|

भूकम्पमा निकै क्षति व्योहोरेको सिन्धुपाल्चोकको सिपापोखरेलाई २० जना कलाकार, कवि, मानवशास्त्री तथा कला अभियन्ताहरूले फरक फरक ढंगबाट बुझेका र हेरेका छन्।

उनीहरूको हेराइ र बुझाइ यतिबेला कलाका रूपमा बखुण्डोलको लसना÷नेक्सस कल्चर सेन्टरमा प्रदर्शनी भइरहेको छ। 

गत भदौ ६ गतेदेखि सुरु भएको सो कला प्रदर्शनीमा फोटोग्राफर अभिषेक शाहले सो स्थानको दैनिक जीवनलाई कलात्मक रूपमा फोटोमा कैद गरेका छन् भने अस्मिना रञ्जित र श्रवण महर्जनको प्रतिस्थापन कलाले सो स्थानको कष्ट र मानिसको उत्तरदायित्वलाई प्रस्टाएको छ। 

यज्जु मानन्धरले प्रतिस्थापन कलाबाट सो स्थानको ध्वनिलाई प्रस्तुत गरेका छन् भने कुञ्जन तामाङले पनि पानी र ध्वनिको मिश्रित रूप कलामा ल्याएका छन्। केशवराज खनालको दृश्यचित्र र डिजिटल फोटो म्यानुपुलेशनले सो स्थानको बदलिएको स्वरूपलाई उजागर गरेको छ। 

यसैगरी सहभागीहरूले आफ्ना भोगाइ र बुझाइलाई पुस्तकका रूपमा पनि प्रकाशन गरेका छन्। चार जनाको समूहले सोही स्थानको कथालाई सुन्दर बाल पुस्तकका रूपमा प्रस्तुत गरेका छन् भने सबै कलाकारहरूको कलाकृति समेटेर कलाकृति सँगालो पुस्तिका पनि प्रकाशन गरिएको छ। सो पुस्तिका सिल्क स्क्रिनमा बनाइएकाले आफ्नै कलाको रूपमा रहेको र यसको बिक्रीबाट आउने रकम सिपापोखरेका बालबालिकाको शिक्षामा र कला अभियानमै खर्च गरिने आयोजक अस्मिना रञ्जितले जानकारी दिइन्। 

चार महिनाअघि सुरु भएको ‘रिबिल्डिङ रिक्याप्चर’ कार्यशालाको अन्तिम रूप यो प्रदर्शनीमा देख्न सकिन्छ। बंगलादेश, भारत, नेपाल र नेदरल्याण्डका २० जना कलाकारले तयार पारेका कलामा आर्थिक, भौतिक रूपले विक्षिप्त बनेको सिपापोखरेलाई कलात्मक रूपले पुनर्निर्माण गर्ने आकांक्षा राखेको छ। 

प्रदर्शनी यही भदौ १९ गतेसम्म चल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.