|

काठमाडौँः समालोचक एवं अनुवादकको रूपमा चिनिएका साहित्यकार महेश पौड्यालको कथासङ्ग्रह ‘त्यसपछि फुलेन गोदावरी’ शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ। 

बीसवटा कथा संगृहीत उक्त कृतिमाथि समालोचक प्रा.डा. अभि सुवेदीले पौड्यालका कथाले समकालीन नेपाली सामाजको मनोवैज्ञानिक पक्ष समातेको बताए। संवेगपूर्ण कथाहरूमार्फत् उनले नेपाली कथायात्रामा एउटा नयाँ शैलीको सुरुवात गरेको बताए। 

समीक्षक कुमारी लामाले कृतिभित्रका कथामा नारी पात्रहरूले क्रमशः आत्महत्या गर्दै जानु अस्वाभाविक भएको बताइन्। कार्यक्रमका प्रमुख अतिथि मातृका पोखरेलले आफूले पौड्यालको आख्यान पहिल्यैदेखि पढ्दै र प्रभावित पनि हुँदै आएको बताए। उनले पौड्यालका कथामा वर्ग सङ्घर्ष भएको र कथाले निम्न वर्गका पात्रहरूको बारेमा वकालत गरेको बताए। 

कार्यक्रमका सभापति, त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी केन्द्रीय विभागका प्रमुख प्रा. अम्माराज जोशीले पनि महेशका कथाले समाजको अँध्यारो पक्षलाई सतहमा ल्याएको टिप्पणी गरे। पौड्यालले भने समालोचनाले आफ्नो कठोर पक्ष मात्रै उजागर गरेको भन्दै कथामा आफ्नो हृदय पक्ष लेखेको बताए। 

कार्यक्रममा कवि डा. नवराज लम्सालको स्वरमा ‘नर्सरी’ शीर्षकको श्रव्यकथा पनि प्रस्तुत गरिएको थियो। ‘त्यसपछि फुलेन गोदावरी’ कृति ऐश्र्वय प्रकाशनले बजारमा ल्याएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.