सभामुख घर्ती, ओली, प्रचण्ड र उपेन्द्रको निर्वाचन क्षेत्रै हरायो

|

काठमाडौँ: निर्वाचन क्षेत्र निर्धारण आयोगले हाल कायम रहेका २४० निर्वाचन क्षेत्रलाई घटाएर १६५ मा झारेसँगै ७५ जना नेताले आफू निर्वाचित भएको निर्वाचन क्षेत्र नै गुमाएका छन्। 

आयोगले जनसंख्या र भूगोललाई आधार बनाउँदै ७५ वटा निर्वाचन क्षेत्र घटाएपछि सभामुख ओनसरी घर्तीमगरदेखि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पमकमल दाहाल प्रचण्डसम्मले आफ्नो निर्वाचन क्षेत्र गुमाएका हुन्। माओवादी केन्द्रको तर्फबाट रोल्पा- २ बाट निर्वाचित सभामुख घर्तीको गृहजिल्ला रोल्पामा एउटा मात्र निर्वाचन क्षेत्र निर्धारण भएपछि आफ्नो निर्वाचन क्षेत्र गुमाएकी हुन्। 

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि झापा- ७ बाट निर्वाचित सांसद हुन्। तर झापामा पाँचवटा मात्र निर्वाचन क्षेत्र कायम भएपछि नयाँ निर्वाचन क्षेत्र ओलीले रोज्नुपर्नेछ। झापाको ६ नम्बर क्षेत्रबाट निर्वाचित सांसद दीपक कार्कीले पनि आफ्नो निर्वाचन क्षेत्र गुमाएका छन्।

सिरहामा आयोगले चारवटा मात्र निर्वाचन क्षेत्र हुने निर्णय गरेपछि सिरहा- ६ बाट निर्वाचित माओवादी केन्द्रका अध्यक्ष दाहालको निर्वाचन क्षेत्र पनि हराएको छ। छवटा निर्वाचन क्षेत्र भएको सुनसरीलाई आयोगले चारवटा क्षेत्रमा झारेपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको निर्वाचिन क्षेत्र पनि हराएको छ। यादव सुनसरी- ५ बाट २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए।

कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला, भीष्मराज आङ्देम्वेले क्रमश: मोरङ- ७ र पाँचथर- २ बाट सांसद निर्वाचित थिए। तर मोरङमा छ र पाँचथरमा एक निर्वाचन क्षेत्र कायम भएपछि यी नेताले आफ्नो क्षेत्र गुमाएका हुन्। कांग्रेस सांसद डा. अमरेसकुमार सिंह सर्लाही- ६ बाट, पूर्व राष्ट्रपति डा. रामवरण यादवका पुत्र प्रा.डा. चन्द्रमोहन यादव धनुषा- ५ बाट निर्वाचित सांसद हुन् तर दुवै जिल्लामा चारवटा मात्र निर्वाचन क्षेत्र कायम भएपछि उनीहरू नयाँ क्षेत्रको खोजीमा छन्। 

कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपाल, सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट, सांसद केशव थापा, नारायणबहादुर कार्की र ज्ञानकुमारी छन्त्याल क्रमशः पाल्पा, सुर्खेत, इलाम, उदयपुर र बागलुङका ३ नम्बर क्षेत्रबाट निर्वाचित सांसद हुन्। यी सबै जिल्लामा दुईवटा निर्वाचन क्षेत्र निर्धारण गरेपछि उनीहरू निर्वाचित भएका निर्वाचन क्षेत्र नै हराएका छन्। 

वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, सांसदहरू चन्द्रबहादुर कुँवर, राजिवविक्रम शाह, दीपक खड्का र रामहरि खतिवडाले पनि आफू निर्वाचित क्षेत्र गुमाएका छन्। चन्द बैतडी, कुँवर लमजुङ, शाह जाजरकोट, खड्का संखुवासभा र खतिवडा ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। आयोगले यी जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र निर्धारण गरेपछि उल्लिखित सांसदहरूले आफू निर्वाचित क्षेत्र गुमाएका हुन्। 

युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, सांसद डा. गणेशकुमार मण्डल र देवकरणप्रसाद कलवारले पनि आफू निर्वाचित क्षेत्र गुमाएका छन्। चौधरी सप्तरी- ५, मण्डल र कलवार सिरहा र नवलपरासी- ६ बाट निर्वाचित सांसद हुन्। सप्तरी र सिरहामा चार र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा दुईवटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ। 

मोरङको क्षेत्र नम्बर- ९ बाट निर्वाचित कांग्रेस सांसद डिगबहादुर लिम्बू, दाङ- ५ बाट दीपक गिरी, दाङ- ४ बाट बुद्धिराम भण्डारी, कपिलवस्तु- ४ बाट सुरेन्द्रराज आचार्य, चितवन- ४ बाट रामकृष्ण घिमिरे, नवलपरासी- ५ बाट विक्रम खनाल, कैलाली- ६ बाट पुष्करनाथ ओझा, महोत्तरी- ६ बाट सीताराम भण्डारी, रौतहट- ५ बाट सुनिलकुमार यादव र सप्तरी- ६ बाट सुरेन्द्रप्रसाद यादव निर्वाचित सांसद हुन्।

