|

चितवन : ठूला चाडपर्व नजिकिएसँगै नारायणगढ–मुग्लिन सडकका खाल्डाखुल्डी पुरेर सवारी साधन सञ्चालन खुकुलो पार्ने तयारी गरिएको छ। 

चाडबाडका लागि ओहोरदाहोर गर्ने यात्रुहरुलाई सहज होस् भनेर यातायात सञ्चालन खुकुलो पार्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए। 'दशैंमा राजधानी भित्रिने भन्दा राजधानीबाट बाहिरिने यात्रुहरुको चाप अत्यधिक हुने भएकाले यातायात व्यवस्थापन गर्न लागिएको हाे', पन्तले भने।

अहिले रातिमा चितवन जाने सवारीलाई ६ बजे र मुग्लिनबाट आउने सवारीलाई सात बजेबाट रोक्ने गरिएकोमा गाडी सञ्चालनको समय थपेर आउने गाडीलाई राति ९ देखि १० बजेसम्म चल्न दिने तथा चितवनबाट जाने गाडीलाई एक घण्टा बढी चल्न दिने तयारी गरिएको छ। ‘प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्न बाँकी नै छ, तर यसरी सहज बनाउनुपर्ने सोच बनाएका छौं, पन्तले भने, ‘दशैंका यात्रुलाई ध्यान दिएर यातायात चुस्त पारिनेछ।’

नारायणगढ मुग्लिक सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादव दशैंका यात्रुहरुका सडकहरुमा खाल्डाखुल्डी पुरेर पानी हाल्ने तथा कुनै अवरोध भए तत्काल समाधान गर्ने बताए। 

उक्त सडकको ठेक्का समय गुज्रिएर पाँच महिना पुग्दा समेत जम्मा ५४ प्रतिशत मात्रै काम भएको छ। अहिले वर्षा भएकाले कालोपत्रे गर्न नसकेको यादवले बताए।नारायणगढ–मुग्लिन सडकको ३४ किलोमिटर क्षेत्रमा ३ वटा ब्लक बनाएर ६ ठेकेदारले काम गरिरहेका छन्।  निर्माण सम्पन्न हुँदा सडक ९ देखि ११ मिटरको चौडा हुनेछ। 

तर अहिले निर्माणकै क्रममा भित्तो खनेको क्षेत्रमा ठूलो पहिरो जाने क्रम नरोकिँदा यात्रुहरु प्रभावित हुँदै आएका छन्। दुई वटा ठूला पहिरोका कारण यो वर्ष मात्र तीन प्रहरीसहित पाँच जनाको मृत्यु भइसकेको छ। एक प्रहरी अझै बेपत्ता छन्। 

एक महिना अघि (साउन १८ गते) प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त सडकको स्थलगत अनुगमन गरी दशैंसम्ममा यातायात सहज पार्न निर्देशन दिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.