भुइँमान्छे समीक्षा

|

नेपाली सिनेमाको रजतपटमा पछिल्लो दशक ‘नयाँ केही’को खोजी निरन्तर गरिएको पाइन्छ। परम्परित कथावस्तुमा जस्तो आदर्श नायक, नायक–नायिकाको प्रेम, खलपात्रहरूको प्रवेश, द्वन्द्व, खलपात्रको अवसान र अन्ततः नायिक–नायिकको मिलन र खुसी पछिल्लो दशकका चलचित्रमा देखिएन। 

परम्परित सौन्दर्यशास्त्रको पनि विनिर्माण भएको पाइन्छ। फलस्वरूप, चलनचल्तीका नायक–नायिका सेल्लुलोइडको संसारबाट बिस्तारै पलायन हुने र रंगमञ्च हुँदै, अथवा छोटा चलचित्र वा म्युजिक भिडियो हुँदै ठूलो पर्दामा देखापर्ने कलाकारहरूको लोकप्रियता बढेको देखियो। त्यसैले पनि, निर्माताले मात्रै होइन, दर्शकले पनि नयाँ र मौलिक केही खोजेका छन् भन्ने सन्देश पछिल्लो दशकको एउटा शक्तिशाली सन्देश हो। 

भदौको पहिलो सातादेखि बक्स अफिसमा चलेको चलचित्र ‘भुइँमान्छे’ चलचित्र परम्पराबाट हजारौँ हात पर हटेको कथा हो। निर्माता रोहिणी भट्टराईको पहलमा निर्मित यो चलचित्रमा कथा र निर्देशन नवराज बुढाथोकीका रहेको छ। रमेश बुढाथोकीसँग नायिक सिपोरा गुरुङले मूलधारको नेपाली चलचित्रमा पहिलोपल्ट अभिनय गरेकी छन् र आफ्नो अभिनयको जीवनन्तता सिद्ध गरेकी छन्। 

कथाको विषयवस्तु अजिबोगरिब छ। जेहेन्दार भएर पनि पहुँच नभएका कारण डाक्टर बन्नबाट वञ्चित भएको एउटा पात्रको कथा हो, ‘भुइँमान्छे’, जो अन्ततोगत्वा लाश चिर्ने मान्छे बन्नपुग्छ। ऊभन्दा तल्लोस्तरको पढाइ भएका, तर घुसपेस गर्न सक्ने आर्थिक हैसियत भएका दुई जना नक्कली डाक्टर क्रमशः उसको हाकिम भएर आउँछन्, उसमाथि दुव्र्यवहार गर्छन् र अन्ततः आफैँ नांगिँदै जान्छन्। 

डाक्टर निर्माण भनेर चिनिएका पोष्टमार्टम कर्मचारी, जीवनका आरोह–अवरोहमा अनेक दुःख सहँदै, हेपिँदैन, दलिँदै अन्ततः त्यो मोडमा आइपुग्छ, जहाँ निशा नाम गरेकी एउटी केटीको प्रवेशले जीवनमा सपनाको नयाँ तरंगहरू छोड्न थाल्छ। जीवन नयाँ वसन्तमा प्रवेश मात्र के गर्न लागेको थियो, निर्माणको मोच्र्युअरीमा एउटा नयाँ लाश आइपुग्छ, जसको चिरफार उसले आफैँ गर्नुपर्नेछ। र, त्यो लाश हो, उसले मनपराउन थालेकी केटी निशाको। 

नेपथ्यमा महत्त्वपूर्ण काम गर्ने, तर पनि समाजको ठूलो पर्दामा अदृश्यप्रायः रहने निर्माण जस्ता भुइँमान्छेको कथा बोकेको छ चलचित्रले। यस्ता पात्रहरूको जीवनको घामपानी यस चलचित्रको मूल विषयवस्तु हो। समाजमा दिनदिन मौलाउँदै गएको भ्रष्टाचार र माफियातन्त्रका कारण कसरी अब्बल मान्छे नेपथ्यमा धकेलिँदै जान्छन् र कसरी नालायकहरू मूल सडक कब्जा गरेर हिँड्छन् अनि फलस्वरूप, मान्छेको एउटा विपुल सभ्यता दुर्घटित हुन्छ र समाजको गति अवरुद्ध हुन्छ भन्ने कुरा देखाएको छ चलचित्रले।

पोष्टमार्टम गर्ने एउटा स्वास्थ्यकर्मीको मनोविज्ञानमा बनेको यस चलचित्रमा संवेगको प्रयोग निर्देशकले गहिरो प्रभावकारिताका साथ गरेका छन्। कथाका बीचबीचमा देखापर्ने, क्यासन्सरले मिति पाएकी एउटी बालिका निर्माणमा सम्पूर्ण विश्वासको बिस्कुन हाल्छिन् र सोध्छिन्, डाक्टर भगवान् हुन् भने उनलाई पनि त बचाउन सक्लान्। आफ्नो क्रमशः दुर्घटित हुँदै गरहेको जीवन र आफूमाथि बिरामीहरूले व्यक्त गरेको आस्थाका बीच  डाक्टर निर्माणको जिन्दगी उद्वेगपूर्ण मनोदशाको शिकार बनेको देखिन्छ। 

आम दर्शकले कल्पना नगरेको विषयमा बनेको यो चलचित्र धेरै मानेमा नयाँ छ। सामाजिक विकृति, भ्रष्टाचार, भुइँमान्छेहरूको मनोविज्ञान र सधैँ अनिश्चिताको बन्दी रहेको मान्छेको जिन्दगी चलचित्र ‘भुइँमान्छे’ले बोकेको छ। एकपल्ट सबैले हेर्नै पर्ने चलचित्र लाग्छ, भुइँमान्छे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.