|

काठमाडौं : राजधानीको केन्द्रमा अवस्थित २०१४ सालमा स्थापना भएको श्री केश–चन्द्र विद्यालयमा जम्मा तीन जना विद्यार्थी छन्। यो विद्यालयमा शिक्षक\शिक्षिकाको संख्या भने चार रहेको छ।

विद्यालयमा भर्नाको समयमा १२ जना पुगे पनि विद्यालय नियमित आउने विद्यार्थीको संख्या भने बढीमा तीन जना रहेको विद्यालयकी शिक्षिका विमला पौडेल बताउँछिन्। गुठीको भवनमा रहेको विद्यालयमा विद्यार्थीका लागि चाहिने सामान्य पूर्वाधार शौचालयसमेत छैन।

त्यस्तै, १९१० सालमा स्थापना भएको ऐतिहासिक महत्त्व बोकेको दरबार हाई स्कुलको अवस्था पनि नाजुक छ। दरबार हाई स्कुलमा हाल १ सय ४८ विद्यार्थी अध्ययन  गर्छन्। दरबार हाई स्कुलमा १९ शिक्षकको दरबन्दी रहेको छ।  जंगबहादुर राणा प्रधानमन्त्री भएको समयमा अंग्रेजी भाषा सिकाउने उद्देश्यले स्थापना भई वीर शमशेरले नयाँ शिक्षा प्रणाली लागू गरेर शिक्षा प्रणालीमा परिवर्तन ल्याएका थिए। शिक्षकहरूलाई तालिमको व्यवस्थादेखि लिएर जेहेनदार विद्यार्थी लाई छात्रवृत्तिको व्यवस्था पनि गरेका थिए।

सिनामंगलमा अवस्थित बालपीठ प्राथमिक विद्यालयमा पनि विद्यार्थी छैनन्। ५७ वर्षअघि स्थापना भएको सो विद्यालयमा जम्मा सात विद्यार्थी छन्। २०१६ सालमा स्थापना भएको र कुनै समय २ सय ५० जनासम्म विद्यार्थीलाई पठनपाठन गराएको उक्त विद्यालय अहिले दयनीय अवस्थामा पुगेको छ।

‘भर्नाको समयमा विद्यार्थी खोज्न आफैं जानुपर्ने अभिभावकलाई सन्तान पढाउनुपर्छ भनी सम्झाइबुझाइ गरेपछि मात्र विद्यालय पठाउन सहमत हुन्छन्,’ शिक्षण पेसामा ४० वर्षको अनुभव बोकेका उक्त विद्यालयका प्रधानाध्यापक रामकृष्ण मगरले भने। दैनिक श्रम गरेर रोजीरोटी चलाउने प्लास्टिक बोतल टिपेर दिनचर्या सञ्चालन गर्ने अभिभावकका छोराछोरी मात्र त्यस विद्यालयमा पढ्ने गरेको र छोराछोरी पनि अभिभावकसँगै काम गर्न जाँदा आम्दानी दोब्बर हुने हुँदा सन्तानलाई पढ्न प्रेरित नगरेको र शिक्षाबाट वञ्चित बनाइरहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.