१ हजार १ सय ४६ संक्रमित

|

चितवन : नेपालमा पछिल्लो ८ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौंका अनुसार स्क्रब टाइफसबाट ४ जना र मौसमी रुघाखोकीबाट १२ जना गरी १६ जनाको मृत्यु भएको हो। दुवैको संक्रमणबाट १ हजार १ सय ४६ जना बिरामी भेटिएका छन्।

गएको माघदेखि आजसम्मको तथ्यंकबारे जानकारी दिँदै महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा विवेककुमार लालले मौसमी ज्वरोमध्ये पनि इन्फ्लुएन्जा ए को प्रकोप बढी देखिएको बताए। उनका अनुसार स्क्रब टाइफस नेपालका ३२ जिल्लामा देखिएको र ३ सयजनामा रोगको संक्रमण फेला परेको छ।

स्क्रब टाइफसबाट स्याङजामा २ र चितवनमा २ जनाको मृत्यु भएको छ। नवलपरासी घर भएका २ महिलाको चितवनमा उपचारको क्रममा साउन २२ र भदौ १० गते मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीको भनाइ छ। माइट नामको एक प्रकारको सूक्ष्म किराले टोकेमा स्क्रब टाइफस सर्छ। यो रोग मुसाको कानमा बस्ने गर्छ। नेपालमा ०७२ मा पहिलोपटक रोग देखा परेको थियो। चितवनमा ०७३ सालमा देखिएको थियो।

अघिल्लो वर्ष यहाँ मुसा र माइटमा गरिएको परीक्षणमा दुवैमा स्क्रमटाइफस संक्रमण पुष्टि भइसकेको छ। समयमै अस्पताल पुगेमा कुने पनि रोगको ठूलो जोखिम भने नभएको चिकित्सकको भनाइ छ। मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने भएकाले काम गर्दा सावधानी अपनाउने र मुसा नियन्त्रणमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मी बताउँछन्।

यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने हुन्छ। यस्तै, मौसमी रुघाखोकीबाट मृत्यु भएका १२ जनामध्ये सबैभन्दा बढी कास्कीका छन्। विभिन्न अस्पताममा उपचार गरिएका कास्की घर भएका ४ जनाको मौसमी रुघाकोकीबाट मृत्यु भएको तथ्यांक छ।

यस्तै, अन्य मृत्यु हुनेमा पाल्पाका २, स्याङजाका, बुटवल, ललितपुर र कास्कीका १, १ जना तथा झापाका २ जना बिरामीको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा लालले जानकारी दिए।

उनका अनुसार पछिल्लो ८ महिनामा २ हजार ५ सय ३१ जनाको परीक्षणमा ८ सय ४६ जनामा मौसमी रुघाखोकीको संक्रमण भएको छ। तीमध्ये १२ जनाको ज्यान गएको हो। २ जनाको भारतमा उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना भने नेपालका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ।

काठमाडौंको सुविधायुक्त अस्पतालमा उपचारका क्रममा अधिकांश विरामीको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। चितवनको भरतपुर अस्पतालका फिजिसियन डा कालिदास अधिकारीका अनुसार फ्लु ए पोजिटिभ भएकाका बिरामी बढी देखिएको भन्दै उनीहरुमा ए एच१एन१ को बढी जोखिम हुने बताउछन्। यसलाई सर्वसाधारणले स्वाइनफ्लु भनेर चिन्ने गर्छन्।

स्वाइनफ्लु लागेका बिरामीमा सुरुमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्षण हुन्छ। ज्वरो रुघाखोकी आएर २,३ दिनमा ठीक नभए विशेषज्ञ चिकित्सक भएको असपतालमा देखाउनुपर्ने चिकित्सकले सुझाव दिएका छन्।

ज्वरो आएपछि मेडिकलमा गएर औषधि खाने र अलि जटिल भएपछि मात्रै अस्पताल जाने गर्दा जटिलता पैदा हुने गरेको ईपिडिमियोलोजी शाखा प्रमुख डा गुणनिधि शर्मा बताउछन्।  दुवै रोगको बढी संक्रमण भने चितवनमै छ। आजसम्म चितवनमा स्क्रब टाइफसबाट १ सय ३९ जना र मौसमी रुघाकोकीबाट ३ सय ९ जनामा संक्रमण फेला परिसकेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

नेपालको १५ जिल्लाका २४ जनामा डेंगु संक्रमण

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार दिएको जानकारीअनुसार नेपालका १५ जिल्लामा डेंगु रोग देखिएको छ।जसमा २४ जना संक्रमित भएको र अहिलेसम्म मानविय जोखिम भने भएको छैन। बढी डेंगु संक्रमण चितवनमा ४ जना र दाङमा ४ जना रहेका छन्।

पूर्वी झापादेखि पश्चिम अछामसम्मका १५ जिल्लामा डेंगु पाइएको महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा विवेककुमार लाल बताउछन्। एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेंगु सर्छ। यो लामखुट्टे फालिएका र खुला भाँडाकुँडामा जमेको पानीमा पूmल पारेर बच्चा बनाउने गर्छ।  त्यसैले घरवरपर सरसफाइ गरी पानी जम्न नदिई लामखुट्टेबाट बचेमा रोग नलाग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखा प्रमुख डा गुणनिधि शर्मा बताउछन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.