|

सप्तरी : वैशाखमा श्रीमान् बिते, साउन अन्तिम साता आएको बाढीले घर बगाइदियो। न ओत लाग्ने घर छ, न खाने अन्न नै। दुई अबोध सन्धान छन्। कसरी भरणपोषण गर्ने चिन्ता छ उनलाई। 'विपत्तिको पहाडजस्तै भएको छ यो जिन्दगी,' २८ वर्षीया अनिता सदाले भनिन्, 'अबोध छोराहरुको मुख हेरेर मर्न पनि सकिँदैन, तर बाँच्न पनि त्यत्तिकै गाह्रो छ।'

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका- ४, कोइलाडीस्थित मुसहर बस्तीकी अनिताका सासूससुरा पनि छैनन्। जेठाजु र देवर छन्, तर गरिबीका कारण आफ्नै परिवार पाल्न उनीहरुलाई धौ-धौ छ। बेलाबखत माइतीले सहयोग नगरेका पनि होइनन्। 'तर माइतीकै भर कति दिन?' अनिता भन्छिन्, 'बाढीले घर बगाएपछि माइतीबाट बुबा र भाइहरु आएर ओत लाग्ने छाप्रो बनाइदिए, उनीहरु पनि गरिबै छन्, कहिलेसम्म मेरो जिम्मेवारी धान्नु।'

सोही बस्तीकी ७० वर्षीया सोमनीदेवी सदा बाढीका कारण घरबारविहीन भएकी छन्। सोमनीका श्रीमान् बितेको एक दशक बढी भयो। उनका दुई छोरा छन्, तर अलग्गै बस्छन्। वृद्ध आमाको उनीहरुलाई कुनै मतलब नभएको स्थानीय बताउँछन्।

सोमनीले भनिन्, 'एउटा सानो झुप्रो थियो, त्यहीँ बसेर जसोतसो जीवन निर्वाह गर्दै आएकी थिएँ, तर बाढीले त्यो झुप्रो पनि बगाइदियो।' बाढीका कारण यसै बस्तीका ५ वर्षीय कमलु सदाको ज्यान गएको थियो। कमलुको शव गाड्ने ठाउँसमेत नभएर उनको परिवारले कोसीको भेलमा बगाएका थिए।

साउन अन्तिम साताको बाढीले सिंगो तिलाठी-कोइलाडी गाउँपालिका नै डुबानमा पर्‍यो।

बाढीप्रभावित जिल्ला सप्तीमा यतिखेर चुनावी अभियान तीव्र छ। रंगिबिरंगी पर्चा-पम्प्लेट, टिसर्ट, तुल तथा ब्यानरले गाउँनगरका चोक र गल्लीहरु रंगिएका छन्। टोलटोलमा चुनावी बैठक भइरहेका छन्। विभिन्न दलमा आबद्ध ठूला-साना नेताहरु आश्वासन बाँड्न व्यस्त देखिन्छन्। तर, कोइलाडीस्थित मुसहर बस्तीमा भने चर्चा र चहलपहल केही छैन। बस्तीका कुनै घरमा झण्डा पनि टाँगिएको छैन। बस्तीका कसैको जिउमा पनि दलको नाम र चुनाव चिह्न अंकित टिसर्ट देखिँदैन। 

'छैन हजुर पछिल्लो दुई सातायता कोही नेता हम्रो बस्तीमा देखिएका छैनन्,' स्थानीय बिहारी सदाले भने, 'जसले जिते पनि हामीलाई के? हाम्रो पीडामा सघाउने कोही छैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.