|

रुकुम :  मुसीकोट नगरपालिका–१२ जमारुमा पहिरो आउँदा पूरै गाउँ प्रभावित भएको छ। लगातार वर्षाको कारण पहिरो आउँदा यहाँका ६८ घर प्रभावित भएका हुन्। राती पानी पर्दा पहिरो आउँदा यहाँका वासिन्दाहरु नजिकैको विद्यालयमा गएर आश्रय लिने गरेका छन्।

धनजन र मानवीय क्षति नभए पनि यहाँका सबै घरहरु पहिरोको जोखिममा छन्। ‘कुनै पनि घर खाली छैनन्’ स्थानीय देवराज ओलीले भने, ‘कसैको घरमुनिबाट पहिरो झरेको छ भने कसैको घर माथिबाट पहिरो खसेको छ।’ यहाँका १० घरजति पहिरोबाट बढी क्षति भएको छ। पहिरो पछि यहाँ खानेपानीकोसमेत हाहाकार भएको छ।

पानीका मुहानहरु पहिरोले पुरिदिएपछि पानीको समस्या भएको वडा अध्यक्ष प्रेमबहादुर ओलीले बताए। उनका अनुसार यहाँका वासिन्दाहरु अहिले धमिलो र दूषित पानी खान बाध्य भएका छन्। उक्त दूषित पानी खाँदा यहाँ झाडापखाला, टाइफाइट लगायतको प्रकोप फैलन सक्ने उनले बताए। ‘दिउँसो घाम लागेका बेला घरमा हुन्छौं’ स्थानीय देबिलाल खड्काले भने, ‘पानी पर्नासाथ विद्यालयमा जान्छौं।’

पहिरोले मकै, धान लगाएको बारीसमेत बगाएपछि खाद्यान्न समस्या पर्ने देखिएको छ। सबै जमिनहरु चिरा चिरा परेका छन्। वडाका जनप्रतिनिधिहरु र वडा सचिवले पहिरो प्रभावित गाउँको अनुगमन गरेका छन्। अनुगमन पछि जिल्लाका विभिन्न निकायसम्म सहयोगका लागि पहल गर्ने पहिरो पीडितसँग उनीहरुले प्रतिबद्धता जनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.