|
फाइल फोटो

चितवन : चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएर भारत पुर्‍याएको अर्को गैंडालाई पनि उद्धार गरी निकुञ्जमा छाडिएको छ। २ दिनको अथक प्रयासपछि उद्धार गरिएको गर्भिणी गैंडालाई बिहीबार राति ८ बजे चितवनको रत्ननगरस्थित जनकौली मध्यवर्ती सामुदायिक वनबाट निकुञ्जमा छाडिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल तथा वरिष्ठ पशु चिकित्सक डा‍. कमल गैरे नेतृत्वको टोलीले नेपाल भारत सीमा क्षेत्रको दक्षिणपूर्व करिव १६ किलोमिटर टाढा भेडियारी भन्ने स्थानबाट बिहीबार दिउँसो गैंडा उद्धार गरी पठाएको थियो। भारतमा गैंडा रहेको सूचना पाएपछि निकुञ्जको प्राविधिकसहिको टोली यही भदौ १३ गते उद्धारका लागि दोस्रोपटक भारत गएको  थियो। २ दिनको प्रयासमा अन्जादी १५ वर्षको गर्भिणी गैंडाको उद्धार गरिएको हो।

यसअघि पनि निकुञ्जले भारतबाट ५ वटा र नेपाल भारत सीमा क्षेत्रबाट एउटा गरी ६ वटा गैंडाको उद्धार गरिसकेको छ। अहिलेसम्म बाढीबाट बगाएका सात गैंडाको उद्धार भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

६ वटा उद्धार गरी फर्किएको टोली गैंडा रहेको थाहा पाएपछि उद्धारका लागि भदौ १३ गते पुन भारत गएको थियो। अझै एउटा गैंडा उतै रहेकाले प्राविधिक सहितको टोली गैंडाको खोजीमा भारत मै रहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।

उद्धारमा चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष तथा भारतको बाल्मिकी टाइगर रिजर्भका अधिकारीहरु संलग्न छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.