|

झापा : २० वर्ष पहिला उनीसँग ढाकाका सामग्री उत्पादन गर्ने सीप सिक्न २ सय ५० रुपैयाँ पनि थिएन। तीन महिना सिकेको जम्मा २ सय ५० हुँदासमेत उक्त पैसा जोहो गर्न उनलाई निकै मुस्किल थियो। ढाका सिकेको ठाउँमा सिकिसकेपछि पैसा दिन्छु भनेर सिक्न थालिन्। तर, अहिले उनी ढाका उद्योगबाट मासिक ३० हजार कमाउँछिन्। उनी अर्थात् उर्लाबारी–७ की निरु ढाका कपडा उद्योगकी सञ्चालक ३८ वर्षीया निर्मला चोहान (निरु)।

सानैमा बुबा बितेपछि आमासमेत अर्कैसँग विवाह गरेको र आफू विचल्ली भएपछि पैसा कमाउन उक्त सीप सिकेको उनी बताउँछिन्। ‘बुबा पनि म सानै हुँदा बित्नुभयो, आमा पनि अर्कैसँग जानुभयो त्यसपछि म काकाकोमा बसेँ, जसो तसो गरेर कक्षा १० सम्म त पढेँ त्यसपछि पढ्न सकिनँ’, उनी भन्छिन्, ‘त्यतिबेला पैसाको धेरै समस्या पर्थ्यो, ढाका बुनेर पैसा कमाएको देक्थेँ, अनि मैले पनि सुरु गरेँ।’

उर्लाबारीमै हुर्कीएकी उनलाई आफ्नो ढाका उद्योग यति  चर्चित हुँन्छ भन्ने लागेको थिएन रे। उनी भन्छिन्, ‘अहिले त मेरो उद्योग उर्लाबारीकै ठूलो र चर्चित छ, मलाई यस्तो हुन्छ जास्तो लागेको थिएन।’

उनले ढाकाका कपडा उत्पादन गर्ने सीप सिकी सकेपछि अर्काकोमा २ वर्ष काम गरिन्। सुरुको एक महिना उर्लाबारीको एक उद्योगमा काम गरिन्। तर त्यहाँ उनले सोँचेको भन्दा फरक भयो। उनी भन्छिन्, ‘त्यतिबेला पैसा एक रुपैँया हुँदैन थियो धेरै मुस्किल थियो तर काम त सुर गरे पहिलो महिनाको १७ सय रुपैँया भएको पनि साहुनीले दिईनन्, मैले त्यतिबेलानै सोचि सकेको थिएँ, कुनै दिन मेरोमै ढाका किन्न आउने बनाउछु भनेर, उहाँ अहिले आउँनु पनि हुन्छ तर, उहाले बिर्सनुभयो होला तर मैले बिर्सेको छैन।’ विवाहपछि पनि उनले यही पेसालाई प्राथमिकता दिइन्।

आर्थिक अवस्था कमजोर भएकाले घरसम्म पनि बनाउन सकेकी थिइनन्। श्रीमानलाई विदेश पठाउने निर्णय गरिन्। निर्माला भन्छिन्, ‘एउटा घर पनि थिएन, ढाका बुनेर त खाना पनि पुग्दैन जस्तो लागेर श्रीमानलाई विदेश पाठाएँ, उहाँ १२ वर्ष दुबई बस्नुभयो र उहाँ र मैले दुःख गरेर घर पनि बनायौँ, छोरा छोरी पनि राम्ररी नै पढाउँदै छौँ।’

उनले २० वर्ष अघिदेखिनै निरन्तर ढाकाका सामग्री उत्पादन गरेको भएपनि २ वर्ष अघि मात्र उद्योग दर्ता गरेकी हुन्। उनले घरेलु तथा साना उद्योग कार्यालय विराटनगरमा उद्योग दर्ता गरिन्। अहिले श्रीमान चन्द्र बहादुर पनि नेपाल फर्किएको एक वर्ष भयो। करिब १० वर्षको विदेश बसाइँपछि उनी घर फर्केका हुन्। निर्मला भन्छिन्, ‘विदेश बसेर मात्र केही हुँदैन जस्तो लाग्यो अनि उहाँलाई पनि बोलाएँ, उहाँले पनि फर्निचर सुरु गर्नुभयो, अहिले कमाई राम्रै छ, खान पुगेकै छ।’

