गाउँलेको सेवा गर्दा मिल्ने जति आनन्द अरु केहीमा मिल्दैन: दावा

|

गोरखा : न उनी डाक्टर हुन्, न उनी स्वास्थ्यका विद्यार्थी। उनी त तिब्बतसँगको सिमाना जोडिएको उत्तरी गोरखाको छेकम्पारमा जन्मिएका टुरिस्ट गाइड हुन्। गाउँलेहरु उनीप्रति ठूलै आशा र भरोसा राख्छन्। उत्तरी गोरखाका अधिकांश क्षेत्रमा कोही बिरामी परे, महिलाहरु सुत्केरी तथा गर्भवती हुन नसकेर जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेका बेला पनि सम्झने नाम हो दावा ग्याल्जेन  लामा।

उत्तरी गोरखा अहिले पनि सडक सञ्जाल नजोडिएको क्षेत्र हो। कोही बिरामी भइहाल्यो भने उत्तरी गोरखाबाट एक साता लगाएर मात्र उपचार पाउने स्वास्थ्य संस्थामा पुर्‍याउन सकिन्छ। त्यहाँ भएका स्वास्थ्य संस्थामा नेपाल सरकारका स्वास्थ्यकर्मी प्राय भेटिँदैनन्।

क्यान र फेज नामक गैरसरकारी संस्थाका स्वास्थ्य कर्मी भेटिए पनि उनीहरुबाट सबै खाले उपचारको सम्भव छैन। त्यसैले उत्तरी गोरखाका मानिसहरु बिरामी, सुत्केरी तथा गर्भवतीको उपचारको एउटै गन्तव्य काठमाडौं लगायतका सहर हुन्।

काठमाडौं लगायतका सहरमा उपचार गराउन लैजाने माध्यम भनेकै हेलिकोप्टर मात्रै हो। पर्यटन सम्बन्धी राम्रो ज्ञान राख्ने धावाको हेलिकोप्टरहरु सँग सिधै सम्पर्क छ। उत्तरी गोरखाका कोही बिरामी हुँदा गाउँबाहिर लैजान परे धावाको मोबाइलमा घन्टी बजिहाल्छ। हिजो आज त जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले पनि धावाकै सहयोगमा गाउँको स्वास्थ्य संस्थामा बच्चा जन्माउन नसकेका महिलाहरुको उद्धार गर्न थालेको छ।

यसरी सेवा गर्न पाउँदा मनले शान्ति महसुस गर्ने उनी बताउँछन्। ‘गाउँलेको सेवामा लाग्दा जत्तिको आनन्द कहिल्लै मिल्दैन’ दावा भन्छन् ‘केहि दिनअघि मात्र काशिगाउँका दुई दिदी बहिनी बच्चा जन्माउन नसकेर छटपटिरहेको बेला मैलै सिम्रिक हेलिकोप्टरमार्फत उद्धार गर्न सहयोग गरेँ।’ जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाको आग्रहमा उनी पटकपटक हेलिकोप्टरवालाहरुसँग जमानी बसेर हेली उडाएर गर्भवती तथा सुत्केरी महिलाको ज्यान बचाउन सफल भएका छन्।

‘सरकारी प्रोसेस त्यस्तै त हो नी कागजी प्रोसेस हुन्छ ढिला हुन्छ’ उनी भन्छन् ‘जिल्ला जनस्वास्थ्यबाट फोन आउँछ धावा जी तपाईँ जमानी बसिदिनुप¥यो भनेर कसरी नाईँ भनौँ। म जमानी बसेर कसैको ज्यान बच्दै छ भनेर भन्ने लाग्छ।’ उनी जमानी बसेर हेलिकोप्टर उडाएर बच्चा जन्माएर महिलाहरु गाउँ फर्किसक्दासमेत नेपाल सरकारले दिने रकम अझै दिएको छैन।

उत्तरी गोरखामा गर्भवती तथा सुत्केरी महिलाले बच्चा जन्माउन नसक्ने लगायतका समस्या आउँदा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आमा सुरक्षा कार्यक्रमले खर्च बेहोर्ने गरेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयमा प्रमुख भएर केदार पराजुली आएदेखि नियमित रुपमा आमासुरक्षा कार्यक्रमबाट महिलाहरुले सेवा पाएका हुन्। कार्यक्रम भने केहि वर्षदेखि नै लागू भएको थियो। 

धावा भन्छन्, ‘मैले गाउँलेको सेवाबापत केही नाफा खोज्दिनँ। मैले जीवन के हो राम्रोसँग बुझेको छु।’ ‘धावाको सहयोगमा धेरै महिला तथा बिरामीको ज्यान बाँचेको छ’ जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका परिवार नियोजन सुपरभाइजर वीरबहादुर श्रेष्ठ भन्छन्, ‘उनको सहयोगी भावना नै सबैले सम्झिन लाएक छ।’

भूकम्पलगत्तै राहत

०७२ वैशाख १२ मा गोरखाकै बारपाकलाई केन्द्रविन्दु बनाएर गएको महाविनासकारी भूकम्पले पनि पीडित उत्तरी गोरखावासीलाई धावा र उनकी श्रीमती फुन्जोले सहयोग गरे। आफूले चिनेजानेको विदेशी साथीहरुलाई आग्रह गरेर र केही आफैँले खर्च गरेर हिमाल पारिका भूकम्पपीडितलाई टेन्ट, खाद्यन्न, लत्ता कपडा उनीहरुले सहयोग गरे।

 विद्यालय पुनर्निर्माण

उनले समाजसेवाको अर्काे खुड्किलोमा चुम्चेतको चुम्लिङमा विद्यालय खडा गरिसकेका छन्। त्यहाँ यसभन्दा पहिले विद्यालय थिएन। भूकम्पले छिमेकी गाउँको विद्यालय भत्केपछि त्यहाँका बालबच्चाहरु खेलेरै समय बिताउने  गरेका थिए। खेलेरै समय बिताउने गरेको थाह पाएपछि लामाले सरकारी अड्डा, विदेशी साथी, संघसंस्था र गाउँलेहरुको सहयोगमा चुमनुब्री ६ चुम्चेत चुम्लिङको सिद्धिगणेश प्राथमिक विद्यालय भवन बनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.