|

  • भविश्वर पाण्डे-

कावासोतीः नवलपरासीका विभिन्न खोलानालाबाट खोलाजन्य पदार्थको चोरी निकासी बढ्दै गएको छ। जिल्लाको केरुङ्गे खेला, गिरुबारीखोला, आरुङ्गखोला, बिनयी, खजुरा, पानभार र तुरियालगायतका खोलाहरूबाट चोरी निकासी बढेको हो।

जिल्ला समन्वय समितिले लगाएको ठेक्काको म्याद गत जेठ मसान्तमै सकिए पनि स्थानीय व्यपारीहरूले यी खोलाहरूबाट अवैध उत्खनन् गरी ट्र्याक्टरमा लोड गरी बेचबिखच गरिरहेको स्थानीयले बताएका छन्।

बिहीबार प्रहरी चौकी चोरमारा तम्सरियाले दुईवटा ट्रिपर र एउटा एक्साभेटर अवैध खोलाजन्य वस्तु ओसारपसार गर्दै गर्दा समातेको थियो।

गिरुबारी खोलाबाट अवैध रूपमा गिट्टी निकासी हँुदै गरेको स्थानीयको सूचनाका आधारमा उक्त ट्रिपर समात्न सफल भएको प्रहरी नायव निरीक्षक शिवानन्द वारीले बताए। प्रहरीले बा२क ५१३२ नम्बरको एक्साभेटर, ना५ख ६९९९ र ना५ख ९१०१ नम्बरका ट्रिपर समातिएको बताएको छ। यी गाडीलाई कारवाहीका लागि जिल्ला समन्वय समिति परासीमा पठाइएको छ।

त्यस्तै, मंगलबार पनि सरावल गाउँपालिकामा रहेको बासाबसही प्रहरी चौकीले दुईवटा ट्र्याक्टर समातेको थियो। एउटा ट्र्याक्टरमा मिस्कट र अर्काे ट्र्याक्टरमा ढुंगा लोड गरी लैजाने क्रममा प्रहरीले पक्राउ गरेको थियो। 

स्थानीय पानभार खोलाबाट खोलाजन्य पदार्थ चोरी गरी लैजाँदै गरेको लु३त ३९७२ र लु३त १८४१ नम्बरका दुइटा ट्र्याक्टरहरु नियन्त्रणमा लिएको प्रहरी चौकीले जनाएको छ। 

नवलपरासीका खहरे खोलाहरुबाट दिनहुँ खोलाजन्य सामग्री ओसारपसार हुन्छ। तर धेरैजसो यस्ता तस्करीमा प्रहरीले कारवाही गर्न पछि हटेको चोरमाराका विष्णु पाठकले बताए। कावासोती– ३ का गणेश बास्ताकोटीले भने, ‘प्रहरीलाई माथिबाट दवाब आएपछि मात्र खोलाजन्य सामग्री चोरी गर्नेलाई प्रकाउ गर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.