|

काठमाडौं: नेपाल पत्रकार महासंघले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणबारे समाचारसँग असहमत पक्षले नागरिक दैनिक र समाचार लेख्ने पत्रकारविरुद्ध मानहानि मुद्दा दायर गरी क्षतिपूर्तिको माग गर्नु पत्रकारिता क्षेत्रमा त्रास सिर्जना गर्ने र सञ्चारमाध्यम तथा पत्रकारलाई क्षतिपूर्तिका नाममा आर्थिक क्षति पुर्‍यउने मनसाय रहेको जनाएको छ।

महासचिव रमेश विष्टले आइतबार प्रेस विज्ञप्ति जारी गरी घटनाक्रम विश्लेषण गर्दा मुद्दा नियोजित रहेको उल्लेख गरेका छन्।

'एउटा नागरिकको अदालतमा जाने अधिकारको महासंघ सम्मान गर्दछ। सार्वभौम संसदका विभिन्न समितिहरूले अनुसन्धान गरी कारवाहीका लागि सिफारिस गरेको ‘नेपाल आयल निगमको जग्गा खरिद’ प्रकरणका विषयमा नागरिक दैनिकले अनुसन्धानात्मक रिपोर्टिङ गरी समाचार प्रकाशित गरेपछि विकसित घटनाक्रमप्रति महासंघको ध्यानाकर्षण भएको छ', विज्ञप्तिमा भनिएको छ, 'घटनाक्रम विश्लेषण गर्दा यो मुद्दा नियोजित रूपमा भ्रष्टाचारको खुलासा गर्ने कामलाई निरुत्साहित गर्ने, पत्रकारिता क्षेत्रमा त्रास सिर्जना गर्ने र सञ्चार माध्यम तथा पत्रकारलाई क्षतिपूर्तिका नाममा आर्थिक क्षति पुर्‍याउने मनसाय रहेको हुनसक्ने देखिन्छ', विज्ञप्तिमा भनिएको छ। 

अदालतमा दर्ता भएको मुद्दाका बारेमा नेपालको प्रचलित कानुन, प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता र खोजी पत्रकारिताको मान्यतालाई सुरक्षित गर्ने गरी अदालतले फैसला गर्नेमा महासंघ विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रेस स्वतन्त्रता, पत्रकार आचारसंहिता र नेपाली पत्रकारिताको मौलिक चरित्रको जगमा उभिएर निर्भिकतापूर्वक खोजी पत्रकारितामा दृढतापूर्वक लागिरहन नेपाल पत्रकार महासंघले सबै पत्रकारलाई आह्वान पनि गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.