|

  • मणिकुमार श्रेष्ठ-

सुनसरी : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावलीविपरित केही कर्मचारीहरु सक्रिय राजनीतिमा आउँदा पनि प्रतिष्ठानले उनीहरुलाई संरक्षण गरेर राखिरहेको छ। नेपाली कांग्रेसका जिल्ला सचिव तथा धरानका प्रभावशाली नेता सुजेन्द्र तामाङ प्रतिष्ठानको सूचना शाखामा काम गरिरहेका छन्। उनलाई यस अघि पटकपटक प्रतिष्ठानले दलको अबद्धता त्याग्न सजग गराउँदा पनि उनले निर्वाध काम गरिरहेका छन्। 

प्रतिष्ठानले नेपाली कांग्रेसका जिल्ला सचिवलाई संरक्षण दिएर जागिर ख्वाइरहेकाले अन्य दलका नेताहरुले पनि प्रतिष्ठानमा आफ्ना कार्यकर्तालाई जागिर माग्ने तयारी गरिरहेको बताएका छन्।

उनी प्रतिष्ठान भित्रको कर्मचारी कल्याण समाजको अध्यक्ष पनि हुन्। उनको नेतृत्वको समाजले पटकपटक प्रतिष्ठानमा आन्दोलन गर्दै आएको छ। पार्टीका हरेक गतिविधिमा उनी निर्वाध सहभागी हुन्छन्। उनलाई पार्टीका कार्यकर्ताले प्रतिष्ठानको कर्मचारी र पार्टी नेता दुवै भनेर चिन्ने गरेका छन्।

प्रतिष्ठानको व्यवस्थापनले उनलाई दलका हरेक गतिविधिमा जाँदा पनि कुनै रोक टोक गर्ने गरेको छैन। प्रतिष्ठानले उनलाई संरक्षण गरेकाले अन्य राजनीतिक दलका नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई  पनि जागिर दिन माग गर्दै प्रतिष्ठान जाने तयारी गरिरहेको बताएका छन्।

उनीहरुले निर्वाचन र विभिन्न पार्टी कामका कारण कार्यकर्ताहरुको आर्थिक व्यवस्थापनमा समस्या भइरहेकाले सत्ताधारी दलका नेताले नै जागिर र पार्टीको काम एकै पटक गर्ने गरेकाले आफ्ना कार्यकर्ताहरुलाई पनि त्यो व्यवस्था मिलाइदिन दवाव दिने उद्देश्यले आफूहरु प्रतिष्ठान व्यवस्थापनसंग छलफलमा जाने तयारीमा रहेको अन्य पार्टीले बताएको छ।

अन्य दल पनि जागिरको लागि प्रतिष्ठान जाने

 नेकपा एमालेका नगर सचिव राजमणी निरौलाल प्रतिष्ठानलाई राजनीतिक मुक्त गर्न भनेर आफ्नो पार्टीले पटक– पटक सुझाव दिंदा पनि कार्यान्वयन नभएकाले अब आफूहरु प्रतिषठनमा जाने तयारी गरिरहेको बताए। उनले भने, ‘हाम्रा पनि नेता कार्यकर्ताहरु छन् उनिहरुलाई जागिर दिनु प¥यो हैन भने अरु दलका नेता कार्यकर्ताहरुलाई त्यहाँबाट हटाउनु पर्‍यो’। नेकपा माओवादी केन्द्रका इञ्चार्ज अइन्द्र विक्रम बेघाले पार्टी राजनीति गरेर प्रतिष्ठानमा जागिर खानु लज्जास्पद भएको बताए। उनले भने, ‘पार्टीले यसमा आधिकारिक धारणा बनाएर अघि बढने छ।’

धरान उपमहानगरपालिकाप्रमुख तारा सुब्बा पनि प्रतिष्ठानले कांग्रेस नेतालाई संरक्षण गरेकोमा आक्रोशित छन्। उनले १५ दिन अगाडि धरानको औजार दैनिकको बार्षिकउत्सव कार्यक्रममा कसैको नाम नलिइ भनेका थिए। ‘प्रतिष्ठानको प्रगतिका बाधकहरुलाई त्यहाँको व्यवस्थापनले संरक्षण गरेकोमा आक्रोस व्यक्त गरेका थिए।’

