|

धनकुटा : लाखौं नगद र गहनासहित पत्नी बेपत्ता भएपछि धनकुटा नगरपालिका २ भीरगाँउका डम्बरबहादुर राईले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका छन्।

विदेशमा दुख गरेर कमाएको रकम र गहना बोकेर एक हप्ता पहिले पत्नी हराएपछि उनले प्रहरीमा निवेदन दिएकी हुन्। राईका अनुसार विदेशबाट पठाएको ५ लाख नगद र २ तोला सुन लिएर उनकी पत्नी वेपत्ता भएकी हुन्।  

साहूसँग ऋण काढेर विदेशिएका उनी बेला ठूलो चिन्तामा परेका छन्। यस्तै धनकुटा नगरपालिका वडा न –५ कि ४४ वर्षीया विन्दु श्रेष्ठ छोरी अस्मिता सहित गत साता नै बेपत्ता भएको उजुरी प्रहरी कार्यालयमा परेको छ। उनका पति टुकबहादुर श्रेष्ठले विदेशबाट पठाएको ५ लाख रुपैयाँ नगदसहित पत्नी बेपत्ता भएको बताए। १० वर्षसम्म विदेशमा कमाएको सम्पत्तिसहित पत्नी हराएको टुकबहादुरले बताए। यसैगरी धनकुटाको साँगुरीगढी गाउँपालिका वडा न–१ का भीम लिम्बूको पनि पीडा उस्तै छ।

आफू विदेशबाट आएलगत्तै लाखौं नगद र गहनासहित पत्नी बेपत्ता भएकाले खोजी गरिपाउँ भन्दै प्रहरीमा निवेदन दिएका छन्। उनकी पत्नी युनिसा लिम्बु अढाई वर्षीय छोरा र ५ लाख रुपैयाँ सहित बेपत्ता रहेको उजुरीमा उल्लेख गरेका छन्। हालसम्म धेरैतिर खोजी गर्दा पनि कतै फेला नपरेको भीमले बताए।

माथिका घटना उदाहरण मात्र हुन्। यस्ता दर्जनौं उजुरी जिल्ला प्रहरी कार्यालयमा परेका छन्। बेपत्ताको खोजी गरिदिन परेका उजुरीमा विदेश गएका पुरुषका पत्नी रकमसहित बेपत्ता हुने गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए। ‘हामी अचम्मै परिसक्यौं’ उनले भने, ‘दिन प्रतिदिन यस्ता घटना लिएर आउनेको संख्या बढिरहेको छ।’

जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका कक्षमा कार्यरत प्रहरी जवान तीर्था परियारले अधिकांश विदेश गएर फर्किएका श्रीमान् पीडित बनेको बताइन्। बेपत्ताको उजुरीमा परेकामध्ये केहीमात्र फेला पर्ने गरेको परियारले बताइन्। ‘फेला पर्दा पनि पतिले पठाएको पैसा सकिएको अवस्थामा भेटिन्छन्’, उनले भनिन्, ‘विश्वासको वातावरण टुटेपछि सम्बन्ध विच्छेद हुने क्रम बढ्दो छ।’

एकै महिनामा बेपत्ता भएका १८ मध्ये ९० प्रतिशत महिला रहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ। त्यसमध्ये पनि विदेशबाट फर्केका पतिले सम्पत्तिसहित बेपत्ता भएका पत्नीको खोजीका लागि उजुरीसँगै अधिकांशको फोटो पनि दिएका छन्।

प्रहरीको महिला तथा बालबालिका कक्षमा गत साउनदेखि हालसम्म २६ जना महिला बेपत्ता भएको उजुरी परेको छ। गतवर्ष जिल्लामा यस्तै प्रकृतिका ८४ वटा उजुरी परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.