|

धनकुटा : धनकुटा नगरपालिका वडा नं. २ भीरगाउँका डम्बरबहादुर राईले लाखौँ नगद र गहनासहित श्रीमती बेपत्ता भएको भन्दै खोजीका लागि प्रहरीमा निवेदन दिएका छन्। विदेशमा दु:ख गरेर कमाएको पैसा र गहना बोकेर एक साता पहिले हराएकी श्रीमती हालसम्म फेला परेकी छैनन्। विदेशबाट पठाएको ५ लाख नगद र २ तोला सुनसहित श्रीमती बेपत्ता भएपछि उनले प्रहरीमा उजुरी दिएका हुन्। साहुसँग ऋण लिएर विदेशिएका उनी यति बेला चिन्तामा छन्।

यस्तै धनकुटा- ५ की ४४ वर्षीया विन्दु श्रेष्ठ छोरी अस्मितासहित गत साता नै बेपत्ता भएको उजुरी प्रहरीमा परेको छ। उनी पनि श्रीमान टुकबहादुर श्रेष्ठले विदेशबाट पठाएको ५ लाख रुपैयाँ नगदसहित बेपत्ता भएकी हुन्। १० वर्षसम्म विदेशमा कमाएको सम्पत्तिसहित पत्नी बेपत्ता भएको टुकबहादुरले बताए।

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा न‌ं. १ का भीम लिम्बूको पीडा पनि उस्तै छ। आफू विदेशबाट आएलगत्तै लाखौं नगद र गहनासहित श्रीमती बेपत्ता भएकाले खोजी गरिपाउँ भन्दै प्रहरीमा उनले पनि प्रहरीमा निवेदन दिएका छन्। श्रीमती युनिशा लिम्बू अढाई वर्षीय छोरा र ५ लाख रुपैयाँसहित बेपत्ता रहेको उजुरीमा उल्लेख छ। हालसम्म धेरैतिर खोजी गर्दा पनि श्रीमती र छोरा फेला नपरेको भीमले बताए।

माथिका घटना त उदाहरण मात्र हुन्। यिनै घटनासँग मिल्दाजुल्दा दर्जनौं उजुरी जिल्ला प्रहरी कार्यालय धनकुटामा दैनिकजसो पर्ने गरेका छन्। अधिकांश बेपत्ताको खोजी गरिदिन परेका उजुरीमा विदेश गएका पुरुषका पत्नी रकमसहित बेपत्ता भएको हुने गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए। ‘हामी अचम्मै परिसक्यौं,’ उनले भने, ‘दिनप्रतिदिन यस्ता घटना लिएर आउनेको संख्या बढिरहेको छ।’

जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका कक्षमा कार्यरत प्रहरी जवान तीर्था परियार विदेश गएर फर्किएका धेरै श्रीमान् श्रीमतीबाट पीडित बन्ने गरेको बताउँछिन्। बेपत्ताको उजुरी परेकामध्ये केही मात्र फेला पर्ने गरेको परियारले बताइन्। ‘फेला पर्दा पनि पतिले पठाएको पैसा सकिएको अवस्थामा भेटिन्छन्’, उनले भनिन्, ‘विश्वासको वातावरण टुटेपछि सम्बन्धविच्छेद हुने क्रम बढ्दो छ।’

एकै महिनामा बेपत्ता भएका १८ मध्ये ९० प्रतिशत महिला रहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ। त्यसमध्ये पनि विदेशबाट फर्केर आएका पतिले सम्पत्तिसहित बेपत्ता भएका पत्नीको खोजीका लागि उजुरी साथ पेस गरेका तस्बिर अधिक छन्। प्रहरीको महिला तथा बालबालिका कक्षमा गत साउनदेखि हालसम्म २६ जना महिला बेपत्ता भएको उजुरी परेको छ।

गत वर्ष जिल्लामा यस्तै प्रकृतिका ८४ वटा उजुरी परेको थियो। बेपत्तामध्ये कतिपयले अन्य पुरुषसँग विवाह गरेको अवस्थामा फेला पर्ने गरेको प्रहरीको भनाइ छ। यसैगरी पछिल्लो चरणमा महिलाहरु राजीखुसीले होटलमा गएर बस्ने र पछि जबरजस्तीकरणी मुद्दा दर्ता गराउन आउने प्रवृत्ति पनि बढेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरी निरीक्षक अधिकारी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.