्ट्रबेरीहरू) नामको किशोरीहरूका लागि बनाइएको सिरियल निकै चर्चित भयो। त्यो सिरियलमा एक पात्रलाई लागेको काल्पनिक रोगको जस्तै लक्षणहरू १४ विद्यालयका ३०० जनाभन्दा बढी विद्यार्थीहरूमा देखापर्‍यो। छालामा डाबर आउने, स्वास फेर्न अप्ठ्यारो हुने, शरीर कामेर बेहोस हुनेजस्ता ज्यादै खतरापूर्ण लक्षणहरू देखापरेपछि निश्चित समयका लागि केही विद्यालयहरू बन्द गरियो।

    अब हामीले भोगेका, हाम्रै मुलुकमा घटेका घटनाबारे कुरा गरौँ।

    घटना नं. पाँच 
    सन् १९९५ सेप्टेम्बर २१ एक पुजारीले गणेशको मूर्तिमा दूध चढाउने क्रममा मूर्तिको सुँडमा चम्चाद्वारा दूध खुवाउँदा दूध विलय भयो। यो घटना यति छिटो फैलियो कि त्यसको भोलिपल्ट भारत र नेपाललगायतका हिन्दूहरूले घण्टौँ लाइन बसीबसी गणेशको मूर्तिको सुँडमा चम्चाले दूध खुवाउन थाले। अक्टोवरको पहिलो हप्तासम्म आइपुग्दा भक्तजनहरूले दूध खुवाउन छाडे।

    घटना नं. छ 
    केही वर्ष अगाडि भारत र नेपालको सिमाना आसपासमा बच्चा चोरी हुने गरेको हल्ला व्यापक चल्यो। विभिन्न ठाउँमा अपरिचित महिलाहरूलाई बच्चा चोरको आरोपमा स्थानीयहरूले सांघातिक हमला नै गरे। तर पछि यो घटना पनि त्यसै सेलाएर गयो। तर बच्चा चोरेका घटनाका सन्दर्भमा प्रहरीको अनुसन्धानले केही पुष्टि गर्न सकेन।

    घटना नं. सात
    वि. सं. २०४५ तिर काठमाडौँमा एउटा हल्ला फैलियो। तरबार बोकेका एक हुल जत्था भारतबाट आएका छन् र तिनले रातीराती मानिसहरूलाई तरबारले हमला गर्छन्। केही मानिसहरू त्यस्ता घटनामा मारिएका पनि यदाकदा सुनिन्थ्यो। मान्छेहरू यति त्रसित भए कि घरघरमा रातभर जाग्रम बस्न थाले। रातरातभर पुलिसले विभिन्न ठाउँमा गस्ती दिन थाले। तर कोही अपराधी समातिएनन्। केही समयपश्चात यो हल्ला त्यसै सेलाएर गयो। 

    विश्वमा हजारौँका संख्यामा यस्ता प्रवृत्तिका घटनाहरू भएका छन्। तर ती घटनाको अनुसन्धान गर्दै जाँदा ठोस केही पनि हात लाग्दैन। अनि केही समयपश्चात यस्ता समस्या आफसे आफ हराएर जान्छन्। यस्ता घटनाहरूलाई अनुसन्धानकर्ताहरूले ‘मास हिस्टेरिया’ अर्थात् सामूहिक भ्रान्तिका घटनाहरू हुन् भनेर भन्ने गरेका छन्। 

    भरतका केही राज्य र नेपालको तराई भागमा महिलाका कपाल काटिएका घटना पनि यस्तै घटनाहरूको सिलसिला नहोला र! यो विषयमा केही समयपछि कुरा गरौँला तर पहिला केही कुरा प्रष्ट्याउनु उपयुक्त हुनेछ। 

    हरेक मानिसको मनमा विभिन्न खालका संवेगहरू छन्। त्यस्ता संवगेहरू प्राकृतिक हुन्। तर मानिस व्यतिm मात्रै होइन, समाजिक प्राणी पनि हो। समाज मानिसहरूले संयुक्त रूपमा निर्माण गरिएको एक अवधारणा हो। हामीले हाम्रो समाजको यस्तो रूपरेखा तयार पारेका छौँ, जहाँ हामीले हाम्रा संवेगहरूलाई दबाउन जरुरी हुन्छ। यसो नगरेमा हामीलाई असामाजिक तत्त्वको बिल्ला भिराएर बहिष्कार गरिने पक्का छ। 

    तर यति हुँदाहुँदै पनि हामीभित्रको संवेग जबर्जस्त छ। हाम्रो मस्तिष्कमा संवेगहरूले भरिएको स्वाभाविक मानिस र आफ्नै सामाजिक व्यक्तिबीच सधैँ द्वन्द्व चलिरहेको हुन्छ। त्यही द्वन्द्वका कारण हाम्रो मस्तिष्कमा हिंसा छ। डरभाव र तनाव व्याप्त छ। 