सुब्बाले त्यहाँ जागिर खाएर बाहिर राजनीति गर्ने र पदाधिकारी भइसकेकाहरुले प्रतिष्ठानको भलो चिताउनुको सट्टा षडयन्त्र मात्र गरिरहेकाले त्यसको नतिजा राम्रो नहुने समेत चेतावनी दिएका थिए। उनले पूर्व उपकुलपति बलभद्र दासले पनि प्रतिष्ठानमा षडयन्त्र गरेको प्रति आक्रोश पोखेका थिए। 

  कर्मचारी चलाउन सकेन नियमनकारी निकायले

प्रतिष्ठानको व्यवस्थापन पक्षले भने सुजेन्द्रका बिषयमा खासै चासो दिने गरेको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले पटक–पटक प्रतिष्ठान व्यवस्थापनलाई तागेता गर्दा पनि उनलाई चलाउनै नसकिने अवस्थामा पुगेको बताएको छ।

प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारले भने यो बिषयमा केहि बताउनै चाहेनन्। ‘बुझ्नेले कुरा नबुझेपछि’ समस्या आएको रौनियारले बताए। देशको सबै भन्दा ठुलो पार्टीको पदाधिकारी स्तरको मानिसले आफैं बुझ्नु पर्ने हो उनले यत्ति मात्र भने।प्रतिष्ठानले नियमावली अनुसार  तामाङलाई किन केहि गर्न सकिरहेको छैन भन्ने प्रश्नमा भने उनले सल्लाह गर्छौं मात्र भने।

प्रतिष्ठानमा नेपाली कांग्रेसका महासमिति सदस्य उमेश थापा शाखा अधिकृतमा कार्यरत छन्। यसैगरी नेपाली कांग्रेसका सुनसरी जिल्ला सदस्य दिलकुमारी गिरी पनि शाखा अधिकृतमा जागिर खाईरहेका छन् भने यसैगरी तरुण दलका केन्द्रीय प्रतिनीधि माया राई डेन्टलमा काम गर्दे आएका छन्। त्यसैगरी कांग्रेसका क्षेत्रीय प्रतिनीधि राजन कोइराला प्रतिष्ठानको सहायक कर्मचारीको रुपमा काम गर्दे आएका छन्।

यस विषयमा प्रतिष्ठानका रजिष्टार कुलबहादुर श्रेष्ठले भने, ‘हामीहरु यस प्रतिष्ठानलाई राजनीतिबाट मुक्त बनाउने अभियानमा लागेको छौं। त्यसमा लागि प्रतिष्ठानको जागिर खाएर राजनीतिमा क्रियाशील रहेको व्यक्तिहरुको फाइल तयार गरी कारबाहीको लागि प्रक्रियामा लगिएको छ। फाईल उपकुलपतिको टेवलमा पुगिसेकेको छ।’

प्रतिष्ठानको अनियमितता ढाकछोप गर्ने षड्यन्त्र

बिपी कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठानमा सुचना शाखा प्रमुख तथा नेपाली कांग्रेश सुनसरीका जिल्ला सचिव सुजेन्द्र तामाङले आफुले प्रतिष्ठानको जिम्मेवारी पुर्ण रुपमा पालना गरेको बताएका छन्।

तामाङले भने, ‘आस्था सवैले राख्न पाउँछ। म पनि पार्टीका जिल्ला सचिव हुँ तर म भन्दा पनि पार्टीबाट निर्वाचित भएका जिल्ला सचिव केदार भण्डारी हुनुहन्छ। उहाँले नै पार्टीको सबै काम गर्ने हो। मैले त सहायकको भूमिकामा रहेर काम गर्ने हो। त्यसमा पनि कार्यलय समयमा आफ्नो काममा प्रतिवद्ध रहेको छु। कार्यालयको काम सकिएपछि मात्र म पार्टीको काम गर्ने गरेको हुदा यो कुरा आउनु भनेको प्रतिष्ठान भित्रको अनियमितता लुकाउने खेल मात्र हो। ’      

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.