|

असोज २ गते प्रदेश नम्बर २ का ८ जिल्लाका १सय ३६ स्थानीय तहमा निर्वाचन हुँदैछ। अहिले राजनीतिक दलहरु स्थानीय तहको उम्मेदवार चयनमा व्यस्त छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डल अहिले पार्टीका तर्फबाट उम्मेदवार चयनमा व्यस्त छन्। दिनरातका बैठक र  छलफलबाट उनले कतिपय स्थानीय तहको उम्मेदवार टुंगो लगाए भने कतिपय टुंगिन अझै बाँकी छन्। मण्डल टुंगिसकेका उम्मेदवार र टुङ्गिन बाँकी उम्मेदवारको लिष्ट बोकेर बिहीबार बेलुका काठमाडौं आएका छन्। मण्डलसँग थाहाखबरकी देविका घर्ती मगरले एमालेको चुनावी तयारीका विषयमा केन्द्रित रहेर गरेको कुराकानी :

प्रदेश नम्बर १ का १३६ स्थानीय तहमध्ये एमालेले कति स्थानमा उम्मेदवार टुङ्ग्यायो? कति स्थानको बाँकी छ?

एउटा महानगरपालिका र ३ वटा उपमहानगरपालिकाको उम्मेदवार टुङ्गो लागिसकेको छ। ती नामहरु शनिबार बस्ने पार्टीको स्थायी कमिटीमा प्रस्तुत गर्छु। अन्य स्थानीय तहमा उम्मेदवार छनोट गर्न धेरै चरणको छलफल गरेका छौं। सबै जिल्लाबाट साथीहरुले निर्णय गरेर सिफारिस गर्नुभएको छ। त्यसैको आधारमा हामीले उम्मेदवार टुङ्ग्याएका छौं। २/४ वटा ठाउँमा टुङ्गो लाग्न सकेको छैन। ती ठाउँमा सहमतिमा उम्मेदवार चयन गर्न समय दिएका छौं। सहमति भय भने ठीकै छ। भएन भने हामी टुङ्ग्याउछौं। आइतबारसम्म २ नम्बर प्रदेशका सबै उम्मेदवारहरु टुङ्गिन्छन्।

कस्ता व्यक्तिलाई उम्मेदवार बनाउन प्राथमिकता दिनुभएको छ?

पार्टीभित्र सक्रिय कार्यकर्ता, पार्टीमा भरपुर योगदान दिएको व्यक्तिलाई उम्मेदवार बनाउन जोड दिएका छौ। यसका साथै अहिलेको विशिष्ट अवस्था, चुनावी प्रतिस्पर्धा सबैलाई ध्यानमा राखेर उम्मेदवार चयन गरेका छौ|। ज-जसलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको छ त्यो समग्र जनताको हितका निम्ति पार्टीको तर्फबाट नेतृत्व गर्न सक्ने व्यक्तिहरुमध्येबाट छनौट गरिएको छ।

प्रदेश नम्बर २ मा एमालेले मत परिणाम कस्तो ल्याउने अपेक्षा गरेको छ ?

पहिलो र दोस्रो चरणको निर्वाचन जस्तै यो चरणको निर्वाचनबाट पनि हामी पहिलो पार्टी बन्छौं। कार्यकर्तामाझ भएको सक्रियता, हाम्रो संगठन आदि कुराले हामी २ नम्बर प्रदेशमा हुन गइरहेको तेस्रो चरणको निर्वाचनमा पनि पहिलो पार्टी बन्छौं।

त्यसको आधारहरु के-के छन्?

हाम्रो सबभन्दा ठूलो आधार भनेको संगठन हो। देशका सबै क्षेत्र, जिल्ला, गाउँ, टोलमा एमाले पुगेको छ। त्यो चुनावका बेला मात्र होइन। हामी निकै लामो समयदेखि जनताकाबीचमा लोकप्रिय र क्रियाशील रहँदै आएका छौं। जनताका बीचमा गएर जनताका काम गरेका छौं। यस आधारमा हामी यो निर्वाचनमा पहिलो शक्तिको रुपमा चुनाव जितेर आउछौं।

चुनावी प्रचारप्रसार अभियानलाई कसरी अगाडि बढाउनुभएको छ?

हामी चुनावका बेलामा मात्र नभएर अन्य समयमा पनि जनताका काम लिएर जनताका घरदैलोमा पुग्दै आएका छौ। अहिले चुनावको मिति नजिकिइसकेको छ। यो अवस्थामा पनि हामी जनताकै घरदैलोमा चुनावी अभियान लिएर पुगिरहेका छौं। प्रदेश २ का ८ जिल्लाका सबै क्षेत्रमा हाम्रा नेता कार्यकर्ताहरु पुग्नुभएको छ। हामी सबै त्यतै केन्द्रित भएका छौ। सभा, सम्मेलनहरु गर्दै आएका छौ।

एक्लै जित्ने सम्भावना कत्तिको छ? कुनै राजनीतिक दलसँग तालमेल गरेर जाँदै हुनुहुन्छ?