    हामीभित्रका यस्ता नकारात्मक भावहरूलाई व्यवस्थापन गर्ने सन्दर्भमा हाम्रो मस्तिष्कले समाजले स्वीकारेको वैधानिक निकास खोज्छ। अन्तरमुखी (स्वपीडक) वा बहिरमुखी (परपीडक) मानिसको प्रवृत्तिअनुसार यस्ता नकारात्मक ऊर्जा कि त अरूमाथि गरिने हिंसाका रूपमा निस्कन्छन् कि शारीरिक वा मानसिक रोगका रूपमा आफ्नै शरीरमाथि गरिने हिंसाका रूपमा निस्कन्छन्। 

    आजसम्म भएका हजारौँ घटनालाई केलाउँदा उननसय प्रतिशत अवस्थामा ‘मास हिस्टेरिया’ महिलालाई हुने गरेको पाइन्छ। त्यसमा पनि किशोरीहरूलाई धेरै हुने गरेको छ। विशेषगरी महिलाहरूले आफ्ना भावनात्मक संवेग दबाउने, मनमा लागेका कुराहरू नबताउने अनि उनीहरूको अन्तरमुखी र स्वपीडक स्वभावका कारण यस्तो हुने गरको यो विषयका अध्येताहरूको मत छ।

    मुलुकको नाममा, राष्ट्रियताका नाममा, पहिचानको नाममा, अधिकारको नाममा, धर्मको नाममा, शान्तिको नाममा इत्यादि अवस्थामा अरूमाथि गरिने हिंसाहरूले सामाजिक वैधानिकता पाउनुका कारणले यस्ता अवसरहरूमा मानिसको आकर्षण हुन्छ। तर स्वपीडक प्रवृत्तिका मानिसहरूले यस्तो वैधानिक अवसर कम पाउँछन्। व्यक्तिगत तवरमा देखापर्ने शरीरिक र मानसिक रोगले सामाजिक वैधानिकता त पाउँछ, तर पर्याप्त खर्च लाग्ने, घरपरिवारले बोझका रूपमा लिइदिने जस्ता समस्या हुन्छ।

    मानसिक रोगका सन्दर्भमा त झनै सामाजिक दुर्व्यवहार नै सहनुपर्ने हुन्छ। यसकारण मानिसले आफूमाथि गरिने हिंसाका सन्दर्भमा पनि समाजले स्वीकार्ने वैधानिक उपायको खोजी गर्दछन्।  

    उदाहरणका लागि, कुनै मानिस भर्‍याङबाट लड्यो। उसको हात चल्न छोड्न सक्छ। मेडिकल परीक्षणमा उसको हात नचल्नुपर्ने कुनै समस्या नै हुँदैन तर बिरामीले हात चलाउनै सक्दैन। यस्तो अवस्थामा भर्‍याङबाट लड्नु सम्बन्धित मानिसका लागि आफैँमाथि गरिने हिंसाको वैधानिक मौका हो। यस्तो अवस्थालाई मनोविज्ञानले ‘कानभर्सन डिसअर्डर’ भन्छ।

    अर्को अर्थमा भर्‍याङबाट लड्ने मानिसको मस्तिष्कले मनोवैज्ञानिक तनाव र दबाइएको भावनात्मक संवेगलाई भर्‍याङबाट लड्ने घटनालाई आधार बनाएर शरीरमा प्रक्षेपित गरेको हो। यहाँ उल्लेखित ‘कानभर्सन डिसअर्डर’को सवालमा बिरामीले हात चलाउन नसक्नु बिरामीको लागि सत्य त हो तर वास्तवमा यो मनको भ्रान्तिकै कारण उसलाई सत्य लागेको हो। यस्तो समस्या मनोवैज्ञानिक परामर्शबाट निको हुन्छ। कुनै उचित घटनालाई आधार बनाएर ‘कानभर्सन डिसअर्डर’ अकस्मात हुन्छ।

    कुनै व्यक्तिलाई हुने मनोवैज्ञानिक भ्रान्तिलाई ‘कानभर्सन डिसअर्डर’ भनिन्छ भने यदि कुनै समूहलाई यस्तो मनोवैज्ञानिक भ्रान्ति भएमा त्यसलाई ‘मास हिस्टेरिया’ अर्थात सरल भाषामा सामूहिक भ्रान्ति भनिन्छ। ‘मास हिस्टेरिया’ कुनै सत्य वा झूट कुरालाई लिएर हुने सामूहिक भ्रान्ति हो, जुन हल्ला र त्रासका कारण फैलिन्छ। मेडिकलको भाषामा भन्नुपर्दा अपर्झट रूपमा कुनै समाजका केही मानिसका शरीरमा एकै प्रकारको रसायनको विकास भई उस्तै खालको लक्षण देखाउनु हो। 

