|

बैजापुर (बाँके) :  दिउँसोको टन्टलापुर घाम छ। नेपाली सेनाले दिएको त्रिपालको घरमा बस्न नसकेर सर्वसाधारण सिमलको रुखको छहारीमा थकाई मेटाइरहेका छन्। तर बाढीले घर भत्किदा च्यापिएर एकैसाथ तीन छोरी गुमाएका राप्ती–सोनारी गाउँपालिका–४, सेम्रहनीका कमिलाल थारु घर ठड्याउन कोशिस गरिरहेका छन्। उनी भत्केको घर पुनःनिर्माण गरेझैँ टुटेको मनलाई पनि फर्काउने प्रयासमा छन्। तर उनले टुटेको मनलाई जोड्न सकिरहेका छैनन्।

उनी बाढीले लुटेको खुसीलाई बिर्सेर पहिलेकै अवस्थामा आउने प्रयास गरिरहेका छन्। अब केही बाँकी नरहेको महशुस गरेका उनले हरेश मनलाई सम्हाल्ने प्रयास गर्दै छन्, तर उनको अनुहारमा अझैँ चमक छैन। शरीरमा जोश र जाँगर छैन। साउन २८ गतेदेखि अनुहारबाट उडेको हाँसो अहिलेसम्म पलाउन सकेको छैन। निरस र हरेस मनका बाबजुद पनि उनी घर निर्माणमा जुटेका छन्। ‘पीडा विर्सिने अनेकन प्रयास गर्दा पनि टुटेको मन जोड्न सकिएको छैन,’ कमिलालले भने।

घर बनाउन गाउँलेको सहयोग

तीन छोरीको ज्यान लिने घरतिर जान मन नलागेपछि उनी घर अन्यत्र बनाउन थालेका छन्। ‘तीन वटी छोरीको एकैसाथ ज्यान लिने घरतिर जानासाथ छोरीहरुको याद आएर मन थाम्न सकिदैन, भत्केको घरमा पुनः बनाउन आत्माले मानेन,’ उनले भने।

घर बनाउन उनलाई गाउँलेले साथ दिइरहेका छन्। हरेक घरबाट एकजना आएर कमिलालको घर बनाउन सहयोग गरिरहेको सेम्रहनीका बरघर (मटावा) भग्गु थारुले बताए। उनले घर बनाउने काठ गाउँलेले काटेर ल्याएको बताए। ‘कमिलालको घरमा कोही नभएकोले गाउँले मिलेर घर बनाई दिइरहेका छौँ,’ बरघर भग्गुले भने।

प्रत्येक घरबाट एकजना आएर कमिलालको घर बनाउन सहयोग गर्दै आएको स्थानीय खुसीराम थारुले बताए। उनले ३ दिन लगाएर जस्ता पाताले घर छाएको बताए। कमिलालको घर बनाउन २२ जना गाउँले खटिएका छन । ‘शनिबारसम्म घर तयार हुन्छ,’ खुसीरामले भने।

अझै भएन छोरीहरुको अन्तिम संस्कार

घर नभएका कारण कमिलालले छोरीहरुको अन्तिम संस्कार गर्न सकेका छैनन्। घर भत्किदा कुल देवता हराएकोले उनले छोरीहरुको अन्तिम संस्कार गर्न नसकेका हुन्। थारु परम्परा अनुसार कुल देवतालाई नुहाई दिएर (पवित्र) बनाएर मात्र अन्तिम संस्कार गरिन्छ।

उनले घर र देवता नभएकाले छोरीहरुको अन्तिम संस्कार (काजकिरिया) गर्न नसकेको बताए। ‘घर र कुल देवता नभएकोले अन्तिम संस्कार गर्न सकिएको छैन,’ कमिलालले भने।

उनले घर बनाएपछि नयाँ देवता बनाउने र छोरीहरुको अन्तिम संस्कार गर्ने गर्ने बताए। दसैँ आउन लागेकोले छिटो–छिटो गरी देवता बनाउने र छोरीहरुको अन्तिम संस्कार सकाउने मनस्थितिमा रहेको उनले जानकारी दिए। ‘घर पूरा हुनासाथ देवता बनाउँछु, अनि छोरीहरुको अन्तिम संस्कार गर्छु,’ उनले भने। दसैँमा कुल देवताको पूजापाठ अनिवार्य भएकोले पनि कमिलाललाई छिट्टै घर र देवता बनाउनुपर्ने भएको छ।

सहयोगले पुर्न सकेन छोरी गुमाएको पीडा

एकैसाथ तीन छोरी गुमाएकी कमिलालकी पत्नी फुलकुमारी थारु पीडाले गाउँमा आउन सकेकी छैनन्। उनी आफ्नो दिदीको घरमा बस्दै आएकी छन्। सरकारले कमिलालको परिवारलाई राहत स्वरुप ६ लाख रुपैयाँ प्रदान गरेको छ। विभिन्न संघसंस्था र ब्यक्तिले पनि उनलाई आर्थिक, जिन्सी सामान दिनुका साथै सान्त्वना दिन घरमा पुग्ने गरेका छन्।

तर उनलाई सरकार र विभिन्न संघसंस्था तथा ब्यक्तिले दिएको राहतले उनको थिलोथिलो भएको मनमा मलहम लगाउन सकेको छैन। उनले भने, ‘भएभरका सन्तान संसार छोडेर गएपछि यो रकम र जिन्सी सामानको के काम।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.