त्यस्तो सम्भावना पनि रहन्छ। किनभने हिजो सम्पन्न भएका निर्वाचनमा पनि हामी केही राजनीतिक दलहरुसँग निश्चित ठाउँमा चुनावी तालमेल गरेर निर्वाचनमा गएका छौं। त्यसैले तालमेल हुन सक्छ। तर तालमेलका निम्ति एमालेले मात्रै तालमेल गर्छौ भनेर भएन नि त। एमालेसँग तालमेल गर्नका लागि अन्य दलहरु पनि त इच्छुक हुनुपर्‍यो नि। अहिलेसम्म त्यस्तो कुनै दलहरु तालमेल गर्नका निम्ति आउनुभएको छैन।

मुख्यगरी २ नम्बर प्रदेशमा हाम्रो प्रतिस्पर्धा नेपाली कांग्रेससँग हो। माओवादी, राजपाहरु काँग्रेससँग तालमेल गर्छन् होला। विजय गच्छदारको पार्टीको पनि सबै जिल्लामा प्रभाव छैन। उनी पनि तालमेल गर्ने होइनन्। उपेन्द्रजीको संघीय समाजवादी फोरमसँग उहाँका कार्यकर्ताहरुले आवश्यकता महसुस गरेमा स्थानीय तहमा तालमेल हुन सक्छ। राप्रपा नेपाल कतै-कतै छन्। उनीहरुले तालमेलका लागि अहिलेसम्म बोलेका छैनन्। चुनावको मिति नजिक आइसकेको छ, १/२ दिनमा केही हुन्छ कि भन्ने हो।

नत्र हामी एक्लै चुनावमा जाने गरी तयारी गरेका छौं। त्यसैअनुसार होमवर्क पनि गरिरहेका छौं। सत्तापक्ष हाम्रा विरुद्धमा एकमत भएर लागेको पनि छ। हामी त्यसको सामना गर्नका लागि तयार छौं। जहाँसम्म तालमेलको कुरा छ, जो आउँछ त्यसका लागि हाम्रो ढोका बन्द छैन। हामी तालमेल गर्न तयार छौं। उहाँहरुको अवस्था हेरेर लेन र देन हुन्छ अनि तालमेल हुन्छ।

प्रदेश नम्बर २ मा एमाले कमजोर छ भन्ने चर्चा पनि छ नि?

बेला-बेलामा यस्ता हल्लाहरु मिडियामा आउँछन्। किनभने मिडिया पनि धेरै छन्। ती मिडिया हाउसहरुले कुन दलले के गरिरहेको छ? कहाँ के अवस्था छ भन्दा पनि नेताले बोलेका आधारमा लेख्दै आएका छन्। फिल्डमै गएर अवस्था बुझेर लेख्ने मिडियाहरु त म एकदमै कमै देख्छु।

केहीले त एमाले छँदैछैन भन्छन्। म नेकपा एमाले प्रदेश नम्बर २ को संयोजक हुँ। म भन्छु, हाम्रो बोर्डर नजिकका गाउँपालिकादेखि सबै क्षेत्रमा हाम्रो संगठन छ। हामी निरन्तर रुपमा काम गर्दै आएका छौं। केही अतिवादी पार्टीका केही नेताले एमाले प्रदेश २ मा छैन भन्दैमा हाम्रो पार्टी छैन भन्नु सरासर गलत हो।

एमालेले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गरेको छ। त्यसको प्रतिक्रिया मधेसमा कस्तो पाउनुभएको छ?

यो बेमौसमको बाजा हो। अहिले संविधानमार्फत हामीले सुनिश्चित गरेका जनताका अधिकार कार्यान्वयन गर्ने बेला हो। त्यसकारण संविधान कार्यान्वयन गर्ने बेलामा संशोधन गर्ने भन्ने कुरा अत्यन्तै गलत हो। त्यसकारण हाम्रो देशको सम्मानित संसद्‍ले संविधान संशोधन सम्बन्धी प्रस्ताव फेल गराएको छ। यो अहिलेको आवश्यकताअनुसार नै भएको हो। हामी संविधान अनुसार ३ तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बेला हो। त्यसकारण संविधान कार्यान्वयनको दिशामा नै हामी अगाडी बढ्नु उपयुक्त हुन्छ।

तर, जनकपुरमा एमाले नेता माधवकुमार नेपाल र सचिव गोकर्ण विष्टमाथि आक्रमण गर्ने, कालो झण्डा देखाउने काम त भयो नि ?

जनकपुरमा चुनावी प्रचारप्रसार अभियानका क्रममा जानुभएका हाम्रो पार्टीका नेतामाथि आक्रमण भएको छ। समाजको उत्पत्ति भएदेखि नै अपराधिक तत्वहरु पनि हाम्रो समाजमा क्रियाशील छन्। जनकपुर घटना त्यस्तै अपराधिक मानसिकता भएका व्यक्तिहरुले घटाएका हुन्।

किनभने राजनीति भने आचरण, व्यवहार, विवेकले गर्ने कुरा हो। राजनीतिक संस्कारभन्दा टाढा गएर जुनखाले आक्रमण, हमला भयो त्यो अत्यन्तै निन्दाजन्य, खेदजन्य छ। यस्तोखाले गतिविधि सरकारले रोक्नुपर्छ। राजनीति गर्ने राजनीतिक दलहरुले पनि रोक्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.