मासिक ३० हजार सम्म कमाउँछिन्

उनले सुरुमा एक हजारको लगानीबाट सुरु गरेको व्यवसायमा लगानी मात्र १३ लाखभन्दा धेरै पुगेको छ। उनी भन्छिन्, ‘सुरमा त एउटा टोपी बुन्ने एक हजारको धागो ल्याएर सुरु गरेको अहिले त १३ लाखभन्दा धेरै लगानी पुगेको छ।’

उनको उद्योगमा उतपादन भएको ढाकाका सामग्रीहरु पूर्वको दमक, उर्लाबारी, विराटनगर काठमाडौँ तथा हंकङ, अष्ट्रेलिया सम्म जाने गरेको छ। गत वर्ष देखि निरन्तर हंकङ, अष्ट्रेलियामा समेत जान थालेको निर्मला बताउँछिन्।

उनले अहिले सबै खर्च कटाएर मासिक ३० हजारसम्म कमाउँने गरेकी छन्। उनी भन्छन्, ‘हुन त मान्छेलाई जति कमाएपनि पुग्दैन तर सन्तुष्ट छु, घरमानै बसेर मासिक ३० हजारभन्दा धेरै कमाउने गरेको छु।’ उनले उक्त उद्योगमा १८ जनालाई रोजगारी दिएकी छन्। उनले ढाकाका सामग्रीमात्र उत्पादन गर्दिनन्। बुटिक भर्ने काम समेत गर्ने गरेकी छन्। उनको उद्योगमा उर्लाबारीका ९ वटै वडाका महिलाहरु काम गर्दै आएका छन्। उनी भन्छिन्‘ महिलाहरुलाई समय काट्ने मेलो पनि भएको छ र घर चलाउँन समेत सजिलो भएको छ।’

उनले आफूले उद्योगबाट धेरै नाम पाएको बताउँछिन्। निर्माला भन्छिन्, ‘पहिला मलाई कसैले चिन्दैन थियो होला तर अहिले ढाका उद्योगी निरु भनेर धेरैले चिन्छन्।’ उनले विभिन्न मेला तथा महोत्सवमा आफ्नो उत्पादनहरु समेत प्रर्दशन गरेकी छन्। उनी सारी, टोपी, रुमाल, दौरा सुरुवाल लगायत १३ वटा ढाका साम्री बुन्ने गरेको बताईन्।

उनले सरकारी निकायबाट भने अहिलेसम्म एक लाख ६० हजार अनुदान पाएकी छन्। घरेलु तथा साना उद्योग कार्यालयबाट ८० हजार नगद पाएको र उक्त नगदले ५ वटा तान किनेको बताईन्। यस्तै उर्लाबारी नगरपालिकले सीप सिकाउँन ८० हजार दिएको र उक्त रकम बाट १२ जनालाई सीप दिएको बताइन्। १२ जना मध्येबाट ४ जनलाई रोजगारीसमेत दिएको निरु बताउँछिन्।

बजारको मुख्य समस्या

उनले बजारमा आएका टकटनको धागोले गर्दा समस्या भएको बताईन्। उनले भनिन्,‘अहिले बजारमा कटनका धागोले बुनिएका ढाकाका कपडाहरु छ्यापछ्याप्ती छन्, हामी सुतीकै धागो प्रयोग गछौँ।’ कटनको धागो लगाएर बनाएका ढाका सामग्री बजारमा सस्तो पाईने गरेकाले आफ्नो उत्पादनले बजार मूल्य नै नपाउने गरेको उनी बताउँछिन्।

उनी भन्छिन्,‘ कटनका धागोले बुनिएका साम्रगीले धेरै समस्या आएको छ, कतिले त निरु ढाका कपडा उद्योगबाट उत्पादन भएको भन्दै बेच्नु हुदो रहेछ यसले गर्दा समस्या भएको छ।’ उनले बजारको धेरै समस्या रहेको बताईन्। उनी भन्छिन्,‘ उत्पादन गरेका सामग्रीहरु बेच्नै समस्या छ, बेच्दा पनि सस्तो खोज्छन्, सरकारले उद्योगीलाई प्रोत्साहन गर्दै बजार ब्यवस्थापन गरे धेरै राम्रो हुने थियो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.