|

दाङ : घोराही उपमहानगरपालिकाले आर्थिक  वर्ष २०७४/०७५ को लागि १ अर्ब ३५ करोड ८० लाख २५ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ। शुक्रबार उपमहानगरपालिका उपप्रमुख सीता न्यौपानेले बजेट प्रस्तुत गर्दै चालु खर्च तर्फ ५५ करोड ८९ लाख २० हजार र पूँजीगततर्फ ७९ करोड ९१ लाख ५ हजारको योजना तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।

उपमहानगरपालिकाले चालुतर्फ ४१. १६ प्रतिशत र पुँजीगततर्फ ५८. ८४ प्रतिशत बजेट विनियोजन गरेको उनले जानकारी दिइन्। उपमहानगरपालिकाले सार्वजनिक निर्माण तर्फ ६४ करोड ८४ लाख ७० हजार,  छुट्याएको छ भने वडा कार्यालयको भवन निर्माण, जग्गा खरिद, वारुणयन्त्र खरिद, फोहोरमैला व्यवस्थापनका लागि १५ करोड ६ लाख ३५ हजार रुपैयाँ विनयोजन गरेको छ।

प्रत्येक वडाको विकासका लागि वडास्तरीय योजना तथा कार्यक्रमका लागि १८ करोड १० लाख ७० हजार कुल बजेटको १३ दशमलब ३३ प्रतिशत छुट्टाइएको छ। त्यसैगरी नगरस्तरीय दीर्घकालीन तथा अल्पकालीन योजनाका लागि ४६ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ। कृषिमा व्यवसायीकरण र आधुनिकरण गर्न  २ करोड ९६ लाख ३८ हजार ४ सय ६० रुपैयाँ विनियोजन गरिएको छ।

'स्वस्थ र स्वच्छ मासु, बधशालादेखि भान्छासम्म’ अभियान अन्तर्गत निजी क्षेत्रको सहकार्यमा बधशाला निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। उद्योग वाणिज्य संघ तथा अन्य व्यापारिक संघसंस्थाहरुसँगको साझेदारीमा कार्यक्रम संचालन गर्न विभिन्न शीर्षकमा ७ लाख बजेट विनियोजन गरिएको छ। आन्तरिक तथा वाह्य पर्यटन प्रर्वद्धनका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ। पर्यटनसँग जोडिएको घोराही हिलपार्क निर्माणका लागि २० लाख विनियोजन गरिएको छ।

विद्यालय शिक्षाका लागि २८ करोड ३२ लाख ९० हजार विनियोजन गरिएको छ। स्थानीय तहले सञ्चालन गर्ने भनी तोकिएका स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्न ५ करोड ५८ लाख ७७ हजार विनियोजन गरिएको छ। त्यसैगरी राप्ती उपक्षेत्रीय अस्पतालमा बाल बालिकाहरुका लागि सघन उपचार कक्ष सञ्चालनका लागि २० लाख बजेट विनियोजन गरिएको छ।  खानेपानी तथा सरसफाइ क्षेत्रको क्षेत्रगत विकास गर्नको लागि ३ करोड ८७ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ।

खेलकुद मैदान निर्माण लगायत राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न ५५ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको छ। महिला, दलित, अपांग, अल्पसंख्यक, आदिवासी जनजाती, मुक्तकमैया कम्लहरी, बालबालिका, द्वन्द पीडित तथा युवाहरुको सशक्तिकरण, सवलीकरण तथा क्षमता अभिवृद्धिका लागि २ करोड १५ लाख ३० हजार बजेट विनियोजन गरिएको छ।

‘सडकको सुविधा जताततै, यातायातको अभाव हुने छैन कतै’ भन्ने घोराही उपमहानगरपालिकाको मर्मलाई साकार पार्न ३३ करोड ४५ लाख ७६ हजार विनियोजन गरिएको छ। कृषि र सिञ्चाईका लागि २ करोड  २६ लाख  २५ हजार वजेट विनियोजन गरिएको छ। ‘जलाधार संरक्षणका लागि २ करोड १६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। शहरका विभिन्न क्षेत्रमा वृक्षारोपण र हरित पार्क निर्माण गर्नको लागि ९५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.