|
फोटो : फेसबुकबाट

बैतडी : वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेका सुदूरपश्चिमका युवाहरुले पनि धुमधामका साथ गौरा पर्व मनाएका छन्। विगत वर्षहरुमा जस्तै खाडी मुलुक मलेसियाका विभिन्‍न ठाउँमा कार्यरत सुदुरपश्चिमेली युवाहरुले एक ठाउँमा भेला भएर पर्व मनाएका छन्।

मलेसियाको जोहोरबारुस्थित होटेल बागुस सिटिमा आज बिहीबार सबैजना भेला भएर सुदूर पश्चिमको मौलिक सँस्कृति झल्किने गरी विभिन्न कार्यक्रमहरुसँगै धुमधामसँग गौरा पर्व मनाएको त्यहाँ कार्यरत बैतडीका गजेन्द्र प्रसाद अवस्थीले टेलिफोनमा जानकारी दिए। ‘बाल्यकालदेखि गौरामा रमाएका हामी विदेशी भुमिमा पनि मौलिक परम्परा अनुसार रमाईलोसँग मनायौ,’ उनले भने। 

उनका अनुसार सुदुरपश्चिमेली युवाहरुले गौराको तयारी केही महिना अघिदेखि गरेका थिए। युवाहरुले सुदुरपश्चिमको गाउँघरमा जस्तै गौरादेवीको प्रतिमा स्थापना गरेका थिए भने पञ्च अन्‍न भिजाएर विरुडा (प्रसाद) पनि बनाएका थिए।

हरेक वर्ष विरुडाको प्रसाद लिनै पर्छ भन्‍ने मान्यता रहेकोले प्रसाद बनाएर सबैले ग्रहण गरेको सुदूर पश्चिम सेवा समाजका केन्द्रिय सदस्य ज्ञानेन्द्र सिंहले बताए। ‘विदेशी भुमिमा पनि विरुडाले टाउको पुज्‍ने अवसर जुट्यो,’ समाजिक सञ्जाल फेसबुकमा भएको कुराकानीमा उनले भने, ‘घरको सम्झना सबै साथीभाई मिलेर मेटायौ।’ 

रोजगारीका लागि मलेसिया पुगेका धेरै सुदूर पश्चिमबासीहरुको कार्यक्रममा सहभागिता रहेको उनले बताए। सुदुरपश्चिम सेवा समाज मलेसियाको जोहोरबारु समितिले आयोजना गरेको कार्यक्रममा पुष्प खड्काको अध्यक्षता थियो भने प्रमुख अतिथि चक्र मल्ल ठकुरी रहेका थिए। साहित्यिक जमघट भएकाले सांस्कृतिक र साहित्यिक कार्यक्रम गरी पर्वको शुभकामना साटासाट गरिएको फोटो तथा भिडियो उनीहरुले समाजिक सञ्जाल फेसबुकमा राखेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.