    ‘मास हिस्टेरिया’ किन हुन्छ भन्ने सन्दर्भमा (माथि उल्लेखित गरिएको भर्‍याङबाट लडेको घटनाले जस्तै) यो हामीभित्रको दबाइएर राखेको संवेगले सहज निकास पाउने वैधानिक उपायको खोजीका कारण हुने गरेको हो। ‘मास हिस्टेरिया’ उस्तै खालका मूल्य मान्यता भएका मानिसहरूमा हुन्छ अर्थात दबाइएको भावनात्मक संवेगको प्रवृत्ति मिल्दो हुँदा यस्तो हुने गर्छ। ‘मास हिस्टेरिया’ सामूहिक रूपमा मनोसामाजिक तनावलाई विर्सजन गर्ने उपाय हो। 

    ‘मास हिस्टेरिया’का सन्दर्भमा पहिलो एक वा दुई घटना कुनै वातावरणीय वा अन्य कुनै कारणले बिरामी पर्छु कि भन्ने त्रासका कारण हुन्छ। तर त्यसपछिका घटनाहरू चाहिँ पीडित व्यक्तिलाई अर्को व्यक्तिले देख्दा हुन्छ। ‘मास हिस्टेरिया’का सवालमा सबै पीडितहरूमा उस्तै प्रवृत्तिका लक्षणहरू देखापर्छन्।

    ‘मास हिस्टेरिया’ तनावलाई विसर्जन गर्ने उपाय भएकै कारण ‘मास हिस्टेरिया’का पीडितहरूले निको भएपश्चात बिरामी हुनुपूर्वको अवस्थाभन्दा तनावरहित अवस्था अनुभूत गर्छन्।

    एउटालाई लागेको भ्रान्ति अर्कोमा कासरी सर्छ भन्ने सन्दर्भमा केही कुरा उल्लेख गर्नु जरुरी छ। हाम्रो मन यही समाजकै उपज हो। सबै हिन्दूसँग हिन्दू हुनुको अनुभूति छ। सबै नेपालीसँग नेपाली हुनुको अनुभूति हुन्छ। सबै युवकसँग युवा हुनुको अनुभूति छ। यस्तै अनुभूतिहरूले हाम्रो मन बनेको हुन्छ। तसर्थ हामी मानसिकस्तरमा समाजसँग जोडिएका छौँ। मस्तिष्क केही व्यक्तिगत भए पनि ठूलो अनुपातमा सामूहिक हो भन्ने विषयमा पनि केही वैज्ञानिक अनुसन्धानहरू केन्द्रित हुँदै छन्।

    अझै ‘मास हिस्टेरिया’को सन्दर्भमा ‘टेलिप्याथिक कम्युनिकेसन’बाट एक बिरामीको रोग अर्कोमा सरेको हुनसक्छ। वैज्ञानिक अनुसन्धानले पनि ‘टेलिप्याथिक कम्युनिकेसन’ पनि ‘मास हिस्टेरिया’ जस्तै उस्तै सोच भएका मानिसमा हुने गर्दछ भन्ने कुराको पुष्टि गरेको छ। 

    हामीलाई कोही अर्कोमाथि घटेको घटना हामी आफैँमाथि भइरहेको जस्तो हुन सक्छ। हाम्रो मस्तिष्कमा ‘मिरर न्यूरोन’ नामका कोषिका हुन्छन्। जब अरू कोही मानिस कुटिँदै गरेको हुन्छ, ‘मिरर न्यूरोन’ सक्रिय भएको अवस्थामा त्यो घटना हामी आफैँमा भइरहेको जस्तो महसुस हुन्छ। उदाहरणका लागि, ‘मिरर न्यूरोन’ सक्रिय भएको अवस्थामा, कुटाइ खाँदै गरेको व्यक्ति र कुटाइ खाँदै गरेको देख्ने व्यक्तिको मस्तिष्कलाई स्क्यानिङ गरेर हेर्दा मस्तिष्कको उही भाग सक्रिय भएका हुन्। अनेकन वैज्ञानिक परीक्षणहरूले यस्तो अवस्थाको पुष्टि गरिसकेका छन्। ‘मास हिस्टेरिया’का सन्दर्भमा पनि मस्तिष्क विज्ञानको यस्तो पाटोलाई ध्यान दिएर अनुसन्धान गरिनु जरुरी देखिन्छ।

