लम्की : कैलालीको बर्दगोरिया गाउँपालिका ४ नौनियाका बाढी पीडितले अहिलेसम्म आफूले कुनै निकायबाट राहत नपाएको गुनासो गरेका छन्। साउन २७ र २८ गते परेको अविरल बर्षासंगै आएको बाढी घरभित्र पसेर विस्थापित भएका नौनियाका वासिन्दामा अहिलेसम्म कसैको नजर पुग्न सकेको छैन्। बाढीका कारण घरमा भएको अन्नपात, लत्ताकपडा लगायतका नष्ट भएपछि उनीहरुलाई खानेकुराकै अभाव छ।
नौनियाका कतिपय बाढी पीडितहरु अझै पनि आफ्नो घरमा फर्कन सकेका छैनन्। त्यसैगरी गास बास र कपासको समेत उनीहरुलाई अभाव हुदै गएको छ। मौसममा सुधार आएको १५ भइसक्दा पनि उनीहरु भोक र शोकमै छन्। बाढीले कापी र किताबहरु नष्ट पारेपछि बाढी पीडितका छोराछोरीहरु अझै स्कुल जान सकेका छैनन्।
बाढी आएको यतिका दिन बितिसक्दा पनि सरकारी वा गैरसरकारी कुनै पक्षले पनि आफूहरुलाई नहेरेको एक पीडित मझलु कठरियाले बताए। 'सबै आउँछन्, सोधपुछ गर्छन्, फोटा खिचेर जान्छन्, तर फर्केर कोही आउदैनन्' अर्का पीडित जुगराम डगौराको गुनासो छ।
बाढीले घर भत्काएपछि मुढाकी खिमादेवी शाही आफन्तकोमा बसिरहेकी छन्। सोही गाउँका बझावन चौधरी, जुगाराम डगौरा, चुनगुदवा चौधरी, बम्बर थारुको घरमा पसेको बाढीले १५ क्विनटल धान पूर्ण रुपमा नष्ट गरेको छ।
घरभित्र पसेको पानी नसुकेकाले आफन्तकोमा बसिरहेको उनीहरुले बताए। बाढीले कालिका माबि नौनियाको पर्खाल समेत भत्काएको थियो। स्थानीयमा अझै पनि बाढीको त्रास छ। अहिलेसम्म न सरकारले नै हेरेको छ न गैरसरकारी संघ सस्थाले।
तपाईंको ईमेल गोप्य राखिनेछ ।