|

पर्वत :  चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर आयोजनाको बाग्लुङ खण्डको काम अन्तिम चरणमा पुगेको छ। नेपाली सेनाले करिडोर निर्माणको कामलाई वर्षामा पनि जारी राखेपछि अब झण्डै एक महिनाभित्र बाग्लुङ र सुनौली सिधा सडक सञ्जालमा जोडिने भएको छ।

आयोजना निर्माणको जिम्मा लिएको नेपाली सेनाले पछिल्लो समय अधिकांश स्थानमा भीर, पहरा र चट्टान काटेर सडकको ट्र्याक खोलेको छ। कालिगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले भने, ‘मौसमले साथ दिए अब एक महिनाभित्र बाग्लुङ सुनौलीसँग सिधा सडक सञ्जालमा जोडिने छ। ज्यान जोखिममा राखेर भए पनि अहोरात्र लागिपरेका छौँ, दसैंसम्म बाग्लुङमा करिडोर हुँदै सुनौलीबाट बस आउनेछ।’ 

अहिले ट्र्याक खोल्ने काम पूरा भएर भीर, पहराको समस्या हटाउने र खोलामा बेलीब्रीज निर्माणको काम भइरहेको भट्टराईले जानकारी दिए। ‘नयाँ सडक भएकाले वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खस्ने क्रम जारी छ,’ उनले भने, ‘हामी त्यसलाई हटाएर सडकको सुधार र विस्तार गरी गाडी गुड्न सक्ने बनाउन लागिपरेका छौं।’ 

करिडोर सञ्चालनमा आएपछि सुनौलीबाट पाल्पा, गुल्मी, बाग्लुङ, म्याग्दी, मुस्ताङ हुँदै चिनसँग जोडिने कोरला नाकामा सिधै पुग्न सकिने छ। यसबाट भारतीय पर्यटकहरु कालिगण्डकी नदीको किनार हुँदै मुक्तिनाथ र चिनियाँ पर्यटकहरु सोही मार्ग हुँदै लुम्बिनीसम्म पुग्न सहज हुनेछ।

करिडोरले नेपाल, भारत र चीनको त्रिदेशीय व्यापार अभिवृद्धि सघाउने छ भने, भारत र चीनबीच ‘कनेक्टिभिटी’ को काम गर्ने सरोकारवालाहरुको भनाई छ। भारतको सुनौली नाकाबाट चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने ३ सय ४५ किलोमिटर दूरीको यो करिडोर अहिलेसम्मकै छोटो मार्ग बन्नेछ। नेपाली सेनाले भनेअनुसार काम भई सुनौलीसँग सिधा सडक सञ्जाल जोडिए बाग्लुङ सदरमुकाम हुँदै बुटवल चार घण्टामै पुग्न सकिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.