|
तस्विर सौजन्य राजकुमार मगर

इलाम :  भूकम्पको पुनर्निर्माणपछि इलामका किसानहरुले बाँस बिक्रीबाट आम्दानी लिन थालेको छ। यसअघि धनकुटा, तेह्रथुम, उदयपुरलगायत पूर्वका जिल्लाबाट मात्र बाँस निर्यात हुने गरेको थियो। मेची राजमार्ग र सडकको पहुँच पुगेका ग्रामिण क्षेत्रबाट बाँस बिक्री हुने क्रम बढेको हो। इलामका बाँस राजधानी तथा भूकम्प प्रभावित क्षेत्रमा जाने गरेको छ।

पाखाभित्तामा घरायसी प्रयोगमा सीमित बाँसको माग ०७२ को भूकम्पपछि बढेको व्यपारीहरु बताउँछन। सुरुमा अस्थायी टहरा निर्माणका लागि प्रभावित क्षेत्रमा पुग्ने यहाँको बाँस त्यसपछि अन्य प्रयोजनका लागि स्थान पाएको हो।

जिल्लाका विभिन्न गाउँबाट दैनिक राजधानीतर्फ बाँस जाने गरेको छ। सडकको अवस्था हेरेर कृषकले ८० रुपैयाँदेखि एक सय २० रुपैयाँसम्म प्रतिगोटा बाँसको मूल्य पाउँछन्। ट्रयाक्टरले ढुवानी गर्न सक्ने क्षेत्रसम्मको व्यवसायीले संकलन गरी काठमाडौं पु¥याउने गरेका छन्। व्यवसायीले राजधानीमा एक सय ७० देखि दुई सय ५० रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन्। वर्षौंदेखि नकाटिएका पुराना बाँस अझै पनि कृषकले बिक्री गरिरहेका छन्।

दुई वर्षयता निरन्तर राजधानी जान थालेको बाँसको अभाव नभएको ठेकेदार बताउँछन्। ‘बार्षिक ३ सय ट्रक बरावरको बाँस राजधानी, जकपुर, नुवाकोट लगायका क्षेत्रमा पुर्‍याउने गरेको छु,’ माई नगरपालिकाका व्यवसायी राजकुमार मगर भन्छन , ‘१० भन्दा बढी व्यवसायीले यही दरमा लैजाने गरेका छन्।’ एक ट्रकमा करिव १ लाख ५० हजारभन्दा मुल्यको बाँस अटने गरेको मगरले बताए।

घरटहरा, फर्निचर, हस्तकलाका सामग्रीलगायत विभिन्न क्षेत्रमा प्रयोगमा आउने बाँसको स्थानीय स्तरमा भने घरायसी प्रयोजनबाहेक उपयोग हुन सकेको थिएन। मेची राजमार्गका विभिन्न स्थानमा संकलन गरी बाँस लैजाने गरिएको छ। बाँसको कारोबार बढेसँगै स्थानीय स्तरमा रोजगारीको अवसर पनि बढ्दै गएको छ। बाँस काट्ने, बोक्ने लगायतका कामसँगै सानोतिनो ठेक्कापट्टा गर्ने उल्लेख्य छन्।

यहाँबाट लगिएको बाँस काठमाडौ, जनकपुर, नुवाकोट सम्मका विभिन्न डिपोमा पुग्छ। इलामबाट मात्रै मासिक एक सयभन्दा बढी ट्रकले बाँस ढुवानी हुने गरेको छ। टुसा हालेको दुई वर्षमा बिक्री गर्न सकिने भएकाले कृषकले व्यावसायिक रुपमै बाँसको उत्पादनमा लाग्ने सोच बनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.