|

काठमाडौं : नयाँ शक्ति नेपालले आइतबार काठमाडौंमा राजनीतिक स्थायीत्व, समृद्धि र सुशासनका निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली विषयक कार्यक्रम आयोजना गर्‍यो।

कार्यक्रमका वक्ता थिए, नयाँ शक्ति पार्टी नेपालका संयोजक भट्टराई, नेपाली कांग्रेसका नेता प्रदीप गिरि, नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराई, माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत, राप्रपा राष्ट्रवादीका नेता प्रकाशचन्द्र लोहनी, संविधानविद भीमार्जुन आचार्य, लेखक युग पाठक, पूर्व गभर्नर डा. तिलक रावल र पत्रकार निर्मला शर्मा। उनीहरु सबैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख मुलुकको आवश्यकता रहेको बताए।

कसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको वकालत गरे भने कसैले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र कसैले राष्ट्रप्रमुखको रुपमा राजा रहनुपर्छ समेत भने। उनीहरुको धारणा थियो, अहिलेको शासकीय व्यवस्थाले सरकार अस्थिर भएको, अस्थिरताका कारण भ्रष्टाचार बढेको, जनताले सरकारको अनुभूति गर्न नसकेको र भारत र चीन जस्ता शक्तिशाली छिमेकीको अगाडि निरिह भएको छ। 

मेरै जीवनकालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति : डा. भट्टराई

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले आफ्नै जीवनकालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली देख्न पाउने बताए। 'म जिउँदो छउन्जेल, हातखुट्टा चलुन्जेल म यो विषयमा लाग्छु, मेरै कालमा देशमा राष्ट्रपतीय शासन व्यवस्था आउँछ' उनले भने।

डा. भट्टराईले अहिलेको संसदबाट राष्ट्रपतीय शासन पद्धति नआए पनि अब हुने चुनावबाट आउन सक्ने बताए। 'यो संसदबाट त्यति संभावना छैन', उनले भने 'मंसिरको चुनावमा सबै दलले एउटै आवाज उठायौ भने प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा दुई तिहाई आउन सक्छ, त्यसछि संविधान संशोधनबाट संविधानमै राख्न सकिन्छ।'

अहिलेको संविधानले नागरिकलाई धेरै अधिकार दिएको भन्दै नेता भट्टराईले त्यसलाई कार्यान्वयन गर्न पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपति चाहिने बताए। मुलुकमा राजनीतिक स्थायीत्व नभएमा आर्थिक समृद्धि र तीब्र आर्थिक वृद्धिदर हासिल गर्न नसकिने भट्टराईले बताए। १०/१५ वर्ष राजनीतिक स्थयीत्व भएन भने बाह्य लगानी पनि आउँदैन' उनले भने।

अहिले हास्यास्पद लागे पनि भोलि आउँछ: गिरि

नेपाली कांग्रेसका नेता प्रदीप गिरिले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय पद्धति स्वीकार नगरे पनि व्यक्तिगत रुपमा आफू उक्त व्यवस्थाको पक्षमा रहेको बताए। उनले कुनै विषय कुनै समयमा हास्यास्पद भयो भन्दैमा असान्दर्भिक नहुने राष्ट्रपतीय पद्धति पनि भोलि नेपालमा लागू हुन सक्ने बताए।

भारत र चीनको सामरिक प्रतिस्पर्धाका कारण नेपालको संविधान समेत प्रभावित भइरहेको भन्दै गिरिले यो अवस्था अझै केही समयसम्म रहने बताए। 'अन्तर्रराष्ट्रिय शक्ति सन्तुलन र राष्ट्रभित्रको जातीय क्षेत्रीय सन्तुलन पनि मिल्नुपर्छ' राष्ट्रपतीय पद्धतिबारे उनले भने।

हाम्रो अबको चुनावी एजेण्डा यही हो : भट्टराई

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अबको चुनावमा नेकपा एमालेले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा लिएर जाने बताए। 'प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्छ भन्ने मुद्दा हाम्रो छँदैछ' उनले भने 'खाली संविधान बनाउँदा सम्झौता भएको मात्र हो भोलि चुनावमा यही नै हाम्रो मुद्दा बन्छ।' अहिलेको संसदीय व्यवस्थामा ३ वा ५ सिट भएको पार्टीले प्रधानमन्त्रीलाई अपदस्त गर्ने घुर्की लगाउन सक्ने भन्दै यो व्यवस्था रहेसम्म छिमेकीसँग नेपालका प्रधानमन्त्रीहरु पनि कमजोर बनेको सचिव भट्टराईले बताए।

