ओखलढुंगा : खिजीदेम्वा गाउँपालिकामा जिप दुर्घटना हुँदा १ को मृत्यु भएको छ। घटनामा ८ जना घाइते भएका छन्।
दुलही मगनीका लागि काठमाडौंबाट ओखलडुंगा खिजीफलाटे आएको जिप दुर्घटना भएको हो।
सिटीभिलेज यातायातको ५६७८ नं. को जिप आज साँझ ५ बजेतिर दुर्घटनामा पर्दा सोलुखुम्वु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं. ७ का वर्ष ३६ का लाक्पा देण्डी शेर्पाको घट्नास्थलमै मृत्यु भयो। खिजी देम्वा गाउँपालिका वडा नं. ३ खिजी चण्डेश्वरी स्वास्थ्य चौकी नजिक भएको दुर्घटनाका क्रममा जिप सडकभन्दा करिब १०० मिटर तल खसेको थियो।
दुर्घटनामा परी ८ जना घाइते भएको इलाका प्रहरी चौकी खिजीफलाटेले जनाएको छ। प्रहरीका अनुसार घाइतेमध्ये ५ को अवस्था गम्भीर छ। दुर्घटनापछि जिप चालक रामबहादुर बम्जन तामाङ प्रहरी नियन्त्रणमा छन्। दुर्घटनाको कारण अझै पत्ता नलागेको प्रहरीले जनाएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।