|

  • रामबहादुर क्षत्री-

दुई साता राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्ने नेताहरूका लागि अति नै महत्त्वपूर्ण समय अवधि। एक दिन राजधानी छाड्न नमान्ने र नसक्ने प्रवृत्ति मौलाएको बेला मधेसका वस्तीहरूमा दुई साताभन्दा बढी समय बिताउँदै छन्, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड। 

उनको यो बसाइ चानचुने देखिँदैन। सचिवालयबाट सार्वजनिक भएको सूचनाअनुसार अहिलेसम्म दश हजारभन्दा बढी विभिन्न दलका नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्। मधेसका मुद्धा बोके पनि मधेसको संगठन जोगाउन नसकेको माओवादी केन्द्रका लागि यो निकै ठूलो उपलब्धि देखिन्छ। र, यसको जस स्वाभाविक रूपमा प्रचण्डलाई नै जान्छ। 

प्रचण्ड, नेपालको राजनीतिमा एउटा विशिष्ट क्षमता भएका नेता हुन् भन्नेमा सबै सहमत छन्। उनलाई मनपराउने या नपराउनेहरूका लागि पनि उनको क्षमताको मूल्यांकन समान हुन्छ। उनको यही विशिष्टताले उनीविरुद्धको आलोचनाको, ‘फोबिया’को जन्म भएको छ। कतिपय ईष्र्याले, कतिपय रिसले, केही बदलाले, केही अनिच्छाले उनको विरोध गर्छन्। यी विरोध कतिपय राजनीतिक हुन्छन्। तर लेनिनले भनेजस्तो तर्क, विचार र दृष्टिकोणले आलोचना संभव नभएपछि कतिपय भने गालीमा पनि उत्रिन्छन्। 

यो गालीको निशाना बन्ने गरेको छ, प्रचण्डको परिवार। जानकारहरू भन्छन्, प्रचण्डको परिवारलाई गरिने हरेक आलोचनाको प्रहारको अप्रत्यक्ष निशाना प्रचण्ड नै हुन्। प्रचण्डका छोरा प्रकाश दाहाल, छोरी रेणु दाहाल, बुहारी बिना मगर बेलाबखत विवादमा तानिन्छन्। गत वर्ष श्रीमती सीता दाहालको उछितो काडियो, निकै बढी।

यी सबै प्रचण्डको यही व्यक्तित्वमाथिको प्रहार भएको उनका स्वकीय सचिव जोखबहादुर महरा बताउँछन्। ‘प्रचण्डसँग जोडेर परिवारको आलोचनाको कुनै तुक हुन नपर्ने हो, अरू नेताको त्यस्तो देखिँदैन’, महरा भन्छन्, ‘ल हेर्नुस् त, नेपालका अरू कुनचाहिँ नेताको परिवारको चर्चा हुन्छ, कसको परिवारका सदस्य के गर्छन् कतिपयको थाहासम्म छैन तर प्रचण्डकै पछि लाग्छन् सबै।’

तथ्यहरूले पनि यही देखाउँछन्, प्रचण्डको आनीबानीदेखि उनको उठबस, भेटघाट, परिवार, नातागोता। राजनीतिक रूपमा आलोचना गर्न नसकिएपछि परिवारमा खनिएको महराको ठम्याइ छ। प्रचण्डसँग दशकौँ नजिकको संगत गरेका महराको भनाइमा प्रचण्डको परिवारको सरलता, संगठनप्रतिको समर्पण र निरन्तर पार्टी र नेतृत्वको पक्षमा निष्ठा कमै नेताहरूको घरमा भेटिन्छ। 

माओवादी जनयुद्धको रापमा परिवारको पार्टीकरणको माओवादी नीति थियो। त्यतिबेला समग्र परिवार नै माओवादीकरण गर्ने योजनाअनुरूप अधिकांश नेताका छोराछोरी संगठनसँग जोडिए। कतिपय सेना भए, कतिपय राजनीतिक ब्यूरोसँग जोडिए। त्यसबेला यसो गरिनु क्रान्तिकारीपना थियो। तर अहिले त्यही कुरा आलोचनाको विषय बन्ने गरेको महरा बताउँछन्। 

जबकि त्यही क्रममा केही नेताका छोराछोरी भने उनीहरूले भन्ने गरेका अन्य बुर्जवाहरू जस्तो आफ्ना छोराछोरीलाई सुरक्षित रूपमा पढाइरहेका थिए।