हाम्रो मुद्दा त पहिल्यैदेखि यही हो : बस्नेत

नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले आफूहरुले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मुद्दा लिएर चुना लडेको र संविधानमा उक्त व्यवस्था समावेश गर्न नसकेपछि अहसमति दर्ता गराएको बताए। समानुपाति निर्वाचन पद्धति र संसदीय शासन व्यवस्थाले कार्यकारी प्रमुख कमजोर भएको भन्दै उनले समानुपातिक निर्वाचन पद्धति फेर्न नसकेपनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्न सकिने बताए।

राष्ट्रप्रमुख राजसंस्था चाहिन्छ : लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका  अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अहिले सरकारको औसत आयु ९ महिना हुन थालेको बताए। यसले कार्यकारी निकायमा जनताप्रति जवाफदेहिता कत्ति पनि नदेखिएको भन्दै अत्यधिक भ्रष्टाचार बढेको धारणा राखे। '२ महिनाको मन्त्री हुन मारामार छ, गएको बेला लुटिहालौं भन्ने छ' उनले भने। उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राष्ट्रप्रमुख राजसंस्था चाहिने लोहनीले जिकिर गरे।  

राष्ट्रपतीय व्यवस्थाका ५ फाइदा : आचार्य

संविधानविद भीमार्जुन आचार्यले नेपालमा राष्ट्रपतीय पद्धतीको पाँच फाइदा औल्याए। राष्ट्रपतीय पद्धतिबाट जनताको सम्बन्ध शासकसँग सिधै स्थापित हुने, स्थायीत्व दिने, छिटो निर्णय हुने, पार्टीको ह्विप नलाग्ने र जनताप्रति जवाफदेहिता बढ्ने उनले बताए। अहिलेको संसदीय व्यवस्थाले स्थायीत्व नदिएको, जनप्रतिनिधिहरुमा जवाफदेहिता पनि नरहेको र सरकारले देखिने गरी काम पनि नगरेको आचार्यले बताए।

'मैले क्याम्पसमा पढ्दा संसदीय व्यवस्था जनताप्रति जवाफदेही हुन्छ भनिन्थ्यो तर हामीले संसदीय व्यवस्थामा जवाफदेहिता शून्य देख्यौं' उनले भने,'राजनीतिक जवाफदेहिताहीनको पराकाष्ठा देखियो, सामान्य मान्छेले सरकार छ भन्ने अनुभव नै गर्न सकेन।' केन्द्रमा मात्र नभइ प्रदेश प्रमुखको चयन पनि प्रत्यक्ष निर्वाचन प्रणालीमा गर्नुपर्ने उनले बताए।

व्यवस्थामात्र फेरिएर हुँदैन : पाठक

लेखक युग पाठकले सामान्य नागरिकको जीवनस्तर सुधार नभएसम्म प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थाले पनि सुधार नहुने बताए। 'यो समाजलाई जराबाट उठाउन थाल्ने कि नथाल्नेभन्ने मुख्य हो' उनले भने 'प्रश्न प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउने कि नबनाउने होइन।'

पूर्व गभर्नर डा. तिलक रावलले राजनीतिक स्थायीत्व नहुँदा आर्थिक क्षेत्र प्रभावित भएको बताए। यदि राम्रो शासकले समय पायो भने आर्थिक क्षेत्रमा कायापलट गर्न सक्ने उदाहरण सिंगापुर, दक्षिण कोरिया जस्ता देशमा देखिएको भन्दैउनले आर्थिक विकासका लागि केही समय मानव अधिकार र सामाजिक अधिकार जस्ता विषय थाती राख्न जनता तयार हुने बताए।

पत्रकार निर्मला शर्माले दलहरुले घोषणापत्रमा राष्ट्रपतीय निर्वाचित  कार्यकारीको व्यवस्था घोषणापत्रमा उल्लेख गरे पनि लागू गर्न नसक्नुको कारण बुझ्न नसकेको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.