|

विराटनगर : भारतको फारविसगंजस्थित मिरगन्ज पुल भासिएपछि खोलिएको वैकल्पिक नाकाबाट सामान आयात गर्न अत्यन्तै असहज हुन थालेको छ। अव्यवस्थित भौतिक संरचना, जनशक्तिको अभाव, साँघुरो बाटोका कारण भाण्टाबारी-भीमनगर नाकाबाट सामान आयात, निर्यात गर्न असजिलो भएको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जोगवनीको भन्दा ७० किलोमिटरभन्दा टाढा भएको, मालबहाक सवारीसाधन जाममा फसेको र बाटो बिग्रँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। ‘बाटो जाममा फसेको छ, बिग्रँदै गएको पनि छ र अन्य क्षेत्रमा लगाउनुपर्ने जनशक्ति लगाएर सवारीसाधनलाई स्कर्टिङ गर्नुपर्ने अवस्था छ,’ आइतबार मोरङ व्यापार संघले गरेको स्वागत तथा सम्मान कार्याक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी आचार्यले भने, ‘१ नम्बर प्रदेशको लाइफ लाइन विराटनगर–जोगवनी नाका खुलाउने विषयमा सबैले गम्भिरतापूर्वक पहल गर्नुपर्ने आवश्यकता भयो।’

आफूले भारतीय पक्षसँग र नेपाल सरकारको माथिल्लो निकायमा पहल गरिरहेको जानकारी दिँदै आचार्यले केही दिनदेखि मिरगंज पुल निर्माण सुरु हुने र विराटनगर नाका खुल्ने जानकारी दिए। ‘चाँडो गर्नुपर्ने आवश्यकता भने भएको छ,’ आचार्यले भने, ‘चाडबाडको समयमा नाका नखुल्दा खाद्यान्न लगायतको संकट हुनसक्ने देखिन्छ।’

यता मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले नाकाका कारण यहाँको सामान महंगो हुनसक्ने तर्फ सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो। ‘नाकाबाट सामान आएको छैन, यहाँको सामानले कति दिन थेग्छ भन्न सकिँदैन,’ मुन्दडाले भने, ‘भाण्टाबारी नाकाबाट सामान आयात गर्दा ढुवानी भाडा बढ्ने र ४० रुपैयाँ प्रति किलोको चामल ५० रुपैयाँ पर्न सक्छ, त्यतिबेला व्यापारीले कालोबजारी गरे भन्न पाइँदैन।’

यसैगरी, मोरङ व्यापार संघका पूर्व अध्यक्ष चम्पालाल राठीले जोगवनी–विराटनगर नाका खोल्न कसैले पनि पहल नगरेको आरोप लगाए। ‘भाण्टाबारी नाकाबाट सामान आयात र निर्यात गर्न अत्यन्तै असजिलो छ,’ राठीले भने, ‘निकास तत्काल दिनुपर्छ कच्चा पदार्थको अभाव हुँदै जाँदा त्यसको प्रभाव उद्योगधन्दामा पर्न थालेको छ।’

मोरङ व्यापार संघले १ नं. प्रदेशका अतिरिक्त प्रहरी महानिरीक्षक पशुपति उपाध्याय, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, प्रहरी नायव महानिरीक्षक ज्ञानविक्रम शाह, वरिष्ठ प्रहरी उपरिक्षक ईश्वरबाबु कार्की र मोरङका प्रहरी उपरीक्षक अरुण वि.सि.लाई स्वागत तथा भेटघाट कार्यक्रम गरेको हो।

अपराध नियन्त्रणमा कमजोर छैनौं : उपाध्याय

भर्खरै १ नम्बर प्रदेशको प्रहरी प्रमुखको रुपमा आएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) पशुपति उपाध्यायले अपराध नियन्त्रणका लागि प्रहरी कमजोर नरहेको बताएका छन्।

मोरङ व्यापार संघले आइतबार गरेको स्वागत कार्यक्रममा बोल्दै एआइजीपि उपाध्यायले प्रहरीले आफ्नो कामलाई फोकस गरेर अघि बढ्ने बताउनु भयो। ‘प्रहरी सुते अपराधि उठ्छ,’ उपाध्यायले भने, ‘हामी निरन्तर जागै बस्छौं र अपराध हुन दिँदैनौं।’

प्रहरीले २०–२५ वर्षअघिका ठूलाठूला हत्याकाण्ड तथा अपराधीहरुलाई पत्ता लगाएको दृष्टान्त दिँदै एआइजिपी उपाध्यायले अपराधरहित समाज निर्माण गर्न च्यालेन्ज भए पनि प्रहरी संगठनले सधै अपराध नियन्त्रणकै प्रसाय गर्नुपर्ने बताए। प्रहरी र नागरिकको आपसी समन्वयले मात्रै अपराध नियन्त्रण गर्न सकिने बताउँदै उनले मिटर ब्याज, लागू औषध नियन्त्रणको काम पनि प्रहरीले गर्ने बताए।

अपराध गर्ने र शान्ति सुरक्षामा खलल पुर्‍याउनेप्रति कडाइपूर्वक कदम चाल्ने संकेत गर्दै एआइजिपी उपाध्यायले भने, ‘गुलावमा काँडा हुन्छ, कमल हिलोमा पूmल्छ, काँडा र हिलो पन्छाए मात्रै फूल टिप्न सकिन्छ।’ प्रहरी कर्मचारीको पनि नराम्रा काम भए सूचना दिन आग्रह गर्दै उनले तथ्य बिनाका सूचनाको भने अर्थ नहुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.