|

  • बुद्धकुमार आछामी-

सिन्धुली : जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सदरमुकाम माढीबजार आसपासका खोलाहरुबाट अवैध रुपमा बालुवा उत्खनन गर्ने डेढ दर्जन ट्रयाक्टरहरुलाई बिहीबार नियन्त्रणमा लिएको छ। बालुवा तथा ढुंगा उत्खननमा रोक लगाइएको भए पनि ट्रयाक्टरहरुले लुकिचोरी बालुवा उत्खनन गरेर व्यापार गरिरहेका थिए। बिहीबार भने बालुवा ढुंगा सहितका १७ वटा ट्रयाक्टर प्रहरी नियन्त्रणमा परेका छन्।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार नियन्त्रणमा लिइएको ट्रयाक्टर खोलाबाट ढुंगा तथा बालुवाहरु संकलन गरिरहेकै अवस्थामा भेटिएको थियो। ट्रयाक्टरहरुलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला समन्यव समितिमा पठाइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए। उता जिल्ला समन्यव समितिका स्थानीय विकास अधिकारी शिवप्रसाद हुमेगाइँले अवैद्य रुपमा बालुवा ओसारपसार गर्ने तथा उत्खनन गर्ने ट्रयाक्टरलाई कारबाहीस्वरुप जरिवाना गरिने बताए।

सिन्धुलीमाढी आसपासका खोलाहरुबाट अवैध रुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन भइरहेको विषय सिन्धुलीको लागि नयाँ होइन। आसपासका खोलाहरुमा ढुंगा गिट्टी बालुवा निकासीको ठेक्का लगाउँदै आएको जिल्ला समन्यव समिति सिन्धुलीले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका कारण विगत ३ वर्षदेखि ठेक्का लगाउन सकेको छैन।

जिल्ला समन्यव समितिले ठेक्का लगाउन नपाउँदा उत्खनन गर्न पाउने कानुनी अधिकार कसैलाई छैन। कानुनी अधिकार नभए पनि सिन्धुलीमाढीमा आसपासका खोलामा निरन्तर ढुंगा, गिटी र बालुवा उत्खनन् गर्ने कार्य कसैले रोक्न चासो दिएको अवस्था थिएन। यतिसम्म कि असार, साउन भदौ तीन महिना उत्खनन गर्नै पाइँदैन तर पनि उत्खनन कार्य निरन्तर जारी थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.