|

काठमाडौं : प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कास्की शाखाले आयोजना गरेको नेपाली संस्कृति ज्ञान परीक्षा २०७४ मा केफ माविका रोशन तिमिल्सिना पहिलो भएका छन्। पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना भएको परीक्षामा दोस्रो,तेस्रो र सान्त्वना स्थान क्रमश: विदुर भट्टराई, किशोर सापकोटा धनीराम ढकालले हासिल गरेका छन्। भट्टराई,सापकोटा र ढकाल पोखरा चिसाखोला वेद विद्याश्रमका हुन्।

परीक्षामा पहिलो, दोस्रो,तेस्रो र सान्त्वना स्थान हासिल गरेका उनीहरुले क्रमश:  २५ हजार १११,  २० हजार१११, १५ हजार १११ र १० हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै अन्य ४७ जना प्रतिस्पर्धीले १ हजार १ सय १११ रुपैयाँ प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन्।

उक्त परीक्षामा कास्की जिल्लाका ११७ वटा विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययनरत ३२ सय विद्यार्थीहरुको सहभागिता थियो। समापन कार्यक्रममा प्रमुख अतिथि संस्कृतिविद् प्रा.डा. रमेश ढुङ्गेलले नेपाली संस्कृतिको महत्वबारे धारणा राखेका थिए। त्यस्तै विशिष्ट अतिथिद्वय चैतन्य कृष्ण र डा.मणिभद्र महाराजले पूर्वीय संस्कृति एवम् राष्ट्रियताको विषयमा बोलेका थिए।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख शिक्षासेवी गणेश बहादुर गुरुङ्गलाई प्रमुख अतिथि संस्कृतिविद् प्रा.डा. रमेश ढुङ्गेलले सम्मान गरे। मिलन अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता विद्यार्थी परिषद्का कास्की जिल्ला अध्यक्ष डा. काशीनाथ कडेँलले गरेका थिए। स्वागत मन्तव्य डिल्ली रिमालले राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.