डा. बाबुराम भट्टराईले त्यही गरे। उनकी छोरीको उमेर र प्रचण्डका छोरा प्रकाशको उमेरमा खासै फरक छैन। तर मानुषीले स्नातकोत्तरसम्मको अध्ययन सहजतापूर्वक गरिन्। यता, रेणु दाहाल, प्रकाश दाहालहरू आज पञ्जाब, भोलि दिल्ली, पर्सि रोल्पा, निकोपर्सि रुकुम पुगिरहेका बेला मानुषी कतै सुरक्षित पढिरहेकी थिइन्। तर रेणु दाहालले चितवनमा मेयरको टिकट पाउँदा त्यो ‘परिवारवाद’को परिभाषामा पर्‍यो। ‘यो नै हो विडम्बना’, प्रकाश दाहाल भन्छन्, ‘मैले इन्टर पास गरेपछि पढ्न नखोजेको होइन। रहर नभएको कहाँ हो र, तर परिस्थितिले दिएन।’ 

न उनको परिवारले त्यसमा चासो दियो, न आफन्त र पार्टीले नै। अहिले पढ्नेहरूबारे कोही नबोल्ने तर आफूहरू भने सधैँ आलोचनाका पात्र भइरहने गरेको तीतो अनुभव छ उनको।

युद्धकालमा सचिवालयको गम्भीर र जटिल जिम्मेवारी निर्वाह गरेका प्रकाशका बारेमा एकल रूपमा सोच्ने फुर्सद प्रचण्डलाई भएन। उनका लागि सिंगो जनयुद्ध केन्द्रमा थियो। परिवार या परिवारका सदस्य गौण थिए। उनी एउटा मिशनमा थिए र त्यहाँ परिवारको बारेमा सोच्न नसकिने अवस्थासमेत थियो। महरा भन्छन्, ‘बाबुरामजीको पछिल्लो स्खलनले उनको मिशनको उद्देश्य र प्रचण्डको लक्ष्य, संवेदना र मन नै फरक थियो भन्ने देखायो।’ बाबुरामले त्यही भएर परिवारको पनि सुरक्षित व्यवस्थापन गर्न सफलभएको उनको बुझाइ छ। ‘हाम्रा लागि सबै कुरा युद्ध थियो’, महरा भन्छन्।

पढाइ पूरा गर्न नसके पनि प्रचण्डको परिवारका सदस्यहरू दायाँ बायाँ भने कहिल्यै भएनन्। उनीहरू युद्धमा पनि पार्टीसँगै थिए, युद्धकालपछि पनि पार्टीसँगै छन्। अहिले आएर तमाम आलोचना र टिप्पणीको चाङबीच उनका छोरा प्रकाश पार्टी तथा नेतृत्वको पक्षमा प्रचण्डको सचिवालय व्यवस्थापनदेखि सूचना सहजीकरणमा समेत विशिष्ट भूमिका निर्वाह गर्न सफल भएका छन्। 

संभवतः नेपालको पत्रकारितामा स्रोतको सहजतामा प्रकाशले नयाँ प्रयोग नै गरेका हुन्, प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा। प्रचण्डका कुनै पनि कार्यक्रमबारे कुनै पनि मिडिया अनभिज्ञ हुनुपरेन। उनले के बोले, के गर्न गइरहेका छन्, सबै कुरा पारदर्शी भए। 

‘जान पाए ठीकै छ, नभए प्रकाश दाहालको फेसबुक पेज हेर्नू, लाइभ भिडियो आउँछ होला, त्यही हेरेर समाचार बनाउनू’, कतिपय मिडियाका डेस्क सम्पादकहरूले आफ्ना रिपोर्टरलाई यसरीसमेत भनेको सुनियो। 

सूचनामा पहुँचको अर्थ कार्यक्रम सकिएपछिको विज्ञप्ति प्रकाशन मात्रै होइन। यो मात्र पर्याप्त हुँदैन पत्रकारका लागि। अझ राजधानीका यस्ता विज्ञप्तिहरू मोफसलमा झनै पाउन गाह्रो हुन्छ । तर प्रकाश दाहालले पछिल्लो दुई वर्षयता हरेक कुरा लाइभ गरेका छन्, तस्वीरदेखि भिडियोसम्म। सूचना र सञ्चारले खप्लक्कै निलेको समयमा यो एउटा उत्कृष्ट सूचना प्रवाह शैली हो, पत्रकार र आम जनताका लागिसमेत।

