|

इंग्लिस टिम आर्सनलका म्यानेजर आर्सने वेंगरले फ्रान्सेली युवा स्टार कलियन बाप्पे फुटबलका बादशाह पेलेको स्थानमा पुग्ने विश्वास व्यक्त गरेका छन्। बाप्पेको क्षमताको कुनै लिमिट नै नरहेको वेंगरको भनाइ छ।

१८ वर्षीय बाप्पे गत बिहीबार ट्रान्सफर बजार बन्द हुनुभन्दा केही घण्टाअगाडि फ्रेन्च च्याम्पियन मोनाकोबाट पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आवद्ध भएका छन्। गत सिजन मोनाकोलाई फ्रेन्च लिग च्याम्पियन तथा च्याम्पियन्स लिगको शीर्ष चारमा पुर्‍याउने क्रममा बाप्पेले ४४ खेल खेल्दै २६ गोल गरेका थिए।

रसिया विश्वकपको युरोपेली छनोटअन्तर्गत बिहीबार फ्रान्सले नेदरल्याण्डलाई ४-० ले हराएको खेलमा बाप्पेलाई नजिकबाट नियालेका वेंगरले फ्रेन्च टिभी शो टेलीफूटमा भने, 'बाप्पे नेक्स्ट पेले बन्न सक्छन्, उनी कुन उचाइसम्म पुग्न सक्छन् भन्ने कुनै सीमा नै छैन।' सो खेलमा बाप्पेले १ गोल गरेका थिए।

बाप्पेलाई युरोपियन च्याम्पियन रियल मड्रिडले समेत खरिद गर्न चाहेको चर्चा ट्रान्सफर बजारमा चलेको थियो। अन्तत: उनी पिएसजीमा आवद्ध भए। पिएसजीले यसै सिजन ब्राजिलियन स्टार नेयमारलाई कीर्तिमानी मूल्य (२२२ मिलियन युरो) मा बार्सिलोनाबाट क्लबमा भित्र्याएको छ।

साथै वेंगरले मोनाकोबाट खेलिरहेका फ्रान्सेली विन्जर थोमस लेमारलाई खरिद गर्न आर्सनलले अझै प्रयास गर्ने पनि बताए। आर्सनलले डेडलाइन डेमा लेमारका लागि १०० मिलियन युरो तिर्ने प्रस्ताव मोनाकोसामु राखेको थियो। तर, लेमारले मोनाकोमै बस्ने बताएपछि आर्सनल पछि हटेको थियो।

जसको प्रभाव आर्सनल स्टार एलेक्सिस साञ्चेजलाई पर्‍यो। साञ्चेज म्यान्चेस्टर सिटी जान चाहेका थिए। सिटी र आर्सनलबीच ६० मिलियन युरोमा मौखिक सहमतिसमेत भइसकेको थियो। तर आर्सनलले साञ्चेजको विकल्प नपाएपछि उनलाई बेच्न अस्वीकार गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.