    आजसम्म भएका हजारौँ घटनालाई केलाउँदा उननसय प्रतिशत अवस्थामा ‘मास हिस्टेरिया’ महिलालाई हुने गरेको पाइन्छ। त्यसमा पनि किशोरीहरूलाई धेरै हुने गरेको छ। विशेषगरी महिलाहरूले आफ्ना भावनात्मक संवेग दबाउने, मनमा लागेका कुराहरू नबताउने अनि उनीहरूको अन्तरमुखी र स्वपीडक स्वभावका कारण यस्तो हुने गरको यो विषयका अध्येताहरूको मत छ। त्यसमाथि पीडितका अभिभावक र आफन्तजनले ‘मास हिस्टेरिया’का घटनाहरूलाई डर र तनावसँग नजोडेर अलौकिक शक्ति, भूतप्रेत, बोक्सीको प्रभावलगायतका कुराहरूको शंका गरेर बिरामीमा झनै तनाव र त्रास पैदा गर्ने गरेका हुन्छन्।  

    अहिले देखिएको महिलाहरूको कपाल काटिने समस्या कसरी ‘मास हिस्टेरिया’ हो? भन्ने विषयमा फर्कौं। प्रवृत्तिगत रूपमा ‘मास हिस्टेरिया’ फरकफरक किसिमको हुन सक्छ। तर धेरै अवस्थामा ‘मास हिस्टेरिया’मा मस्तिष्कमा भएको डर भाव र तनाव शरीरमा प्रक्षेपित गरिएको हुन्छ। ‘मास हिस्टेरिया’ भएका मानिसहरूको शरीरमा विभिन्न खालका रसायन विकास भई त्यसले पीडितको शरीरमा विभिन्न खालको नकारात्मक प्रभाव पर्न सक्छ।

    अहिले देखिएको कपाल काटिने अवस्थाको कुरामा पनि शरीरमा केही रसायन विकास भई कपाल झरेको हुन सक्छ। यस्ता कपाल झरेका पीडितहरूले भनेका धेरैजसो समस्याहरू, जस्तैः आँखामा अन्धकार छाउनु, कसैले कपाल तानेको जस्तो हुनु, रिङटा लाग्नु, टाउको दुख्नु आदि सबै शरीरमै केन्द्रित छन्। धेरै अवस्थामा ‘मास हिस्टेरिया’मा त्रासको प्रचार हुन्छ अनि अहिले देखिएको समस्याको केन्द्रविन्दु पनि त्रास नै हो।

    ‘मास हिस्टेरिया’ अधिकांश अवस्थामा महिलालाई मात्र हुन्छ, अनि अहिले कपाल झर्ने समस्या पनि सम्पूर्ण रूपमा महिलामा केन्द्रित हुनु यसको अर्को पुष्टि हो। त्यस्तै ‘मास हिस्टेरिया’ उस्तै खालको सामाजिक जीवन जिउँदै गरेकाहरू, जसको दवित संवेदना एकै प्रवृत्तिको हुनुपर्ने सन्दर्भमा पनि अहिले देखिएको पीडितहरूको मनोसामाजिक अवस्था उस्तै खालको छ। 

    त्यस्तै पीडितहरूले निर्क्योल रूपमा कसैलाई आरोप लगाउन नसक्नु, पुलिस प्रशासनको अनुसन्धानले पनि निष्कर्ष निकाल्न नसक्नु जस्ता कुराले अहिले देखिएको यो समस्या ‘मास हिस्टेरिया’ अर्थात् सामूहिक भ्रान्ति हो भन्नेतर्पm इंगित गर्छ। अझै भारतमा थुप्रै पीडितहरू त मेडिकल काउन्सिलिङद्वारा निको भएका पनि छन्।

    पूर्व घटनाका अध्ययनहरूबाट के पुष्टि हुन्छ भने ‘मास हिस्टेरिया’ जहाँ जहिलेसुकै जुनसुकै समुदायमा देखिन सक्छ। पीडितहरूमा हाल देखिएको शरीरिक र मानसिक समस्याहरू कसैमा चाँडो र कसैमा ढिलो निको हुनसक्छ। तर यस विषयका पूर्व अध्येताहरूले के आरोप लगाएका छन् भने, मिडियामा आएर यस्तो घटनाको व्यापक प्रचार हुनुका कारणले भने यस्तो समस्या केही लम्बिन सक्छ।

    यस्तो अवस्थामा आम मानिसले र मिडियाले नचाहिँदो त्रास नफैलाएर संयमित हुने हो भने समस्या समधान छिटो हुने थियो।

महेश श्रेष्ठ

लेखक श्रेष्ठ अध्यात्मबारे कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]