तर यी कुराहरू ओझेलमा पर्छन् आलोचना केन्द्रमा हुँदा। अहिले साना मिडिया हाउसहरूमा प्रधानमन्त्रीले के भने, कहाँ गए भन्ने कुरा बुझ्न अन्य मिडियामा प्रकाशित समाचार हेर्नुपर्ने बाध्यता सिर्जना भएको छ। यो अवस्था र प्रकाश दाहाल स्वकीय सचिव हुँदाको अवस्थाको तुलना हुँदैन। बरु उनका बारेमा आउने समाचारमा बढी चासो हुन्छ। यो हुनुका पछाडि हाम्रो अवस्तुवादी दृष्टिकोण त जिम्मेवार छ नै, प्रचण्ड प्रतिको नकारात्मक फोबियासमेत जिम्मेवार छ। 

प्रकाश दाहालका शब्दमा उनका बारेमा सबैभन्दा बढी आलोचना गरिने विषय विवाहलाई लिएर हो। ‘जबकि मैले यसबारेमा हजार पटक भनिसकेको छु। त्यही कुरामा कारवाही झेलेको छु’, प्रकाश भन्छन्, ‘तर केही मिडियाका लागि मेरो विरोध मानौँ, मिशन हो उनीहरूको। एउटा शीर्ष नेताको सचिवालय र त्यसको संयोजनको कौशलको कहिल्यै चर्चा हुन्न।’

प्रचण्ड प्रधानमन्त्री हुँदा छोराको हैसियतले आर्थिक चलखेल र शक्तिको दुरूपयोग नगरेको दाबी गर्छन् प्रकाश। ‘अरूको कस्तो थियो थाहा भएन तर हाम्रो त्यो बेलाको जस्तो व्यवस्थित सचिवालय हामीले देखेका छैनौँ’, प्रकाश भन्छन्, ‘त्यही भएर पनि प्रचण्डले सहजताका साथ काम गर्न सक्नुभयो।’ 

उमेरले साठी कटिसकेका छन् प्रचण्ड। शारीरिक र सबैभन्दा बेसी मानसिक व्यस्तता उनको पर्याय हो। राजधानीबाहिर सातवटा कार्यक्रम सम्पन्न गरेर काठमाडौँमा चारवटा अतिमहत्त्वपूर्ण राजनीतिक सहमतिका बैठक गरेर सफलता पाएका उदाहरणसमेत छन् उनको जीवनमा। गतिशील हुन सकेका छन् उनी। यसका पछाडि उनको निजी जीवनशैलीको व्यवस्थापनले समेत भूमिका निर्वाह गरेको छ। कति बजे, कहाँ, कसलाई, के कुरामा, के खाएर, के लगाएर जस्ता सामान्य कुराहरूको व्यवस्थापन हुन्छ उनको। ‘मेरो जिम्मेवारी नै स्वकीय सचिवको हो, जुन मैले कुशलताका साथ निर्वाह गरेको छु’ प्रकाश भन्छन्, ‘पार्टीले दिएको जिम्मेवारीको मूल्यांकनको साटो उल्टो यसलाई गलत रूपमा टिप्पणी गरिनु सही नहोला।’

युद्धकालमा मानुषी जस्तै प्रकाश दाहालले समेत नेपाल नफर्केर भारतको कुनै बोर्डिङ स्कुलमा अंग्रेजी माध्यममा पढेर उच्चशिक्षाका लागि युरोपतिर लागेको भए अहिले उनी डा. प्रकाश दाहाल भएर फर्किन्थे। संभवतः त्यो डा. शब्द उनको नाम अगाडि झुण्डिएको भए अहिले उनीमाथि यतिविधि आलोचना हुने थिएन।

प्रकाश भन्छन्, ‘चार वर्ष भ्रष्टाचार या अन्य अपराधको सजाय पाएर जेलबाट निस्किनेहरू फूलमालाले सजिएर फेरि चुनाव जित्ने देश हो यो। यहाँ हामी जस्ताहरू भने आलोचनाको शिकार मात्रै।’ यसको कारण, इमान्दार भएर देश, जनता, पार्टी र नेतृत्वका लागि लाग्नु भएको उनको ठम्याइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Ek pachiya lekh K Aajko Nepal Ra Nepaliko Behal Hinuma Prachandako Kunai Dosh Chhaina ? Ani Aajko Din Dekhnako Lagi Jan Yuddha Bhayoko Ho ? Hajar Raja Janmauna Auta Raja Phaliako Ho ? Ani Prakash Dahal lai 3 Patak Bihe Garda Pani Kanuni Karbahi Khoi ? HAWA LEKAKH

  • पाहुनाको रुपमा आउनुहोस साथिको रुपमा जानुहोस भोट दिने जनता आफ्नो बिवेकले दिनुहोस ।