निर्वाचन क्षेत्र निर्धारण आयोगले मोरङमा छ, दाङ, कपिलवस्तु र चितवनमा तीन/तीन, नवलपरासीलाई दुई जिल्लामा विभाजन गरी दुई/दुई, कैलालीमा पाँच, महोत्तरी, रौतहट, सप्तरीमा चार/चार निर्वाचन क्षेत्र निर्धारण गरेपछि निर्वाचन क्षेत्र नै यी सांसदले गुमाएका छन्।

एमाले सचिव गोकर्ण विष्ट गुल्मी- ३ बाट, सचिव भीमप्रसाद आचार्य सुनसरी- ६ बाट, केन्द्रीय सदस्य प्रकाश ज्वाला सल्यान- २ बाट, राजेन्द्रप्रसाद पाण्डे धादिङ- ३ बाट, शेरधन राई, भोजपुर- २ बाट, शेरबहादुर तामाङ सिन्धुपाल्चोक- ३ बाट निर्वाचित भए पनि गुल्मीमा दुई, सुनसरीमा पाँच, सल्यानमा एक, धादिङमा दुई, भोजपुरमा एक, सिन्धुपाल्चोकमा दुईवटा मात्र निर्वाचन क्षेत्र निर्धारण गरेपछि यी नेताहरूले निर्वाचन क्षेत्र हराएका छन्। 

सांसदहरू चन्द्रबहादुर गुरुङ, पुरुषोत्तम पौडेल, अनन्तप्रसाद पौडेल, आनन्दप्रसाद पोखरेल, जयराम थारू, टुकराज सिग्देल, दलबहादुर सुनारले पनि निर्वाचन क्षेत्र हराएका छन्। आयोगले निर्वाचन क्षेत्र घटाएपछि मोरङ- ८ का गुरुङ, बारा- ६ का पौडेल, मकवानपुर- ३ का पौडेल, दोलखा- २ का पोखरेल, पर्सा- ५ का थारू, तनहुँ र बाँके- ३ का सिग्देल र सुनारको निर्वाचन क्षेत्र हराएको छ। 

एमाले सांसदहरू दीपनारायण साह महोत्तरी- ५ बाट, मुक्तिप्रसाद पाठक स्याङ्जा- ३ बाट, राजाराम स्याङ्तान मकवानपुर- ४ बाट, रामकुमार भट्टराई रौतहट- ६ बाट, लालबहादुर रावल बझाङ- २ बाट, विकास लम्साल पर्वत- २ बाट, विदुरप्रसाद सापकोटा काभ्रे- ४ बाट, विशाल भट्टराई खोटाङ- २, शत्रुघ्न महतो धनुषा- ७, सीता गिरी कास्की- ४ र हीराबहादुर केसी प्युठान- २ बाट निर्वाचित सांसद हुन्।

आयोगले महोत्तरीमा चार, स्याङ्जा, मकवानपुरमा दुई/दुई, रौतहटमा चार, खोटाङमा दुई, धनुषामा चार, कास्कीमा तीन र प्युठानमा एक निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रलाई झारेपछि यी सांसदको निर्वाचन क्षेत्र खोसिएको हो। 

माओवादीको तर्फबाट रामेछाप- २ बाट निर्वाचित गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, पशुपंक्षी विकासमन्त्री सन्तकुमार थारू बर्दिया- ३ बाट, सांसद मानबहादुर थारू बर्दिया- ४ बाट शहरी विकास राज्यमन्त्री छमबहादुर गुरुङ गोरखा- ३ बाट र नेता हरिबोल गजुरेल सिन्धुली- ३ बाट निर्वाचित भए पनि आयोगले ती सबै जिल्लामा दुई/दुईवटा मात्र निर्वाचन क्षेत्र निर्धारण गरेपछि उल्लेखित राज्यमन्त्रीहरूले आफू निर्वाचित भएका क्षेत्र गुमाएका छन्। 

निर्वाचन क्षेत्र घटाउँदा तात्कालीन तमलोपाका नेता तथा हाल राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष सर्वेन्द्रनथा शुक्ला, राजपा सांसद कमलेश्वर पुरी गोश्वामी र जंगीलाल रायले आफ्नो निर्वाचन क्षेत्र गुमाएका छन्। आयोगले रूपन्देहीमा पाँच र सर्लाहीमा चार निर्वाचन क्षेत्र निर्धारण गरेपछि रूपन्देही ७, ६ र सर्लाही- ५ बाट निर्वाचित शुक्ला, गोश्वामी र रायको निर्वाचन क्षेत्र हराएका हुन्।

कपिलवस्तु- ५ बाट निर्वाचित संघीय समाजवादी फोरमका सांसद अभिषेकप्रताप साहको निर्वाचन क्षेत्र पनि हराएको छ। आयोगले कपिलवस्तुलाई तीनवटा निर्वाचन क्षेत्रमा सीमित गरेको थियो। दुईवटा निर्वाचन क्षेत्र रहेको रुकुमलाई पाँच र छ नम्बर प्रदेशमा विभाजन गरेसँगै दुईवटा जिल्ला बनाएपछि रुकुम क्षेत्र नम्बर- २ बाट निर्वाचित सांसद तथा गृहमन्त्री जनार्दन शर्माको क्षेत्र हराए पनि सो निर्वाचन क्षेत्रको भूगोल भने उनकै निर्वाचन क्षेत्रमा परेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.