|

काठमाडौँ: प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक कानुन निर्माण गर्न छलफलका लागि बोलाइएको संसदको राज्य व्यवस्था समितिमा निर्वाचन विधेयकका विषयमा भन्दा फरक विषयमा सांसदहरू प्रस्तुत भए।

विधेयकमा भएका अन्तरवस्तुमा छलफल गर्न बसेका अधिकांश सांसदको गुनासो थियो, ‘इमान्दार भएर चुनाव लड्न हामी जस्ताले नसक्ने भयौँ।’ सत्ता पक्ष, प्रमुख प्रतिपक्ष र साना राजनीतिक दलका सांसदको एउटै गुनासो थियो, ‘लाखौं लाख रकम खर्च गर्न नसक्ने हामी जस्ता इमान्दारका दिन गए।’

सत्तारुढ माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक रेखा शर्माले चुनाव खर्चिलो बन्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गरिन्। उनले समिति बैठकमा उपस्थित प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवतर्फ लक्षित गर्दै भनिन्, ‘निर्वाचन यति धेरै खर्चिलो भयो कि अब जो कोहीले निर्वाचन लड्ने आँट गर्दैनन्।’

शर्माले खर्चिलो निर्वाचनलाई नियन्त्रण गर्न आयोगले कडा कदम चाल्न आग्रहसमेत गरिन्। प्रमुख सचेतक शर्माको प्रश्न थियो, ‘जीवनभर आस्था र निष्ठाको राजनीति गरेर देशको सेवा गर्छु भन्नेहरू निर्वाचनदेखि भाग्नुपर्ने स्थिति किन आयो?’

एमाले सांसद यज्ञराज सुनुवारले आफूजस्तै १० लाख रुपैयाँ खर्च गरेर प्रत्यक्षतर्फ निर्वाचन जित्ने सांसद थोरै भएको भन्दै आयोगले तोकेको भन्दा बढी खर्च गर्नेलाई आयोगले कारवाही गर्न नसकेको बताए। ‘१० करोड बजेट नभएको मन्त्रालयका मन्त्रीले ओखलढुंगामा १९ करोड खर्च गर्छु भनेर निर्वाचन आचारसंहिता उलंघन गरेका छन्’, सुनुवारले भने, ‘तर आयोगले कारवाही गर्न सकेको छैन।’

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद बृजेशकुमार गुप्ताले नेपालमा चुनावी प्रचार खर्चिलो भएको भन्दै त्यसलाई निर्वाचन आयोगले नियन्त्रण गर्नुपर्ने बताए। ‘यस्तै छाडा छोड्ने हो भने अबको निर्वाचनमा भ्रष्टाचारी, कमिसनखोर, तस्कर र व्यापारी मात्र उम्मेदवार बन्न सक्छ’, सांसद गुप्ताले भने, ‘सर्वसाधरण व्यक्तिले अब निर्वाचनमा उम्मेदवार हुन नै सक्दैन।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनावमा फजुल खर्च गर्ने, टोपी, टिसर्ट र पैसा बाँड्ने दलका उम्मेदवारले मतदातालाई भ्रममा पारेर चुनाव जित्ने गरेको आरोप लगाए। उनले भने, ‘भ्रष्टाचारीलाई चुनावमा उठ्ने कानुनी व्यवस्था गरिए मुलुकको लोकतन्त्र नै कमजोर हुन्छ।’

‘निर्वाचन यति धेरै महँगो भयो कि अब देशको सेवा गर्ने इमान्दारहरूले चुनाव लड्न सक्दैनन्’, जागरण पार्टी नेपालका सांसद लोकमणि ढकालले भने, ‘चुनावमा उठ्न धनी, पूँजीपति र पैसावालले मात्र सक्ने भए।’ उनले भ्रष्टाचार गरेर अकूत कमाएकाले मात्र चुनाव लड्न सक्ने भएकाले भ्रष्टाचारको अभियोगमा सजाय पाएकालाई पनि निर्वाचनमा उठ्न दिनुपर्ने माग सांसदबाटै आएको बताए।

एक हातमा टिकट, अर्को हातमा पैसा

समितिको शुक्रबार बिहान बसेको बैठकमा एमाले सांसद यज्ञ सुनुवारले नेपालमा समानुपातिक निर्वाचन प्रणालीको केही राजनीतिक दलले धज्जी उडाएको आरोप लगाए। उनले भने, ‘समानुपातिकतर्फका उम्मेदवार चयन गर्नुअघि एक हातमा पैसा र अर्को हातमा उम्मेमदवारको टिकट दिने चलनले विकृति ल्यायो।’

सांसद सुनुवारले केही दलले समानुपातिकका उम्मेदवार भनेर आफ्ना साली र गर्लफ्रेन्ड, साला र आफन्तलाई सांसद बनाउने गरेको आरोप लगाए। उनले भने, ‘समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चयन गर्दा उम्मेदवारको बन्दसूचीको प्राथमिकताबाट मात्र गर्न पाउने व्यवस्था गर्नुपर्छ।’

एउटा प्रदेशमा स्थानीय तहको र सबै प्रदेशमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन तीन महिनाभित्र हुँदै छ। निर्वाचन क्षेत्र निर्धारण आयोगले संघीय र प्रदेश निर्वाचन क्षेत्रको निर्धारण गरेसँगै राजनीतिक दलभित्र कुन प्रदेशको, कुन क्षेत्रमा, कुन संसदको निर्वाचनमा उम्मेदवार हुने भन्ने विषयमा तँछाडमछाड छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • चुनावी बिषयमा,संसदहरू यज्ञ,रेखा,बृजेश र कित्र ब केसी को बिमरश सही हो।आउदा चुनावमा कसैले पैसा गरच गरछ,ठूला नेताका नातो परछ भने पाटी भित्रैबाट भयंकर बिद्रोह गरी समाजमा तेसता दलाल,भ्रषट,तसकरलाइ हराऔ भनि पूरब संधेयमा सचेतना भंणडाफोर अभियान चलाउन तयारी रहनु परेयो। जंताहरू अब सोचछ र बिकास भिजन नेता खोजन लागेका छौ। जहासमम,यज्ञ सुनुवार जी को बिषलेशन सही छ र एमाले पाटी भित्र पनि यसतो चरीत्र ,उतकरष मा पुगिसकेको छ। गलफ्रेणड,तरूनी,साली,श्रीमति,सालो,ससुराली,संमदी,चंदादाता,कालाबजारी बेपारी,मानब तशकर,महंगा कलेज र हसपिटल मालिक, उगोगपति लाइ मात्र समानुपातिकमा टीके सामसद बनी रहेकाछन। अदालती सजाय भोगिसकेका लाइ राजनिती सुइकृत दिने छलफलमा- मुखे भूमिका निरबाह हिरो नेकाॅ मा खुमबहादुर खडका हुन सकछ। जेहोस,नेताहरूमा बिकृतिको आशकतिबारे जगे ब सुनुवार जिको बोली बेलाकै भयेको हुदा, वहालाई धननेबाद र चुनाउमा उठने औसर मिले, अग्रीम शुभकामना तथा बधाई छ!