३ सय ५० कम्युनिस्टलाई पढाइयो मार्क्सवाद, १० हजारलाई पढाउने योजना

|

काठमाडौं : शनिबार मध्यदिउँसो धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा मान्छेहरुको भीड एक्कासि बढेर गयो। भर्खरका किशोर युवाहरुदेखि ६०-७० वर्षसम्मका वृद्धहरु हातमा सेतो फाइल बोकेर यताउति दौडिरहेका थिए। त्यो भीड रिसोर्टमा घुमघाम गर्न नभएर मार्क्सवाद पढ्न भेला भएको थियो।

कार्ल मार्क्स द्विशतवार्षिकीको सन्दर्भमा मूल समारोह समितिले ३ सय ५० कम्युनिस्‍टलाई मार्क्सवाद पढाएको छ। जसलाई नाम दिइएको छ 'कार्ल मार्क्स राष्ट्रिय स्कुल नेपाल'। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चामा आबद्ध ३ सय ५० कम्युनिस्‍टलाई पढाउनका धुलिखेलमा ५ दिनसम्म 'कार्ल मार्क्स राष्ट्रिय स्कुल नेपाल' सञ्चालन गरिएको थियो। शनिबार स्कुलको समापन गरिएको छ। 

त्यस सन्दर्भमा सहभागीलाई विभिन्न पाँच समूहमा विभाजन गरी पढाइएको थियो। द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र, ज्ञान सिद्धान्त, मार्क्सवादी नारीवाद, विश्वव्यापीकरण र अन्तर्राष्ट्रिय राजनीति, बेल्ट एण्ड रोड इनिसियटिभ र नेपाल-चीन-भारतको त्रिदेशीय सहकार्य लगायतका विषयहरुमा राजनीतिज्ञ तथा विज्ञहरुले प्रशिक्षण र विमर्श गराएका थिए। 

कार्ल मार्क्सको जन्म द्विशतवार्षिकीको सन्दर्भमा मार्क्सवादी विचार तथा सिद्धान्तको प्रचारप्रसार गर्न गठित राष्ट्रिय समितिले मार्क्सवादका आधारभूत सिद्धान्त एवं नेपालको कम्युनिस्‍ट आन्दोलनका करिब ७ दशकका अनुभव, शिक्षा र आगामी बाटोबारे नयाँ पिँढीलाई जानकारी र दिशानिर्देश गर्नु उक्त स्कुलको उद्देश्य रहेको समारोह समितिका संयोजक घनश्याम भुसालले बताए। 

त्यस अवसरमा नेपाली बाम आन्दोलनबारे मोहनविक्रम सिंह, बामदेव गौतमले पढाएका थिए भने नेपाली कांग्रेसका नेता प्रदीप गिरीले 'कार्ल मार्क्स एवं उनको देन', चैतन्य मिश्रले मार्क्सवादी अध्ययनका लागि केही सरोकारबारे पढाएका थिए। 

कम्युनिस्‍ट कार्यकर्तालाई कार्लमार्क्सले प्रतिपादन गरेका सिद्धान्त पढाउन घनश्याम भुसाल, माओवादी नेता वर्षमान पुन अनन्त, राम कार्की, एमाले नेताहरु विजय पौडेल, बेदुराम भुसाल धुलिखेल पुगेका थिए। सबै घटना, समस्या तथा फरकपनलाई स्कुलमा सिकिएको मार्क्सवादी अध्ययन विधि भित्र रहेर हेर्दा समाधान गर्न सजिलो हुने समितिका सह–संयोजक एवं माओवादी केन्द्रका नेता राम कार्कीले बताए।

पुष्पलाल स्मृति प्रतिष्ठान, नेपाल अध्ययन केन्द्र, मदन भण्डारी अध्ययन केन्द्र, घनश्याम ढकाल स्मृति प्रतिष्ठान, पोष्टबहादुर स्मृति प्रतिष्ठान, कृष्णसेन इच्छुक प्रतिष्ठान र कम्युनिस्‍ट संग्राहलय नेपालको प्रायोजनमा सम्पन्न भएको स्कुलमा मूलतः नेपालका कम्युनिस्‍टहरुलाई कसरी एकठाउँमा ल्याउने भन्ने बारेसमेत छलफल गरिन्छ। 

१० हजारलाई पढाइने

चार कम्युनिस्‍ट पार्टीको सक्रियतामा सुरु गरिएको स्कुलले कार्ल मार्क्स विषयमा १० हजार युवालाई पढाउने उद्देश्य राखेको छ। 'यो दर्शन हो जसका वैज्ञानिक आधार छन्। त्यसकारण यसलाई फैलाउनुपर्छ-संयोजक भुसालले भने, यसलाई हामी देशव्‍यापी फैलाउने उद्देश्य लिएका छौँ। पहिलो चरणमा १० हजारलाई पढाउछौ।'

यसरी गरौं नेपालका कम्युनिस्‍टको एकीकरण

एमाले उपमहासचिव घनश्याम भुसाल नेपालका सबै कम्युनिस्‍ट एकठाउँमा ल्याउन सकिने र त्यो त्यति धेरै कमिन काम नभएको बताउँछन्। 'हाम्रो विश्वासको दायरा बढ्दै गएको छ। नेपालका सबै कम्युनिस्‍ट पार्टी एक ठाउँमा ल्याउन सकिन्छ र आउँछन्-नेता भुसाले भने, जति मान्छेले बाहिरबाट निकै कठिन सोचेका छन् त्यति समय लाग्दैन। हामी छिट्टै एकीकृत हुन्छौँ।'

माओवादी नेता राम कार्कीले क्रान्तिका लागि नेपाल निकै उर्वर भूमि भएको भन्दै ज्ञानको ओसारपसार गर्ने क्षेत्र पनि भएको बताए। गौतम बुद्ध दुर्घटनावश नेपालमा नजन्मिएको बताउँदै उनले नेपाली ज्ञानको परम्पराको उत्कृष्ट अभिव्यक्ति बुद्ध भएको बताए। 

'नेपालमा अहिले थुप्रै कम्युनिस्‍ट पार्टीहरु क्रियाशील छन्। तर ती पार्टीहरुलाई एकठाउँमा ल्याएर सिङ्गो कम्युनिस्‍ट आन्दोलनलाई एकीकरण गर्न सकिन्छ-नेता कार्कीले भने, त्यसका लागि हामी एकअर्काको पचाउन सक्नेगरी विवाद गर्न र छलफल गर्न पनि भेला हुन जरुरी छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.